विराटनगर । सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बुधबार बिहानको २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर–१ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो ।
सूचनाको आधारमा सशस्त्र प्रहरीले बूढीगङ्गा गाउँपालिका–१ स्थित टङ्कीसिनुवारी चोकमा सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौलाको कमाण्डमा खटिएको ९ जनाको मोबाइल चेक प्वाइन्ट टोलीले चेकजाँच गरेको थियो । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बिआर ११ भी ७६४५ नम्बरको सेतो कालो रङको स्कारपियो गाडीलाई चेकजाँच गर्न खोज्दा स्कारपियो नरोकी विराटनगरतर्फ हुइँकिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक निरौलाको टोलीले स्कारपियोलाई पछ्याउँदै जाँदा विराटनगर–१ स्थित नोबेल डेरी चोकमा स्कारपियो छाडी चालक फरार भएका थिए । चेकजाँचको क्रममा स्कारपियोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका निमित्त कार्यालय प्रमुख डिएसपी होमनाथ भट्टराईले बताए । बरामद गरेको गाँजा आवश्यक कारबाहीको लागि मोरङ प्रहरीमा बुझाएको छ ।
भारततर्फ तस्करी हुन लागेको १४ बोरा गाँजा बरामद
भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । मोरङको दक्षिणी क्षेत्रबाट तस्करी हुन लागेको १४ बोरा गाजा मोरङ प्रहरीले बुधबार बरामद गरेको हो ।
भारततर्फ तस्करी हुन लागेको ४ सय २२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका वडा नं. २ बेरियारी टोलबाट बुधबार बरामद गरेको छ । सोही ठाउँका मो.मजेबुल मियाँको मकै बारीमा गाँजा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको टोलीले १४ बोरा ४ सय २२ केजी गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीले गाँजा बरामद गरे पनि तस्करीमा संलग्नलाई पक्राउ गरेको छैन । गाँजा धनीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमानाका हुँदै भारत कटाउने गरिएको हो ।