सुनसरी । सुनसरीको कोसी गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित फेरि दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कोसी गाउँपालिका वडा नम्बर ८ भण्टाबारीस्थित चारकुने नाकाबाट भारतबाट पैदल आउँदै गरेको अवस्थामा स्रोत नखुलेको ठूलो परिणाममा रकमसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१२ घर बताउने १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय विकास मण्डल रहेका छन् ।

चेकजाँचको क्रममा सशस्त्र प्रहरीले ५ लाख ३० हजार ९६ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका सूचना अधिकारी डिएसपी प्रेमप्रसाद सिग्देलले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट ५९ हजार ६ सय १० रुपैयाँ भारु (नेपाली मुद्रा ९५ हजार ३ सय) र नेपाली रुपैयाँ ४ लाख ३४ हजार ७ सय २० गरी ५ लाख ३० हजार ९६ रुपैयाँ बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको उनले जानकारी दिए । यसअघि सशस्त्र प्रहरीले भण्टाबारीबाट ११ लाख २३ हजार ५ सय रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको थियो ।