सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको विभिन्न स्थानबाट १२ लाख बढीको अवैध सामान बरामद गरेको छ ।

भारतीय बजारबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट गरी जम्मा १२ लाख ७८ हजार ८ सय ५२ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका सूचना अधिकारी डिएसपी प्रेमप्रसाद सिग्देलले जानकारी दिए । सुनसरी हरिनगर गाउँपालिका–५ भरिया खोला इलाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज सुनसरीबाट खटिएको टोलीले अवैधरूपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ४ वटा मोटरसाइकलसहित लत्ताकपडा बरामद गरेको छ । सो लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएकोमा सोको भन्सार दाखिला मूल्य १० लाख ७८ हजार ३ सय २ रुपैयाँ मूल्याङ्कन गरिएको उनको भनाइ छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले जिल्लाको हरिनगर गाउँपालिका–५ सिसुवा धरमपुर इलाकामा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ सय ४९ केजी सिद्रा बरामद गरेको छ । आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको छ । उक्त सिद्राको भन्सार दाखिला मूल्य १ लाख ७९ हजार ६ सय रुपैयाँ मूल्याङ्कन गरिएको छ । त्यस्तै  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमडुवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बर्जु गाउँपालिका–२ भीमपुरबाट बरामद गरेको छ । सो लत्ताकपडा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाई भन्सार दाखिला मूल्य २० हजार ९ सय ५० रुपैयाँ कायम गरिएको जनाइएको छ ।