देशका तीन निर्वाचन क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनले नेपालको राजनीतिक क्षेत्रलाई तरङ्गित बनाएको छ । यो उपनिर्वाचनले पुराना दलहरूप्रति आम मतदाता निराश भएको र नयाँ दलप्रति केही गर्लान् कि भन्ने आशा गरेको देखिएको छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि पुराना दलहरूप्रति मतदाताको निराशा देखिएकै थियो । भर्खरै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीहरूमा मतदाताको आकर्षण देखिए भने नेपाली काङ्ग्रेस, एमाले, माओवादीजस्ता पुराना पार्टीप्रति मतदाता निराश देखिए । उपनिर्वाचनले पुराना दलहरू अब पनि नसच्चिए अर्थात् आम नागरिकका मुद्दा छाडेर व्यक्तिगत नाफा घाटामा राजनीति गरिरहे सिद्धिने सन्देश पनि दिएको छ । चितवन क्षेत्र नं. २ बाट रवि लामिछानेले पाएको मत गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनभन्दा झनै बढ्नु, मतान्तर पनि झनै फराकिलो हुनु, काङ्ग्रेस र एमालेले अघिल्लो निर्वाचनको मतसमेत जोगाउन नसक्नुले यही सन्देश दिन्छ । अर्कातिर भर्खर मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँ–१ बाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेले पुराना दललाई हराए । यी दुई क्षेत्रले मतदाताहरू परिवर्तन भइसकेको सङ्केत दिएको छ ।
गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट अत्यधिक मत पाएर जितेका रवि लामिछाने पार्टी स्थापनाको छोटो समयमै सांसद् हुँदै गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत बने तर, नागरिकताको मुद्दामा अदालतले सांसद् पद नै खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो । यसपटक भने एकातिर रविका विरुद्ध सत्ता गठबन्धनमा रहेका पाँच दल थिए । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका जितनारायण श्रेष्ठ थिए । उनका लागि भोट माग्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराईसहितको ठूलो टोली चितवन पुगेको थियो । गठबन्धनका प्रमुख नेताहरू नै लागेकाले कतिपयले रवि लामिछाने यसपटक हार्ने आँकलन गरेका थिए भने कतिले चाहिँ जिते पनि पहिलाभन्दा मत घट्ने विश्लेषण गरिरहेका थिए । अर्कातिर एमालेले रामप्रसाद न्यौपानेलाई चुनावी मैदानमा उतारेको थियो । चितवन २ मा यसपटक मङ्सिरभन्दा कम मत खसेको थियो तर, लामिछानेले यसपटक मतान्तर र जम्मा मत नै झनै बढाए । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले ११ हजार २ सय १४ र एमाले उम्मेदवार न्यौपानेले १० हजार ९ सय ३६ मत पाउँदा लामिछानेले ५४ हजार १ सय ७६ मत पाए । नेपालको चुनावी इतिहासमा सबैभन्दा बढी मतान्तर बनाउनेमा रेकर्डसमेत कायम भएको छ । यो चुनावबाट अन्य दलहरूका नेताहरूले आफू र आफ्नो दलप्रति आम मतदाताले किन भरोसा गर्न सकेनन् ? भनेर विश्लेषण गर्नु आवश्यक छ ।
यस पटकको उपनिर्वाचनले राजनीतिक दलहरूले जसरी मतदातालाई आफ्ना रैती ठानेर निर्धक्क आफ्नो पकेट क्षेत्र भन्ने धक्कु लगाउँथे, अब त्यस्तो अवस्था छैन अर्थात् मतदाता कसैका पेवा, रैती रहेनन् । दलले भन्ने बित्तिकै आँखा चिम्लिएर भोट हाल्दैनन् भन्ने सन्देश पनि दिएको छ । लामो समय सत्तामा रहेका काङ्ग्रेस, एमाले, माओवादी र विभिन्न मधेसवादी दलहरूबाट अब देशको विकास हुँदैन भन्ने सोच मतदातामा विकास भएको छ । त्यसैले उनीहरू नयाँ दलले केही गर्लान् कि भन्ने आशा र पुराना दलप्रतिको आक्रोस मतपत्रमा व्यक्त गरिरहेका छन् । यो मतदाताको पुराना दललाई नसुध्र्रिए सकिन्छौ भन्ने चेतावनी पनि हो । अनि नयाँ दलहरूले पनि के बुझ्न जरुरी छ भने बाहिर बसेर बोल्न जति सहज हुन्छ, सत्तामा पुगेपछि काम गर्न उत्तिकै कठिन । आम नागरिकको देश परिवर्तनको हतारोका बीच काम गर्न सजिलो छैन तर, प्रयास गर्नु आवश्यक छ ।