धरान । नेपालमा बडी बिल्डिङ (शारीरिक सुगठन) को क्षेत्रमा धरानको बेग्लै इतिहास छ । यहाँका धेरै युवाहरू अहिले पनि बडी बिल्डिङमा सक्रिय छन् ।
धरानको बडी बिल्डिङ क्षेत्रमा नछुट्ने एउटा नाम हो, दिनेश सिङ्गक । बडी बिल्डिङको क्षेत्रमा झन्डै तीन दशकदेखि सक्रिय दिनेश ‘मिस्टर धरान–२०६८’ का विजेता हुन् । मिस्टर पूर्वाञ्चल–२०६८ का फस्ट रनर अपसमेत बनेका उनी विगत पाँच वर्षदेखि बडी बिल्डिङका राष्ट्रिय जजसमेत हुन् । धरानको बडी बिल्डिङमा परिचय बनाउन सफल दिनेश बडी बिल्डिङलाई स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मान्छन् । उनी बडी बिल्डिङ एसोसिएसनका प्रदेश सचिवसमेत हुन् ।
खासमा उनको बडी बिल्डिङ यात्रा तेह्रथुमको जलजलेबाटै सुरु भएको हो । उनका जेठा दाजु रमेश सिङ्गक कला, साहित्यसँगै बडी बिल्डिङमा पनि लागेका थिए । रमेशले लेखेका ‘घुम्न जाउँ धरान’ लगायतका गीतहरू चर्चित छन् । उनले अभिनय गरेका चलचित्र र म्युजिक भिडियो पनि चर्चित छन् । उनका भाइ दिनेशलाई भने कलाक्षेत्रमा रुचि जागेन । बरु दाजुको बाटो पछ्याउँदै बडी बिल्डिङमा भने निरन्तर लागे । उनी भन्छन्, ‘दाजुहरूले गीत लेख्नुभयो, म भने श्रोता मात्र बनेँ तर, बडी बिल्डिङमा चाहिँ दाजुकै प्रेरणाले लागेको हुँ ।’
दिनेशका दाजु रमेश एकपटक धरानबाट डम्बेल लिएर तेह्रथुम पुगेछन् । अनि आफ्ना भाइहरूलाई पनि बडी बिल्डिङ सिकाए छन् । उनले गाउँमै ढुङ्गाको जाँतो बनाउन लगाएर त्यसलाई बेन्च प्रेस बनाइदिए । त्यसपछि दिनेशले बडी बिल्डिङ सुरु गरे । २०५२÷०५३ सालबाट उनले बडी बिल्डिङमा निरन्तरता दिए । सुरुमा देउराली ब्रदर्श क्लबबाट जिम गर्ने उनी पछि धरानको भिजन फिट्नेसमा आबद्ध भएर यही क्षेत्रमा पहिचान बनाउन सफल बने ।
बडी बिल्डिङमा नाम कमाएका दिनेश पछिल्लो समय भने होटल व्यवसाय र सामाजिक सेवामा सक्रिय छन् । साथीहरूसँग मिलेर धरानको पुतलीलाइनमा २०७७ सालमा खोलेको ‘चौंठो रेष्टुरेन्ट’ ले अहिले उनलाई व्यस्त बनाएको छ । लिम्बू समुदायमा केटी माग्न जाँदा एउटा काठको भाँडोमा रक्सी बोकेर जाने चलन छ । त्यही काठको भाँडालाई ‘चौंठो’ भनिन्छ ।
पछिल्लो समय चौंठो लोप हुने अवस्थामा छ, मौलिक कुरा संरक्षणका लागि भनेर यही नाममा रेष्टुरेन्ट खोलिएको दिनेश बताउँछन् । त्यसो त दिनेश आफ्ना मौलिक संस्कृति संरक्षण गर्नेमात्र होइन, आफ्नो समुदायको विकासका लागि पनि सक्रिय छन् । उनी ‘याक्थुङ सिङ्गक फाउन्डेसन’ का पनि सक्रिय सदस्य हुन् । यो फाउन्डेसनले सिङ्गकहरूको पुख्र्यौली थलो तेह्रथुमको जलजले (हाल फेदाप–३) मा सिङ्गक हिमका साथै पार्क र सङ्ग्रहालय बनाउनका लागि जग्गा किनिसकेको छ । दिनेश बडी बिल्डिङसँगै समाजसेवा र आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने योजनामा छन् । उनी भन्छन्, ‘आफ्नो स्वास्थ्यका लागि जिम गर्छु, परिवारका लागि होटल व्यवसाय अझै बढाउँछु अनि समाजका लागि फाउन्डेसनमा आबद्ध भएर काम गरिरहेको छु ।’