धरानका नगरप्रमुखज्यूले कुनै एक युट्युबमार्फत ब्लाष्टको नाम लिनु भएको रहेछ । उहाँलाई धन्यवाद । ब्लाष्टलाई उहाँले एउटा  आरोप लगाउँदै ‘मेरो इन्टरभ्यू लिन सक्ने सामर्थ्य राख्दैन’ भन्ने आशयको अभिव्यक्ति दिनुभएछ । तर, स्मरणरहोस्: तपाईंलाई ब्लाष्ट संवाददाता खिलानाथ विकले अन्तरवार्ताका लागि पटक पटक फोनसम्पर्क गरेको होइन ?  तपाई आफू फोनसम्पर्कमा नआउने र तर्किने गरेको होइन ? आज कुन हैसियतले सामर्थ्य छैन भन्ने हुर्मत लिँदै हुनुहुन्छ ? ब्लाष्ट: जनताका मुद्दा, जनताप्रति जवाफदेही र समाजका विकृति, विसङ्गति, व्यभिचार, भ्रष्टाचारको पर्दाफास गरेकै कारण आज २८ औँ वर्षमा हिँडिरहेको छ । उहाँले फिल्डमा आएर अन्तरवार्ता लिने हिम्मत राखोस् भन्ने आशयको पनि अभिव्यक्ति दिनुभएको रहेछ । 

थोरै सबिस्तारमा चर्चा गरौँ :

पत्रकारिताका पनि निश्चित सीमारेखाहरू हुन्छन् । निश्चित मर्यादाहरू हुन्छन् । त्यो सीमारेखा र मर्यादामा रहनु हाम्रो धर्म हो । के तपाईं आफ्नो कार्यालयमा ब्लाष्ट दैनिक वा ब्लाष्टखबर डटकमका लागि अन्तरवार्ता दिन तयार हुनुहुन्छ ? हामी प्रश्न गर्न चाहन्छौँ । फिल्डमा आउने कुराको हकमा फिल्डमा रिपोर्टिङ गरिन्छ, अन्तरवार्ता गरिँदैन । यदि कसैले फिल्डमा अन्तरर्वाता लिन्छ भने त्यसलाई पत्रकारिताको भाषामा ‘भक्सपप’ भनिन्छ अर्थात् जनताको विचार । अब तपाईंले भन्नुहोला, अन्यले त गरिरहेका छन् ? तपाईंहरूले गर्न किन नहुने ? जसलाई तपाईंले मिडियाका रूपमा बुझिरहनु भएको छ, त्यसलाई नेपालले मिडियाका रूपमा स्वीकार गरिसकेको छैन । जब गर्छ त्यसपछि तपाईंको जवाफ दिऔँला ।

यी मिडियाबाहेक अहिले युट्युबलाई नेपाल सरकारले मिडियाका रूपमा स्वीकार गरिसकेको छैन । यो एउटा श्रव्यदृश्यसामग्री दिने सामाजिक सञ्जाल मात्रै हो ।

नेपालमा अहिले चारवटा मिडियालाई नेपाली मिडियाका रूपमा स्वीकार गरेको अवस्था छ । यदि तपाईं यसविषयमा अज्ञान हुनुहुन्छ वा जानी जानी पनि नबुझ्नु भएको हो भने त्यसबारे पनि हामी तपाईंलाई सबिस्तारमा बताउँला । पहिलो–छापा, दोस्रो–रेडियो, तेस्रो–टेलिभिजन र चौथो–अनलाइन मिडिया । अनलाइन टिभीको भने दर्ता गर्ने निश्चित प्रक्रिया छ । त्यो प्रक्रियामा गएको अवस्थामा मात्रै त्यसलाई टिभीका रूपमा स्वीकार गरिन्छ । तर, युट्युबलाई अनलाइन टिभी भनी दाबी गर्न मिल्दैन ।  

