धरान । नेपालमा पनि चलचित्रहरूले कमाइ गरेको रकम बक्स अफिसले सार्वजनिक गर्ने गरेको छ । यसबीचमा छक्का पञ्जाको सिक्वेल छक्कापञ्जा ४ को कमाइ पनि सार्वजनिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले भूवन केसीमाथि आक्रोस पोखेका छन् ।
केसी हाल चलचित्र विकास बोर्डका अध्यक्ष हुन् । उनले बोर्डको बक्स अफिस सिस्टममा तीन सातामा फिल्मको कमाइ १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ रहेको सार्वजनिक गरेका थिए । सोही कुरालाई लिएर निर्माता गिरीले भूवनमाथि आक्रोस पोख्दै फिल्मको कमाइ २ करोड नै घटाइदिएको बताए । सामाजिक सञ्जालमार्फत् निर्माता गिरीले तीन सातामा फिल्मले १८ करोड ग्रस कमाइ गरेको दाबी गरेका थिए । उनले बोर्डले फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको र भूवन आएपछि फिल्मी क्षेत्रमा जताततै विवाद रहेको आशयको स्टाटस लेखेका थिए ।
भूवनले सार्वजनिक गरेको उक्त रकम बक्स अफिस सिस्टममा जोडिएका हलहरूको मात्रै हो । सिङ्गल थिएटरको हकमा भने होइन । सिङ्गल थिएटरमा पनि करिब २५ देखि ५० लाखको हाराहारीमा कमाइ गरेको हुनसक्ने आँकलन गरिन्छ । जनतामा भ्रम छरिएको भन्दै बोर्डका अध्यक्ष लक्षित आरोप लगाएका छन् । कतिपयले कवड्डी ४ को भन्दा कम कमाइ देखिएकाले पनि आक्रोस पोखेका हुनसक्ने अड्कल गरेका छन् ।