हाम्राे पार्टीको जनचरित्र छ र यसका लाखौँ सदस्यहरु छन् । मुलुकको परिस्थितिले गर्दा अधिकांश पार्टीका सदस्यहरु निम्न पुँजीपति वर्गबाट आएका छन् । यसमा कुनै आश्चर्यको कुरो छैन । सुरूमा पुँजीवादी विचारधाराको प्रभावमा परेर केही पार्टी सदस्यहरुको अडानमा दह्रोपनाको अभाव हुन सक्छ । उनीहरुको दृष्टिकोण भ्रमात्मक हुन सक्छ र उनीहरुको सोचाइ बिल्कुल गलत हुनसक्छ, तर तिनीहरु क्रान्ति र प्रतिरोध युद्धमा खारिएका छन् भन्ने तथ्यले गर्दा हाम्रो पार्टीका सदस्यहरु मुख्यरुपमा असल लडाकु हुन् र पार्टी क्रान्तिप्रति इमान्दार छन् ।
ती कामरेडहरुलाई के थाहा छ भने गल्ती गर्ने पार्टी सदस्यहरुले जनतालाई गलत बाटोमा लैजानेछन् । त्यसैले तिनीहरु समयमै आफ्ना गल्तीहरुलाई सच्याउन तयार हुन्छन् र स–साना गल्तीहरुलाई ठूलो गल्तीमा बढ्न दिँदैनन् । तिनीहरुले आलोचना र आत्मालोचनालाई इमान्दारीपूर्वक व्यवहारमा प्रयोग गर्छन् ।
यो क्रान्तिकारी नैतिकताको अनुरुप छ । धेरै वर्षको आफ्नो भूमिगत क्रियाकलापको बेलामा हाम्रो पार्टीले उपनिवेशवादीहरुको कठोर दमन खप्नु प¥यो तर, पनि पार्टी दिन प्रतिदिन विकसित र बलिया.े हुँदै गयो । अनि त्यसले क्रान्ति र प्रतिरोध युद्धलाई विजयसम्म बढायो । यो आलोचना र आत्मालोचनाको तीखो हतियारको प्रभावकारी प्रयोगले गर्दा भएको छ ।
तर, अझसम्म केही पार्टी सदस्यहरु यस्ता पनि छन्, जो व्यक्तिवादलाई हटाउन असमर्थ भएकोले हठी र घमण्डी छन् साथै आफ्नो खुबीको तारिफ गरिरहन्छन् । उनीहरु अरुको आलोचना गर्छन् तर, अरुले आफ्नो आलोचना गरेको भने मन पराउँदैनन् । उनीहरु आत्मालोचनालाई हटाउँछन् र विना इमान्दारी र विना गम्भीरताले त्यसलाई व्यवहारमा प्रयोग गर्छन् । तिनीहरु आफ्नो मुख रातो होला र आफ्नो बेइज्जत होला भनेर डराउँछन् । तिनीहरुले जनताको रायप्रति ध्यान दिँदैनन् र गैरपार्टी कार्यकर्ताहरुलाई हेला गर्छन् । तिनीहरु के बुझ्दैनन् भने आफ्नो काममा कुनै गल्ती नै नगर्नु गाह्रो छ । हामीहरु सम्भव गल्तीहरुदेखि डराउँदैनौँ, बरू त्यसलाई दृढतापूर्वक सच्याउन नसकिएला कि भनी डराउँछौं । त्यसलाई सच्याउन हामीले जनताद्वारा गरिने आलोचनामा ध्यान दिनुपर्छ र इमान्दारीपूर्वक आत्मालोचना गर्नुपर्छ । नत्र भने हामी पछि पर्नेछौं र हाम्रो अवनति हुनेछ, जसले गर्दा जनताले हामीलाई पन्छाउनेछन् । यो व्यक्तिवादको अनिवार्य परिणाम हो । मजदुरवर्ग र श्रमजीवी जनताका शक्तिहरु विशाल र असीमित छन् । तर, यदि उनीहरुले विजय प्राप्त गर्ने हो भने पार्टीले उनीहरुको नेतृत्व गर्नुपर्छ । त्यसका साथै यदि क्रान्तिमा विजय प्राप्त गर्ने हो भने पार्टी आम जनताको नजिक रहनु पर्छ र त्यसैले उनीहरुको दक्षतापूर्वक सङ्गठन र नेतृत्व गर्नुपर्छ ।
जनतासित एक ढिक्का भएर मिल्नुमा उनीहरुको विश्वास प्राप्त गर्नुमा र उनीहरुको रायप्रति ध्यान दिनुमा क्रान्तिकारी नैतिकता रहेको छ । आफ्ना कुरा र कामहरुद्वारा पार्टी र श्रमिक युवा सङ्घका सदस्य र कार्यकर्ताहरुले जनताको विश्वास, सम्मान र माया प्राप्त गर्छन् । पार्टी वरिपरि उनीहरुलाई एकताबद्ध पार्छन् र उनीहरुलाई सङ्गठित, शिक्षित बनाई परिचालन गर्छन्, जसले गर्दा उनीहरुले पार्टीका नीति र प्रस्तावहरुलाई उत्साहपूर्वक कार्यान्वित गर्नेछन् ।