त्यसकारण यी मिडियाबाहेक अहिले युट्युबलाई नेपाल सरकारले मिडियाका रूपमा स्वीकार गरिसकेको छैन । यो एउटा श्रव्यदृश्यसामग्री दिने सामाजिक सञ्जाल मात्रै हो । त्यसकारण पनि पत्रकार र पत्रकारितालाई अनुगमन तथा निरीक्षण गर्ने संस्था नेपाल प्रेस काउन्सिल युट्युबप्रति जवाफदेही हुँदैन । युट्युबमा हालिएको समाचार तथा त्यस्ता विषयवस्तुउपर उजुरी परे सिधै कानूनी प्रक्रिया अगाडि बढ्छ । जसलाई साइबर अपराधको सूचीमा राखेर कारबाही गरिन्छ । मलाई लाग्छ, यस विषयमा तपाईं भलिभाती जानकार हुनुहुन्छ । नेपालमा साइबर अपराधको छुट्टै कानून बनेको त छैन । तर, यसलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गरिन्छ । कसैले कम्प्युटर, मोबाइल जस्ता प्रविधिको प्रयोग गरेर कसैको मानहानि तथा गालीबेइज्जती हुने क्रियाकलाप गर्छ भने उसलाई यही ऐनमा टेकेर कारबाही गरिन्छ । 

एउटा घटना स्मरण गराउने अनुमति चाहन्छु–केही समयअघि उदयपुरका पत्रकार (जो रेडियो नेपाल)मा आवद्ध थिए । उनले आफ्नो व्यक्तिगत युट्युब पनि चलाउँथे । मैले यहाँ उक्त पत्रकारको नाम नेलेख्ने अनुमति चाहन्छु । यदि हजुरलाई नामका विषयमा जान्ने इच्छा भए फोनमार्फत या अन्य कुनै माध्यममार्फत जानकारी गराउँला । ती पत्रकारमाथि एउटा महिलाले आफ्नो मानहानि हुने गरी सामग्री बनाएको भनी उजुरी दिएकै आधारमा त्यो पत्रकारलाई काठमाडौँस्थित हनुमान ढोकाबाट खटिएको साइबर सेलअन्तर्गतको प्रहरीले पक्राउ गरी थुनामा राख्यो । यो मैले यहाँ हजुरलाई यसकारण भनिरहेको छु कि युट्युबलाई अहिले पनि नेपालले मिडियाको रूपमा स्वीकार नगरेका कारणले हो । यो नेपालको हकमा मात्रै हैन, विश्वको हकमा नै यस्तो छ । जसले भद्र किसिमले युट्युब चलाएका छन् । उनीहरूका लागि युट्युब वरदान सावित भएको छ; जसले गलत तरिकाले वा ‘टिआरपी’ बढाउने हिसाबले मात्रै चलाएको छ उनीहरूको लागि युट्युब काल बनेको छ । जसरी अन्य सामाजिक सञ्जाल चलाइएका छन् । 

यसकारण हामी के चाहन्छौँ भने मर्यादित हिसाबमा तपाईंले ब्लाष्टका लागि अन्तरवार्ता दिन चाहनु भएको हो भने पक्कै पनि ब्लाष्टले तपाईंको मात्र हैन, सबैका अन्तरवार्ताहरू लिन्छन्, लिएकै पनि हो । तपाईंको नलिने भन्ने कुरै हुँदैन । अझ तपाईं त सरकार प्रमुख हुनुहुन्छ । 

पत्रकारिताको धर्म नै प्रश्न सोध्ने हो ? पत्रिकारितामा जब प्रश्न सोध्न बन्द हुन्छ । तब पत्रकारिकताको मृत्यु हुन्छ । उसको भजनकारिता सुरु हुन्छ । ऊ भजन मण्डलीको सदस्य हुन्छ । 

