धरान । कोकाहा खोलाबाट धरानसम्म खानेपानी ल्याउन सञ्चालित अभियानलाई सहयोग गर्न धरानमा भएको साङ्गीतिक कार्यक्रमबाट जम्मा भएको रकम हस्तान्तरण गरिएको हो ।

गत चैत २५ गते भएको ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ बाट उठाइएको २८ लाख ३६ हजार ३ सय ४५ रुपैयाँ सोमबार धरानका नगरप्रमुख हर्कराज राईलाई हस्तान्तरण गरिएको हो । आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गरेर कन्सर्टको आय–व्यय सार्वजनिक गरेको थियो । सोही पत्रकार सम्मेलनमा डमी चेक आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र कन्सर्ट संयोजक मीना सिङ्गकले नगर प्रमुख राईलाई हस्तान्तरण गरेका थिए ।

संयोजक सिङ्गकका अनुसार टिकट बिक्रीबाट १६ लाख ४६ हजार ८ सय ५६ रुपैयाँ सङ्कलन भएको थियो । जसमा कन्सर्टको दिन गेटबाट ३ सय दरको टिकट बिक्री हुँदा ६ लाख ४८ हजार रकम उठेको थियो भने अगाडि बिक्री भएका २ सय दरबाट ४ लाख ७८ हजार ५ सय र १ हजार दरको टिकटबाट २ लाख ४६ हजार ५ सय र ३ सयको टिकटबाट १८ हजार रकम सङ्कलन भएको आयोजकले जनाएको छ ।

यस्तै एउटा पाइप बराबरको ७ हजार १ सय २१ रुपैयाँको टिकट बिक्रीबाट २ लाख ५६ हजार ३ सय ५६ रुपैयाँ सङ्कलन भएको थियो भने टिकटबाहेक विभिन्न व्यक्ति तथा संस्थाहरूको आर्थिक सहयोगबाट १९ लाख ७१ हजार २ सय १० रुपैयाँ सङ्कलन भएको आयोजकले जनाएको छ । सबै गरेर ३६ लाख १८ हजार ६६ रुपैयाँ सङ्कलन भएको र खर्चतर्फ भने कुल ७ लाख ८१ हजार ७ सय २१ रुपैयाँ भएको पनि संयोजक सिङ्गकले सार्वजनिक गरिन् ।

नगरप्रमुख राईले भव्य कन्सर्ट गरेकोमा आयोजक, सहयोगी दाता, कलाकारहरू सबैलाई धन्यवाद दिए । उनले सम्पूर्ण रकम कोकाहा  खानेपानी आयोजनामा खर्च गरिने र चाँडै धराने जनताले कोकाहाको पानी खान पाउने बताउँदै श्रम अभियानमा संलग्न हुन आह्वान पनि गरे ।

कन्सर्टमा कलाकारहरू दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एन्ड द ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, एकदेव लिम्बू, रोहित मास्केलगायतले निःशुल्क गाएका थिए ।