विराटनगर । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पाँचवटा नयाँ परीक्षण सेवा सुरु भएको छ । सोमबारदेखि प्रयोगशालामा थप पाँचवटा ल्याव परीक्षण सेवा सुरु भएको हो । उक्त सेवाको उद्घाटन कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले गरिन् ।
प्रयोगशालामा हेपटाइटिस बी र सी, पाठेघरको क्यान्सरको जाँच पनि अब प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवले बताए । पाठेघरको क्यान्सरको जाँच पिसिआर प्रविधिबाट गरिने उनले जनाए ।
यस्तै एचएलएबी २७ पिसिआर टेष्ट र माइक्रोबायोलोजी कल्चर सेवाको पनि परीक्षण गरिन सुरु गरिएको उनले बताए । नयाँ सुरु भएको सेवाहरूको परीक्षण प्रदेश जनस्वास्थ्य ल्यावको आधुनिक उपकरणहरूबाट परीक्षण हुने उनले बताए । ‘यसअघि प्रदेशबाट हुने यी सेवाहरू लिन बाहिर जानुपर्ने र चर्को शुल्क खर्चिनुपर्ने अवस्था रहेको थियो’ उनले भने, ‘कोशी प्रदेशका बिरामीले स्थानीयस्तरमा गुणस्तरीय सेवा अब पाउनेछन् ।’
गत मङ्सिर २१ गते तीन तले सुविधा सम्पन्न प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ल्याव परीक्षण हुँदै आएको छ । यहाँ रक्तसमूहबाट गरिने हेमाटोलोजीको परीक्षण पनि हुने गरेको छ । यसबाट धेरै प्रकारका रोगको परीक्षण गर्न सकिने बताइएको छ । प्रयोगशालामा तीनवटा शाखाहरू छन् । एउटा नसर्ने रोगमा युरिक एसिड, लिभर, मुटु, किड्नीको रोग, जन्डिस, सुगरका रोग हुन् । यी सबैको परीक्षण हुने गरेको छ ।
तेस्रो तलामा सरुवा रोगको परीक्षण हुने शाखा रहेको छ । जसमा एचआईभी, हेपाटाइटिस, डेङ्गो, कालाजार, मलेरिया रोगको परीक्षण हुने गरेको छ । योसँगै कोभिड–१९ को पिसिआर परीक्षण पनि हुने गर्दछ । प्रयोगशालामा आर्थिक वर्ष २०७९/२०८० को चैत महिनासम्म ४ करोड रुपैयाँ बराबरको निःशुल्क परीक्षण गरेको जनाइएको छ ।