धनकुटा । धनकुटा नगरपालिका–५ की सचेता आठपहरियाले २०७५ सालमा ‘जातीय पहिरनको उद्योग’ खोल्दै गर्दा डलर कमाउँला भन्ने सोचेकी थिइनन् ।
लोप हुँदै गरेको ‘छिटा, सिम, मेख्ली’ जस्ता जातीय पहिरनलाई संरक्षण र प्रवर्धनमा भूमिका खेल्छु भन्ने चाहिँ सोचेरै उद्योग सुरु गरेकी थिइन । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् धनकुटाकी कोषाध्यक्ष र किरात आठपहरिया समाज नगरसमिति धनकुटाकी सदस्य भएकाले पनि यति सोच चाहिँ उनमा आएको थियो । तर, सचेताले उद्योगबाट उत्पादन भएका जातीय पहिरनलाई गाउँमा मात्रै सीमित गरिनन् । उनले विभिन्न देशमा पनि पठाउन थालिन् । जसले गर्दा अहिले छिटा, सिम, मेख्लीजस्ता पहिरन अहिले डलरमा बिक्ने गरेको छ । सचेताले भनिन्, ‘आफ्नो जातिको भेषभूषा लोप हुन नदिन छिटा, सिम, मेख्ली उद्योग ०७५ सालमा दर्ता गरेकी थिएँ ।’
आर्थिक वर्ष २०७५/०७६ मा घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन थालेकी छन् । सचेतालाई यस प्रकृतिको उद्योग खोल्ने साहस चाहिँ किरात आठपहरिया समाज नगरसमिति धनकुटाले आर्थिक वर्ष २०७४÷०७५ मा गरेको तीन महिने छिटा, सिम र मेख्ली बुन्ने ढाका तालिमबाट प्राप्त गरेकी थिइन् । अझ यसलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्योगलाई ६० हजार अनुदान सहयोगले फल्नफुल्न मद्दत गरेको उनी बताउँछिन् । हाल उद्योगमा ५ वटा तान सञ्चालित छन् भने ४ जनालाई रोजगारी दिएकी छन् । सचेताले भनिन्, ‘कामदारलाई उत्पादन गरेको वस्तुको मूल्य हेरी पिस सिस्टमबाट दैनिक न्यूनतम् ५ सयका दरले पारिश्रमिक शुल्क दिने गरेको छु ।’ छिटा सिम (छिट्को साडी) प्रतिपिस ३ हजार, मेख्ली (चौबन्दी चोलो) १ हजार, टाखुम्बी (पछ्यौरा) ३ हजार, झोला १ हजार, दौरा सुरुवाल सेट ८ हजार, हाफ् सल हातले बुनेको ३ हजार र तानले मात्र बुनेको हाफ् सल २ हजारमा बिक्री गर्दै आएकी छन् ।
अहिले उद्योगमा तान फिँजाउनका लागि भवनको अभाव खट्किएको छ । त्यसका लागि धनकुटा–५ का वडाध्यक्ष धनकुमार आठपहरिया र धनकुटा नगरप्रमुख चिन्तन तामाङलाई भवन निर्माणका लागि अनुरोध गरेकी छन् ।
उनको उत्पादन देशका विभिन्न भागमा पुग्ने गरेको छ । त्यसबाहेक विदेशमा अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलियाबाट ज्यादा माग हुने गरेको उनी सुनाउँछिन् । आठपहरिया दाजुभाइ तथा दिदीबहिनी पुगेका ठाउँहरूबाट माग बढी छ । उद्योग स्थापना गरे पनि ६ लाखको हाराहारीमा मात्रै लगानी गरेकी छन् । वित्तीय संस्था र बैङ्कबाट ऋण काढेर लगानी गरेको उनी बताउँछिन् । वार्षिक ६ लाखभन्दा बढीको कारोबार गर्दै आएकी छन् । उनी भन्छिन्, ‘२ लाख जतिको कच्चा पदार्थ खरिद र कामदारलाई पारिश्रमिक दिएर पनि २ लाख ५० हजारको हाराहारीमा नाफा हुन्छ ।’ उद्योग स्थापनाको दौरानमा आर्थिक सङ्कट निम्तिएपछि पति राजपति छाराहाङ वैदेशिक रोजगारीअन्तर्गत दुबईसमेत गए । केही कमाए पनि बिरामी भएका कारणले उपचार गर्दैमा कमाएकोभन्दा बढी खर्च भएको उनी बताउँछिन् । सचेताका पति हाल जिल्ला अस्पताल धनकुटामा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् ।