हामीले क्रान्ति र प्रतिरोधयुद्धको बेलामा त्यसै गरेका छौं । तर, अहिले व्यक्तिवादले हाम्रा कतिपय कामरेडहरुलाई शिकार बनाइरहेको छ । आफू हरेक कुरोमा चलाख रहेको दाबी गरेर तिनीहरु जनताबाट अलग हुन्छन् । जनताबाट सिक्न इन्कार गर्छन् र जनताको शिक्षक मात्र बन्न चाहन्छन् । तिनीहरु जनतामाझ सङ्गठन प्रचार र शिक्षाको काममा लाग्न अनिच्छुक छन् । तिनीहरुको नोकरशाही र हुकुमवादबाट आक्रान्त छन् । फलस्वरुप जनताले तिनीहरुलाई विश्वास नै गर्छन् न त सम्मान गर्छन् र माया त बिल्कुल गर्दैनन् । अन्तमा तिनीहरुले केही पनि गर्न सक्दैनन् । हाम्रो देशको उत्तरी भाग समाजवादतर्फ बढिरहेको छ । यो लाखौँ श्रमजीवी जनताको जरूरी आकाङ्क्षा हो र यो हाम्रो पार्टीको नेतृत्व अन्तर्गत श्रमजीवी जनताको सामूहिक काम हो । समाजवाद निर्माणको लागि व्यक्तिवाद ठूलो बाधक हो । त्यसैले व्यक्तिवादको उन्मूलनको लागि चलाइने सङ्घर्षको सफलताबाट समाजवादको सफलतालाई अलग पार्न सकिँदैन ।
व्यक्तिवादको विरूद्ध सङ्घर्ष गर्नुको अर्थ व्यक्तिको हितमाथि कुल्चनु होइन । हरेक व्यक्तिका आफ्नै स्वभाव, आफ्नै खुबी, आफ्नो निजी जीवन र आफ्नो परिवारको जीवन हुन्छन् । व्यक्तिको हित सामूहिक हितको विपरीत नभएमा त्यसमा कुनै नोक्सान छैन । तर, के कुरा बुझ्नु पर्छ भने समाजवादी व्यवस्था अन्तर्गत मात्र प्रत्येक व्यक्तिले आफ्नो निजी सुधार ल्याउन र आफ्नो व्यक्ति र आफ्ना बलिया गुणहरुको विकास गर्न सक्छ ।
मानिसप्रति सम्मान देखाउनमा, उसको न्यायोचित व्यक्तिगत स्वार्थप्रति उचित ध्यान दिनमा र सो स्वार्थ पूर्तिलाई सुनिश्चित पार्नमा कुनै पनि व्यवस्था सामाजवाद र साम्यवादको बराबरी छैन । जुन समाजमा शोषकवर्गले शासन चलाएको हुन्छ, त्यस्तो समाजमा सो वर्गका केही मानिसहरुको व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ, तर श्रमजीवी जनताको हितलाई पैंतलामुनि कुल्चिन्छ । तर, समाजवादी र साम्यवादी व्यवस्थामा जसमा श्रमजीवी जनता मालिक हुन्छन् । हरेक मानिस समूहको एउटा अंश रहन्छ, उसले समूहमा निश्चित भूमिका खेल्छ र समाजलाई आफूले सकेको देन दिन्छ । त्यसैले व्यक्तिको हित समूहको हितभित्र रहन्छ र त्यसको अंश रहन्छ । समूहको स्वार्थ पूरा भएपछि मात्र व्यक्तिको स्वार्थ पूरा गर्न सकिन्छ ।
व्यक्तिको हित समाजको हितसित घनिष्ठरुपले गाँसिएको हुन्छ । ती दुईबीच कुनै अन्तरविरोध भएमा, क्रान्तिकारी नैतिकताले के अपेक्षा गर्छ भने व्यक्तिको हितले सामूहिक हित सामु समर्पण गरुन् ।
क्रान्तिको निरन्तर प्रगति हुन्छ । पार्टीले पनि निरन्तर प्रगति गर्छ । र क्रान्तिकारीले पनि निरन्तर प्रगति गर्नु पर्छ ।
क्रान्तिकारी आन्दोलनमा लाखाँै जनता संलग्न हुन्छन् । क्रान्तिकारी काममा हजारौँ ज्यादै जटिल र कठिन कामहरु समावेश छन् । सारा जटिल परिस्थितिहरुको मूल्याङ्कन गर्न अन्तरविरोधलाई स्पष्टसित देख्न र विभिन्न समस्याहरु ठीकसित समाधान गर्न सक्नको लागि हामीले माक्र्सवाद र लेनिनवादको अध्ययन गर्ने प्रयास गर्नुपर्छ ।
