धरान । धरानमा छायाङ्कन भएको नेपाली चलचित्र ‘ज्याकीः आईएम ट्वान्टी वान’ वैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

युवापुस्तामाझ चर्चित धीरज मगर र जसिता गुरुङसँगै धरानकै प्रेम सुब्बा, सुजाता राईलगायतको अभिनय रहेको फिल्म रेनेसा बान्तवा राईले निर्देशन गरेकी हुन् ।

चलचित्र टोली अहिले प्रचार–प्रसारका लागि पूर्वका विभिन्न सहरमा दौडधुप गरिरहेको छ । शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्र टोलीले धरानकै युवाको सङ्घर्षको कथा प्रस्तुत गरिएको चलचित्र भएकाले हेरिदिन आग्रह गर्यो ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता धीरज मगरले धरानको एक लिम्बू समुदायको युवा परिवारको लाहुरे बन्ने दबावबीच कलाकारितामा लाग्न गरेको सङ्घर्ष अहिलेको युवापुस्तालाई छुने किसिमको भएकाले आफूले काम गरेको बताए । कार्यक्रममा बोल्दै कलाकारहरू प्रेम सुब्बा, सुजाता राईले युवापुस्ताको कथा भएकाले आफूहरूलाई मन परेको बताए । याक्थुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङ्बोले चलचित्र सफलताको शुभकामना व्यक्त गरे ।