विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सल्टेन्सी सञ्चालकलाई धरौटीमा छाड्न मोरङ अदालतले आदेश दिएको छ ।
उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई पनि धरौटीमा र नाबालकहरूको हकमा भने अभिभावकलाई जिम्मा लगाउन मोरङ अदालतले बिहीबार आदेश दिएको हो । मोरङ अदालतका न्यायाधीश गायत्रीप्रकाश रेग्मीको इजलासले पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । पक्राउ परेका अन्य १ सय ६६ जना नक्कली परीक्षार्थीहरूलाई जनही ४० हजार रुपैयाँ र नाबालक २८ जनालाई अभिभावकलाई जिम्मा लगाउन आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
मोरङका तीनवटा परीक्षा केन्द्रबाट एसईईमा सामाजिक विषयको परीक्षा दिँदै गर्दा १ सय ९९ जना नक्कली परीक्षार्थी चैत १७ गते पक्राउ परेका थिए । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना, ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैँचाको जनता मावि केन्द्रबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीले मोरङ अदालतमा शिक्षा ऐन २०२८ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । वारदातस्थल छुट्टाछुट्टै स्थानमा भएकोले प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् तीनवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । ६ जना कन्सल्टेन्सी सञ्चालकसहित ३ सय ९४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये पक्राउ परेर अदालतमा उपस्थित भएकाहरूको हकमा अदालतले आदेश गरेको हो । अरूको हकमा उनीहरू उपस्थित भएपछि आदेश हुनेछ ।
प्रहरीको अनुसन्धानबाट ६ जना कन्सल्टेन्सी सञ्चालकहरूले नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने गरेको पाइएको छ । उनीहरूले पास गर्ने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सल्टेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ । नक्कली परीक्षार्थीले व्यापार–व्यवसायदेखि विभिन्न क्षेत्रमा लागेका व्यक्तिको परीक्षा दिएको बुझिएको छ । सक्कली परीक्षार्थीहरू धेरै काठमाडौँतिर बसोबास गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।