भद्रपुर । स्थायी शिक्षकहरूले विद्यालयलाई असहयोग गरेको भन्दै झापाको एक विद्यालयले २ जना शिक्षकलाई विद्यालय प्रवेशमा रोक लगाएको छ ।
भद्रपुर नगरपालिका वडा नं. ९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयका शिक्षक सृजना प्रसाईं र डिल्लीराम अधिकारीलाइ रोक लगाएको हो ।
विद्यालय व्यवस्थापन समितिले निमावि शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न गरेको निर्णयविरुद्ध शिक्षिका प्रसाईंले अदालत गएर समितिको निर्णय उल्टाएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले विद्यालयका स्थायी शिक्षकद्वय प्रसाईं र अधिकारीलाई हाजिर गर्न रोक लगाएको जनाएको छ । नयाँ शैक्षिक सत्रको पहिलो दिन वैशाख ५ गते विद्यालय पुगेका शिक्षिका प्रसाईं र अधिकारीलाई व्यवस्थापन समितिका अध्यक्ष मिश्रको उपस्थितिमा हाजिर गर्न रोक लगाएको उनीहरूको भनाइ छ ।
त्यसयता हरेक दिन अध्यक्ष मिश्र विद्यालय आउने र हाजिर गर्न नदिने गरेको पीडित शिक्षिका प्रसाईंले बताइन् । प्रसाईं र अधिकारीले कानूनीरूपमा सही कुरा उठाएको भन्दै अन्य तीनजना शिक्षिकाले पनि सोही दिनदेखि हाजिर गरेका छैनन् । विद्यालयमा कार्यरत शिक्षिका सुमित्रा पौडेल, कमला राई र शर्मिला अधिकारीले विद्यालय प्रशासनले प्रसाईं र अधिकारीलाई हाजिर नगराउन्जेल आफूहरूले समेत हाजिर नगर्ने बताएका छन् । विद्यालयमा मावि शिक्षक हुँदाहुँदै अध्यक्ष मिश्रकै जोडबलमा कानून विपरीत निमावि तहका शिक्षक शिवप्रसाद पोखरेललाई प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्थापन समितिले २०७८ फागुन १२ गते निर्णय गरेको उनीहरूको आरोप छ । उक्त निर्णयविरुद्ध मावि तहकी शिक्षिका प्रसाईंले उच्चअदालत इलाम इजलासमा ०७९ असोज ४ मा रिट हालेकी थिइन् । उक्त रिटमा अन्तरिम आदेश जारी गर्दै अदालतले पोखरेललाई निमित्त प्रधानाध्यापकका रूपमा काम नगर्नू भनेको थियो ।
अदालतको अन्तरिम आदेशपछि मावि तहकी वरिष्ठ शिक्षिका कौशल्यादेवी आचार्यलाई व्यवस्थापन समितिले २०७९ असोज ३० गते प्रधानाध्यापक नियुक्त गर्ने अर्को निर्णय गरेको थियो । विद्यालयले मावि तहकी वरिष्ठ शिक्षिका आचार्यलाई प्रधानाध्यापक नियुक्ति गरेको निर्णय अदालतमा पठाएपछि सो सम्बन्धीको रिट अदालतले ०७९ पुस १२ मा खारेज गरेको थियो । रिट खारेज भइसकेपछि पाँचजना शिक्षक–शिक्षिकाले विद्यालयमा सहजरूपमा अध्यापन गराउन थालेको उनीहरू बताउँछन् । विद्यालय व्यवस्थापन समितिले विद्यालयको आर्थिक कारोबारबाहेक अन्य जिम्मेवारी सहायक प्रधानाध्यापक पोखरेललाई नै दिने निर्णय भएपछि ५ जना शिक्षकले असहमति जनाउँदै बैठकमा सहभागिता नजनाएको शिक्षक अधिकारीले बताए ।
विद्यालयको हुकुमी साशन बन्द गराई विधि र पद्धतिले विद्यालय सञ्चालन हुुनुपर्ने तथा हाजिर गराई पढाउन पाउनुपर्ने उनीहरूको माग छ । विद्यालयलाई पटक–पटक असहयोग गरेका कारण बाध्य भएर प्रसाईं र अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्रले बताए । यस्ता शिक्षक राखेर विद्यालयको शैक्षिक स्तर खस्किने भएकोले ०७९ चैत ३० गतेको बैठकले उनीहरूलाई वैशाख ४ सम्म अन्य विद्यालयमा जान काज सरुवा आएमा सहमति दिने नत्र ५ गतेबाट हाजिर हुन नदिने निर्णय गरेको उनको भनाइ छ । निर्णय अटेर गरेपछि विद्यालय नआउन भनिएको उनको भनाइ छ । समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायमा मौखिक तथा लिखित जानकारी गराए पनि वास्ता नगरेको उनले बताए ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिले भने विद्यालयले नै व्यवस्था गरेको शिक्षक कक्षबाट पाँचजना शिक्षकलाई बाहिर निकालेर ताला लगाइदिएको उनीहरूको भनाइ छ । विद्यालयका अन्य शिक्षकलाई भने प्रधानाध्यापक र सहायक प्रधानाध्यापकसँगै प्रशासन कक्षमा बस्न भनिएको उनीहरूले बताए ।
विद्यालय व्यवस्थापन समितिले स्थायी शिक्षकलाई हाजिर नगराउने बैठकमा निर्णय गर्नु कानून विपरीत भएको भद्रपुर नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताए । ‘योे कानून विपरीत भएको हो, यस्तो गर्ने अधिकार समितिलाई छैन’–उनले भने । यो विषयमा विद्यालय र पाँचजना शिक्षकबीच मङ्गलबार अपरान्हदेखि नगरपालिकामा छलफल चलिरहेको छ ।
अध्यक्ष मिश्रले ५० लाख मागे
अध्यक्ष मिश्रले सोही विद्यालयका शिक्षकसँग ५० लाख रुपैयाँ घूस मागेको उनीहरूले दाबी गरेका छन् । मिश्रले सोही विद्यालयका शिक्षकद्वय सृजना प्रसाईं र डिल्लीराम अधिकारीसँग फोनमार्फत् ५० लाख मागेको उनीहरूले बताए । मावि शिक्षक प्रसाईं र प्रावि शिक्षक अधिकारीले ५० लाख रुपैयाँ जम्मा गरे हाजिर गर्न दिने अध्यक्ष मिश्रले बताएको उनीहरूको आरोप छ ।
५० लाख रुपैयाँ जम्मा गर्ने र माफ मागे सबथोक हुने टेलिफोन कुराकानीमा अध्यक्ष मिश्रले बताएको उनीहरूको दाबी छ । रकम जम्मा नगरे अध्यक्ष मिश्रले शिक्षक प्रसाईं र अधिकारीलाई कुनै पनि हालतमा विद्यालयमा हाजिर हुन नदिने बताएको उनीहरूको भनाइ छ । रकम मागेको विषय अलग रहेको मिश्रको भनाइ छ । शिक्षिका प्रसाईंले विद्यालयलाई सहयोग गर्ने आश्वासन दिएपछि रकम छ भने खातामा जम्मा गरिदिनू भनेको विषयलाई अतिरञ्जित गरिएको उनको भनाइ छ । शिक्षकसँग घूस मागेको प्रमाणित गर्न उनले चुनौती दिए ।