यही कमाइबाट छोरीलाई हेल्थ असिष्टेन्ट र छोरालाई पढाइरहेकी छन् । यस पेशालाई बाँचुञ्जेल नछाड्ने सङ्कल्प लिएकी छन् । उनीमात्रै हैन, धनकुटा–८ की डरश्वरी आठपहरिया पनि यस्तै पेशामा छिन् । हजुरआमा (बोजू) ले सिकाएको तान बुन्ने सीपबाटै जीवन चलाइरहेकी छन् । जतिबेला उनी विहा गरेर आइन्, त्यसबेला धनकुटा–८ तित्रिदाङमा कसैले आठपहरिया जातिले लगाउने पहिरन बुन्दैनथे । उनले ससुरा छक्कवीरलाई रुवा बनाउने (केर्खा) र रुवाबाट धागो बनाउने (जर्खा) बनाउन लगाइन् । नेपाली भाषामा कपासबाट रुवा बनाउने साधनलाई स्थानीय भाषामा (ओइँटा) र कपासको रुवाबाट धागो बनाउने साधनलाई (चर्खा) भन्ने गरिन्छ ।
उनले यो पेशा अँगालेको ३९ वर्ष भइसकेको छ । उनले आफैमा मात्रै सीप सीमित राखिनन् । छिमेकी जुगमाया, पूर्णश्वरी, छोरी रङ्गीता, बुहारी अञ्जुलालाई पनि सिकाइन् । उनले सीपलाई पुस्तान्तरण गर्दै आइरहेकी छन् । डरश्वरीले २०७५ सालमा ‘आठपहरिया घरेलु ढाका उद्योग’ दर्ता गरेकी हाल सीपलाई व्यावसायिक पनि बनाइरहेकी छन् । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा ०७७÷७८ मा ढाका बुनाइ तालिमको सहजीकरण पनि गरिन् । उनको उद्योगलाई आ.व.०७५÷७६ मा पनि आठपहरिया भेषभूषाको प्रवर्धन गर्न धनकुटा नगरपालिकाले ५० हजार अनुदान पनि दिएको उनी बताउँछिन् । उनले जग्गा अभावमा उद्योग व्यवस्थित गर्न भने कठिनाइ भएको बताउँछिन् । हिउँदभरि मात्रै उनको उद्योग चल्छ । ‘हिउँदभरि बारीको पाटामा बुन्यो, वर्षायाम सुरु भएपछि बन्द गर्नुपर्ने बाध्यता छ’ उनी भन्छिन्, ‘तान फिँजाउने ठाउँ हुँदैन, बाध्य भएर जेठ÷असारदेखि असोज÷कात्तिकसम्म कोठामा थन्क्याएर राख्नु पर्छ ।’
डरश्वरीसँग सिकेकी जुगमायाले पनि घरेलु ढाका बुन्न थालेको १५–२० वर्ष पुग्यो । उनको समस्या पनि डरश्वरीको झैँ छ । हिउँदको समयमा ६०–७० हजारको ढाकाको मेख्ली, बर्को, छिट्को सारीलगायत कपडा बिक्री गर्ने गरेको बताइन् । उनको पति जुद्धबहादुर भन्छन्, ‘हिउँदको समयमा काम नहुँदा समयको सदुपयोग भएको छ, व्यावसायिक रूपमा काम गर्न सकिएको छैन ।’ पूर्णश्वरीले पनि ढाकाका कपडा उत्पादन गर्न थालेको १५–२० वर्ष पुग्यो । उनको पनि साझा समस्या भनेको उद्योगका लागि स्थान अभाव हुनु । हिउँदभरि बुन्ने र बर्खा लागेपछि छाडिदिने गरेको उनी बताउँछिन् । आठपहरिया जातिको विवाहको समयमा, वैशाख महिनामा हुने छोरी मान्छेको शिरपूजा, कुलपूजा, मङ्सिर महिनामा हुने छोरा मान्छेको शिरपूजा हुने समयमा ढाका कपडाको बढी माग हुने गरेको छ ।
त्यसैगरी वर्षको तीन पटक हुने पितृ पूजाहरू (असोज, मङ्सिर र वैशाख) मा (जेठो चाड) मनाउँदा आठपहरिया जातिको भेषाभूषा (ड्रेस) को बढी माग हुने गरेको छ । धनकुटा–८ का वडाध्यक्ष रसबहादुर आठपहरियाले आ.व. ०७९÷८० मा आठपहरिया भेषभूषाको लागि ढाका बुन्ने तालिमका लागि ५० हजार रकम विनियोजन गरेको बताए । ‘विनियोजित बजेट कम भयो भनेर वडाबासी उद्यमीहरू कसैले पनि काम नगरेको र चैत १५ गते अगावै योजना कार्यान्वयन गर्न समयावधि तोकिएको थियो, नगरेकाले बजेट फ्रिज भयो’–अध्यक्ष रसबहादुरले भने ।