अब अलिकति मिडियाको चरित्रबारे बुझौँ वा प्रकृतिबारे बुझौँ । मिडिया जहिल्यै सरकारको प्रतिपक्षी हुन्छ । त्यसकारण सरकारमा बसेकाहरू नागरिकप्रति कतिको जवाफदेही छन् ? कत्तिको लोकतान्त्रिक छन् ? उनीहरू स्वेच्छाचारी हुँदै छन् कि ? त्यसको निगरानी गर्ने काम मिडियाले गर्छ । मिडिया जनताप्रति पूर्ण जवाफदेही हुन्छ । जसरी तपाईं भन्नुहुन्छ नि ‘म जनताबाट अनुमोदित भएको मान्छे, मैले जनताका लागि काम गर्नुपर्छ’ । त्यसरी नै मिडिया पनि जनताबाटै अनुमोदित हुने हो । नत्र आज हामी २८ वर्षसम्म रहन सक्ने थिएनौँ होला । यहाँ धेरै मिडिया आए । गए । आउँदै पनि छन् र जाँदै पनि छन् । ती मिडियाहरू किन बाँच्न सकेनन् ? किन टिक्न सकेनन् ? यो प्रश्नलाई एकचोटि गम्भीर भएर सोच्नुहोला । हामीले सरकारमा रहेका सबैको स्वस्थ आलोचना गर्ने हो । आलोचना गर्दा डराइहाल्नुपर्ने र निषेध गर्नुपर्ने किन ? हामी धरानका नगरप्रमुखज्यूलाई प्रश्न सोध्न चाहन्छौँ ।

पत्रकारिताको धर्म नै प्रश्न सोध्ने हो ? पत्रिकारितामा जब प्रश्न सोध्न बन्द हुन्छ । तब पत्रकारिकताको मृत्यु हुन्छ । भजनकारिता सुरु हुन्छ । ऊ भजन मण्डलीको सदस्य हुन्छ । स्वस्थ आलोचनालाई स्वीकार गर्ने हिम्मत जनअनुमोदित भएकाहरूले गर्नुपर्छ । त्यति पनि हिम्मत नहुने हो भने जनअनुमोदित हुनुको अर्थ अनर्थ लाग्न सक्छ । 

पत्रकारितामा निश्चित सीमारेखा हुन्छन् । ती सीमारेखा पार गर्नु भनेको ‘सीताले लक्ष्मण रेखा पार गर्नु जस्तै हो ।’ सीताले लक्ष्मणरेखा पार गर्दा के भयो तपाईं भलिभाँती जानकार हुनुहुन्छ । के तपाईं हामीलाई त्यही लक्ष्मणरेखा पार गराउन चाहनुहुन्छ ? हाम्रो जिज्ञासा । हैन भने एउटा प्रक्रियाबाट अन्तरवार्ता लिइन्छ र एउटा प्रक्रियाबाट त्यसको प्रशारण, प्रकाशन हुन्छ । 

प्रक्रिया र पद्दतिमा चल्दिन भन्नु गैरलोकतान्त्रिकको परिचय हो । हामी कस्तो परिचय बनाउन चाहन्छौँ ? गैरलोकतान्त्रिक वा लोकतान्त्रिक । लोकतान्त्रिक हुनु भनेको प्रक्रिया र पद्धतिमा पनि लोकतान्त्रिक हुनु हो । हरेक कामहरू गर्दा एक पटक हैन, हजार पटक सोच्ने हो । के मैले गर्ने व्यक्तिगतदेखि संस्थागत कामहरू लोकतान्त्रिक छन् ? किनकि जनताबाट अनुमोदित भएपछि ऊ पाँच वर्षसम्म व्यक्ति हुँदैन । ऊ संस्था हुन्छ । संस्था भइसकेपछि अझ लोकतान्त्रिक चरित्र देखाउनुपर्छ । अहिले तपाईं आफूले गरिरहनु भएको सबै कार्य लोकतान्त्रिक छन् कि छैनन् ? एकचोटि मनन् गर्नुहोला, हाम्रो आग्रह । 

