ब्लाष्ट दैनिकले एउटा अभ्यास सुरु गरेको छ, त्यो हो तथ्य जाँच । यसलाई ब्लाष्टले निरन्तरता दिनेछ । हामीले यो जाँच गर्न किन आवश्यक ठान्यौँ भने आखिर धरान–इटहरी सीमा विवाद के हो ? साँच्चै हो वा फन्डा । यो दायित्व पत्रपत्रिकाको पनि हो । इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले सोमबार पत्रकार सम्मेलन गरी दुई तथ्य बताएका थिए । जुन तथ्य साँचो अर्थमा सही थियो कि थिएन भन्ने खोज्नु हामीले आफ्नो धर्म ठान्यौँ । खोज्दै जाँदा इटहरीका नगरप्रमुखले प्रस्तुत गरेका दुवै तथ्यमाथिको दाबी गलत सावित भयो । यसर्थ यो विवाद गर्नु आफैमा व्यर्थ छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट, धरान उपमहानगरपालिकाको वेबसाइट र इटहरी उपमहानगर स्वयम्को वेबसाइटमा समेत राखिएको नक्सामा इटहरी–२० तरहराको पानीपियाभन्दा केही उत्तरबाट धरानको सिमाना आरम्भ हुन्छ भन्ने पायौँ । २०१४ सालमा स्थापित नापी विभाग जसले २०१९ सालदेखि काम गर्न थालेको थियो । उक्त विभागले बनाएको प्रशासनिक विभाजनको नक्सा गलत छ भनी हौवा फैलाउनु आफैमा गलत कार्य हो । तथ्य जाँच गर्दा भेटिएका तथ्यले पनि धरानको सीमाक्षेत्र पानीपियाभन्दा केही उत्तरपट्टि पर्छ भन्न सकिन्छ । यसकारण यसमा विवाद गरेर समय व्यतित गर्नु राम्रो कुरा होइन । यसमा धरानले पनि विवाद गरिरहनु पर्ने कारण छैन, इटहरीले पनि विवाद गर्नुपर्ने कारण नै देखिँदैन । जे तथ्य हो, त्यही तथ्य हो । तथ्य अकाट्य हुन्छ । तर्कचाहिँ जसले स्थापित गर्न सक्छ, त्यसैको जित होला । तर, तथ्यमा जित हार भन्ने हुँदैन । अनावश्यक विवादमा ल्याउनु र विवाद गर्नुपर्ने कारण देखिँदैन ।
तथ्य जाँचले एउटा यस्तो सन्दर्भलाई उठाइदिएको छ । जसले सुनसरी कहिले सुनसरी भएको हो र कहिलेसम्म मोरङ नै पथ्र्यो भन्ने । २०१८ वैशाख २० गतेसम्म मोरङ नै बोलिन्थ्यो । २०१६ सालमा पहिलो पटक निर्वाचन हुँदा यहाँ मोरङकै प्रतिनिधित्व भएर चुनाव लडेका थिए । यो तथ्यलाई पनि भुल्नु हुँदैन । सरकारले बनाएको नक्सामा शङ्का, उपशङ्का गर्नु हुँदैन । केही न केही यथार्थको धरातलमा टेकेर नक्सा निर्माण गरिएको हुन्छ । होला, धरान उपमहानगरपालिकाले त्यो नक्साअनुसार साँधसीमा लगाएन होला । जतिबेला ज्ञात भयो, त्यो बेला त लगाएकै हो । यो यथार्थलाई पनि हामीले भुल्नु हुँदैन । यसपटक गरी चौथो पटक विवाद उठाइएको छ । पहिलो कुरा त विवाद गर्नुपर्ने कारण नै देखिँदैन । किन र केका लागि विवाद गर्ने ? नक्सा निर्माण नभएको अवस्थामा चाहिँ सीमा विवादहरू आउलान् । त्यसलाई सामान्य मान्नुपर्ने हुनसक्छ । सीमा कति हो भन्ने विषयहरू उठ्लान् तर, आज त्यो अवस्था त होइन । ‘क्लियर’ अर्थात् पारदर्शी भएको अवस्थामा केका लागि विवाद झिकिरहने हो ?
धरान र इटहरी उपमहानगरपालिकाबीच विवादभन्दा पनि एउटा ‘अन्डरस्ट्यान्डिङ’ को आवश्यकता भने छ । नक्सामा भएको तथ्यमै रहेर दुवै स्थानीय सरकारहरूले त्यहाँ रहेको जङ्गल अर्थात् चारकोसे झाडीलाई अझ बढाउनुपर्ने आवश्यकता छ । त्यहाँ अहिले पनि सामुदायिक वनहरूले रेखदेख गर्दै आइरहेका छन् । त्यसलाई थप व्यवस्थित बनाउन दुवै उपमहानगरका प्रमुखहरूले समन्वय गरी थप व्यवस्थित गर्न जरुरी देखिन्छ । व्यर्थमा विवाद झिकेर नागरिक उफार्नु हितकर होइन । यो विवाद गर्नुपर्ने विषय पनि होइन । समन्वय, सहकारिता र सह–अस्तित्वलाई स्वीकार गर्नु आजको आवश्यकता हो र हाम्रो संविधानमा साझा अधिकारको सूचीमा यो कुरालाई अङ्गीकार गरिएको छ । यसतर्फ चाहिँ दुवै नगरका प्रमुखहरूले समन्वय गर्न जरुरी छ ।