देउराली । युवा अवस्थामा नै सुगर र प्रेसरका रोगी दिनानुदिन दिन बढ्दै गइरहेको सन्दर्भमा  धरान ६ पानबारी स्थित पानबारी सामुदायिक वन उपभोक्त समूहले स्वास्थ्य शिविर आयोजना गरेको छ ।  

खानपान, शारीरिक व्यायामको अभाव, तनावलगायतको समस्याका कारण पछिल्लो समय युवा अवस्थादेखि नै स्वास्थ्य समस्या जटिल बन्दै गइरहेकाले सचेत रहन शिविरको आयोजना गरिएको हो ।  

एक दिने निःशुल्क स्वास्थ्य शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।  

शिविरमा २ सय ६० जना भन्दा बढीको निःशुल्क रूपमा स्वास्थ्य जाँच गरिएको थियो । बीपी प्रतिष्ठानका न्युरो फिजिसियन डा. भूपेन्द्र साहका अनुसार शिविरमा आएका मध्ये अधिकांश बिरामीहरू सुगर र प्रेसरका बिरामी थिए । डा. साहले भने– ‘यो रोग सामान्य नै हो तर हेलचेक्र्याइँ र लापरबाहीका कारण जीवन र मरणको दोसाँधमा पुग्न सकिन्छ, स्वास्थ्य जीवनका लागि खान पान, नियमित रूपमा शारीरिक व्यायाम, तनाव नियन्त्रण गर्नु आवश्यक छ ।’ चिकित्सकका अनुसार यस्तो स्वास्थ्य समस्या युवा उमेरमा नै देखिन थालेकाले पनि ग्रामीण भेगसम्म सचेतनाका लागि धरान उपमहानगरका हरेक वडामा वडा स्तरीय सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आवश्यक रहेको छ । 

प्रतिष्ठानका चिकित्सकहरूले टिम नै तयार गरेर बिरामीको स्वास्थ्य उपचार गर्दै आएका छन् । त्यसका लागि स्ट्रोक (पक्षाघात) टिम रहेको छ । समयमा नै उपचार स्वास्थ्य जाँच गरिएको खण्डमा बिरामीले अकालमा नै मृत्युवरण गर्नु पर्ने वा आजीवन पक्षाघात हुनुबाट जोगिने चिकित्सकले बताएका छन् । स्वास्थ्य शिविरमा प्रतिष्ठानमा न्युरो फिजिसियन डा. भूपेन्द्र साह, न्युरो सर्जन डा.आलोक दाहाल, न्युरो साइक्रियाटिक्स डा.सञ्जीवकुमार मिश्र, जलनेरे फिजिसियन, फेलोसिप इन डायबिटिज डा.अजय यादव, वृद्ध–वृद्धा रोग विशेषज्ञ डा. ऊर्जा भट्टराई, डा. हर्षित अग्रवाल, डा. हरिसबहादुर मल्ललगायतको चिकित्सकद्वारा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।   

वन समूहका उपभोक्ता एवम् ६ नम्बरकै वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेर पानबारी सामुदायिक वन समूहले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको वन समूहका अध्यक्ष भूपाल (कृष्णकुमार) राईले बताए । उनले भने–‘वनले खाली घाँस दाउरा र काठ वितरण गर्ने मात्रै होइन , उपभोक्ताको स्वास्थ्य पनि महत्त्वपूर्ण जीवनको धन हो, पहिलो पटक वन समूहको नेतृत्व गरेर वडा स्तरमा नै पहिलो पटक प्रतिष्ठानका चिकित्सकहरूको विशेषज्ञ टोलीद्वारा स्वास्थ्य शिविर निःशुल्क रूपमा गरेको हो । वन समूहका अध्यक्ष भूपाल राईले आफूले पाउने मासिक पेट्रोल सुविधालाई स्वास्थ्य शिविरमा खर्च गरेको अध्यक्ष राईले जानकारी दिए ।