यसो गरेर मात्र हामीले आफ्नो क्रान्तिकारी नैतिकतालाई दरिलो पार्न सक्छौं । दह्रोसित आफ्नो अडानलाई कायम राख्न सक्छौं । आफ्नो सैद्धान्तिक र राजनीतिक स्तर उठाउन सक्छौं र पार्टीद्वारा आफूलाई सुम्पिएका कामहरु पूरा गर्न सक्छौं । माक्र्सवाद लेनिनवादको अध्ययन गर्नुको अर्थ त्यस भावनालाई सिक्नु हो, जुन भावनाले मानिसले सबै चिजहरुसित र आफूसित व्यवहार गर्नुपर्छ । यसको अर्थ हो, हाम्रो देशको व्यावहारिक अवस्थामा रचनात्मक ढङ्गले लागू गर्नको लागि सर्वव्यापी माक्र्सवादी, लेनिनवादी सत्यहरुको अध्ययन गर्नुपर्छ । हामीले कामलाई ध्यानमा राखेर अध्ययन गर्नुपर्छ । सिद्धान्तले व्यवहारसित हातमा हात मिलाएर बढ्नु पर्छ ।
तर, केही कामरेडहरु माक्र्सवाद, लेनिनवादसम्बन्धी किताबहरु कण्ठस्थ मात्र पार्छन् । तिनीहरु के सोच्छन् भने माक्र्सवाद, लेनिनवादबारे अरुहरुले भन्दा राम्ररी उनीहरुले बुझेका छन् । तर, जब व्यावहारिक समस्या सामना गर्नुपर्ने हुन्छ, तिनीहरु या त यान्त्रिक ढङ्गले काम गर्छन् या अन्योलमा पर्छन् अनि तिनीहरुका काम र कुराहरु मिल्दैनन् । तिनीहरु माक्र्सवादी, लेनिनवादी भावना प्राप्त गर्न खोज्दैनन् । तिनीहरु आफ्नो ज्ञानको प्रदर्शन मात्र गर्न चाहन्छन् तर, क्रान्तिकारी काममा त्यसलाई लागू गर्न चाहँदैनन् । यो पनि व्यक्तिवाद हो ।
व्यक्तिवादले सयौँ खतरनाक रोगहरु पैदा गर्छ । ती रोगहरु नोकरशाही, हुकुमवाद, सङ्कीर्णतावाद, मनोगतता, भ्रष्टाचार, फजुल खर्च आदि हुन् । त्यसले आफ्ना शिकारहरुलाई कस्सेर बाँध्छ र तिनीहरुको आँखामा पट्टी बाँधिदिन्छ अनि तिनीहरुको प्रत्येक कारबाही वर्ग तथा जनताको हितप्रति चासोद्वारा निर्देशित नभइकन सम्मान र पद प्राप्त गर्ने तिनीहरुको इच्छाद्वारा निर्देशित रहन्छ ।
व्यक्तिवाद समाजवादको कठोर शत्रु हो । क्रान्तिकारीले यसलाई खत्तम पार्नै पर्छ । अहिले हाम्रो पार्टी र जनताको काम हो उत्पादन बढाउन मितव्ययितालाई व्यवहारमा प्रयोग गर्न कोशिस गर्नुपर्छ । जसले गर्दा उत्तरको निर्माण गर्न सकियोस् । विस्तारै त्यसलाई समाजवादतर्फ लैजान सकियोस् र देशको पुनःएकीकरणको लागि त्यसलाई बलियो आधारमा फेर्न सकियोस् । यो ज्यादै गौरवशाली काम हो । पार्टी र श्रमिक युवा सङ्घका सबै सदस्यहरुले, पार्टीभित्र बाहिरका सबै कार्यकर्ताहरुले पार्टी र जनताको सेवामा आफ्नो जीवन अर्पण गर्न दृढ सङ्कल्प गरुन् । यो क्रान्तिकारीको उच्च गुण हो, यो क्रान्तिकारी नैतिकता हो, पार्टी र वर्ग भावना हो र यसले पार्टी, वर्ग र जनताको लागि विजयलाई सुनिश्चित पार्छ ।
क्रान्तिकारी नैतिकता आकाशबाट त्यसै खस्दैन । दिनदिनै सङ्घर्ष र प्रयत्न गरेर नै यो विकसित र दरिलोपना बन्छ । नौलो पत्थर झैं जति जति पालिस लगायो, उत्ति उत्ति चम्किन्छ । सुनजस्तै जति पगाल्यो, उत्ति यो सुन शुद्ध हुन्छ । आफ्नो क्रान्तिकारी नैतिकताको विकास गर्नुभन्दा सुख र गौरवको ठूलो स्रोतहरु के हुनसक्छ, जसले गर्दा समाजवादको निर्माण र मानवजातिको मुक्तिको लागि उचित योगदान गर्न सकियोस् । म दिलैदेखि के आशा गर्छु भने पार्टी र श्रमिक युवा सङ्घका सबै सदस्यहरु र पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताहरुले कठिन प्रयत्न र प्रगति गर्नेछन् ।
(समाप्त)