इनरुवा । विश्व भेटेरिनरी दिवसको अवसरमा इनरुवामा प्रभातफेरी तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

पशु चिकित्सा पेशामा निष्पक्षता कायम गरौं, विविधता, समानता र समावेशिता प्रवद्र्धन गरौं भन्ने नाराका साथ मनाइएको भेटेरिनरी दिवसको अवसरमा इनरुवामा प्रभातफेरी तथा सम्मान कार्यक्रम गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र नेपाल लाइभस्टक सेक्टर इनोभेशन विराटनगरको संयोजनमा नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन जिल्ला कार्य समिति सुनसरीले दिवसको अवसरमा प्रभातफेरी तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा कोशी प्रदेशका सांसद् रामदेव यादवलाई सम्मान गरिएको थियो । यादव सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद् हुन् । सांसद् यादव पूर्व पशु प्राविधिक रहेकाले दिवसको अवसर पारी सम्मान गरिएको आयोजक संस्था नेबलाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले बताए ।

सम्मान ग्रहणपश्चात् सम्बोधनका क्रममा सांसद् यादवले आफ्नो नाम र पहिचान आफ्नो पूर्व पेशासँगै जोडिएको बताए । उनले पशु प्राविधिकका रूपमा गाउँघरमा पुगेर प्रदान गरेको सेवालेनै आफूलाई गाउँ समाजमा स्थापित गराउँदै सांसद्सम्मको यात्रामा पुर्याएको बताए । उनले भेटेरिनरी पेशा आफ्नो गर्वको विषय भएको बताए । 

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख पशु चिकित्सक कुमारसिंह खत्री, नेबलाका प्रदेश संयोजक योगेन्द्रलाल यादव र जिल्ला अध्यक्ष गणेश मेहताका साथै शाखा प्रमुख तथा व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेबला केन्द्रीय कार्यालयको भवन निर्माण सहयोगार्थ सञ्चालित १० हजार अभियानमा १० जनाले जनही १० हजारको दरले सहयोगसमेत उपलब्ध गराएका थिए ।