यहाँ मैले लोकतन्त्रको परिभाषा पढाउन गइरहेको छैन । तपाईं त्यस विषयमा जानिफकार हुनुहुन्छ । हाम्रो आग्रह यति मात्रै हो, तपाईं आफू जवाफदेही स्थानमा हुनुहुन्छ । २०७९ जेठ १० गते शपथ खानुअगाडि के गर्नुभयो ? त्यो अहम् प्रश्न होइन । शपथ ग्रहण गरेपश्चात्को पाँच वर्ष तपाईं एउटा संस्था हो । संस्था हरेक एङ्गलबाट जवाफदेही हुनुपर्छ, स्वेच्छाचारी होइन । 

प्रक्रिया र पद्दतिमा चल्दिन भन्नु गैरलोकतान्त्रिकको परिचय हो । हामी कस्तो परिचय बनाउन चाहन्छौँ ? गैरलोकतान्त्रिक र लोकतान्त्रिक । लोकतान्त्रिक हुनु भनेको प्रक्रिया र पद्धतिमा पनि लोकतान्त्रिक हुनु हो ।

त्यसैले नै हाम्रो देशमा संविधानवादलाई स्वीकार गरिएको हो । तीन वटा अङ्गका कामहरूलाई कुनै पनि अङ्गले विनाकारण हस्तक्षेप गर्नुहुँदैन । संविधानवादले यही कुरालाई स्वीकार गर्छ । त्यसलै पनि नेपालको संविधानलाई विश्वको उत्कृष्ट संविधान भनिएको हो । संविधान हुँदैमा संविधानवाद हुन्छ भन्ने हुँदैन । अब तपाईं संविधानवादलाई स्वीकार गर्नुहुन्छ कि हुन्न भन्ने मात्रै हाम्रो प्रश्न हो । मान्ने नमान्ने र फर्मान गर्ने दायित्व तपाईं कै हो । त्यसैले हरेक संविधानमा नागरिकका हकको पनि व्यवस्था गरिएको हुन्छ र कर्तव्य पनि । यो त्यसै गरिएको होइन । हक प्राप्त गरिरहँदा कर्तव्य भुल्यो भने ऊ हक प्राप्त गर्न योग्य मानिदैन ।

त्यसकारण हामीले पत्रकारितामा आफ्नो कर्तव्यलाई भुलेका छैनौँ, र भुल्दैनौँ पनि । कर्तव्यले हामीलाई जहिल्यै पनि जिम्मेवार बनाउनका लागि भूमिका खेल्छ । अब भन्नुहोस् तपाईं ब्लाष्टलाई कहिले अन्तरवार्ता दिन चाहनुहुन्छ; प्रक्रियागत रूपमा, पद्धतिगत रूपमा । हामी नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीबाट च्यूत हुने छैनौँ । हामीले तपाईंको जवाफ हाम्रा समाजिक सञ्जालमार्फत दिन सक्थ्यौँ । तर हामी के मान्छौ र ठान्छौँ भने हामी पनि एउटा संस्था हौ, नकि व्यक्ति । व्यक्ति जिम्मेवार बन्न सक्ला नसक्ला, समाजप्रति उत्तरदायी होला नहोला । तर संस्था समाजप्रति उत्तरदायी हुन्छ । जिम्मेवार हुन्छ । कोही जिम्मेवार भएन भन्दैमा हामी पनि उसैगरी जिम्मेवार बहन गर्दैनौ भनेर भन्ने त ? पक्कै पनि होइन होला ।

हामी एउटा मर्यादाभित्र रहेर काम गर्छौं । आलोचना पनि मर्यादामै रहेर गर्छौ । त्यो आलोचना गर्दा आउने जनताको आलोचनालाई पनि स्वीकार गरेर अगाडि बढ्छौँ । किनकि हामी हरदम जनताप्रति उत्तरदायी हुन्छौँ । अब भन्नुस्; हामीलाई धर्मसङ्कटमा पार्ने कि जवाफदेही बनाउने ?