देशमा पछिल्लो समय नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने चर्चा चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतलेयो विषयमा आवाज उठाउँदै आएका छन् भने पुरानै दलका कतिपय नेताहरूले पनि सम्पत्ति छानबिनको विषय बेलामौका उठाउने गरेका छन् । राजनीतिक दलका धेरै नेताहरूको छोटो समयमा बद्लिँदो जीवनशैली र भ्रष्टाचारमा दलका नेता र उनीहरू निकटमा व्यक्तिहरू मुछिने क्रम बढ्दो छ । यसले पनि आम नागरिकमा धेरैजसो नेताहरू भ्रष्टाचारमा संलग्न हुने गरेको आशङ्का बढाएको पाइन्छ । सामाजिक सञ्जालमा आम नागरिकहरूका प्रतिक्रियाहरू हेर्दा सत्तामा पुगेका अधिकांश नेताहरूप्रति असन्तुष्टि बढ्दो छ । पछिल्ला केही वर्षयता राजनीतिक दलका नेता भन्ने बित्तिकै नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति पनि उत्तिकै छ । सबै नेतालाई भ्रष्टाचारी भन्न मिल्दैन, कतिपय सदाचारी पनि छन् तर, भ्रष्टाचारको जरो सङ्घदेखि स्थानीय तहसम्म फैलिसकेको भने प्रष्ट छ ।

हुन त नेताहरूको सम्पत्ति छानबिनको विषय अहिले मात्र उठेको पक्कै होइन । पहिले पनि बेला–बेला विशेषगरी नयाँ दल र युवा नेताहरूले यो विषय उठाउँदै आएका हुन् । कसैले कुरा उठाउँदा चर्चा भए पनि विस्तारै सम्पत्ति छानबिनको विषय ओझेल पर्ने गरेको छ । कतिपय नेताले २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाउने गरेका छन् भने कतिपयले पहिलेदेखिकै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाइरहेका छन् । देश आर्थिकरूपमा जर्जर अवस्थामा पुग्नु, आम नागरिक देशमा केही गर्ने वातावरण नपाएर विदेशिनु, कसैले आत्महत्या गर्नुपर्ने अवस्था आउनुमा भ्रष्टाचार प्रमुख कारण हो । देश गरिब बन्दै जाने, सीमित व्यक्ति धनी बन्दै जाने क्रम बढिरहेकै छ । धनी र गरिब बीचको आर्थिक खाडल झन्–झन् बढ्दै जाने क्रममा छ । यस्तो अवस्था रोक्न पनि सम्पत्ति छानबिन गरिनु आवश्यक छ । सम्पत्ति छानबिनको विषयमा प्रायः नेताहरूको सम्पत्ति छानबिनको चर्चा हुने गरेको छ । नेताहरूभन्दा भ्रष्टाचार कर्मचारीतन्त्रमा फैलिएको छ । कर्मचारीतन्त्रमा जरा गाडेको भ्रष्टाचारले देशलाई खोक्रो बनाइरहेको छ । त्यसैले सम्पत्ति छानबिन गरिँदा नेताहरूका साथै कर्मचारीहरूको पनि गरिनु आवश्यक छ ।

विगतमा नेताका सम्पत्ति छानबिन गर्ने कुरा उठे पनि धेरैजसो गफमै सीमित भयो । नीति निर्माण गर्ने ठाउँमा तिनै नेताहरू, कर्मचारीहरू रहेकाले छानबिनको कुरा उठ्दै बीचमै सेलाउँदै आएको छ । अहिले पनि सम्पत्ति छानबिनको कुरा चुनाव र विशेष अवसरमा आकर्षक भाषणका रूपमा बढी प्रचलनमा छ । सम्पत्ति छानबिनका लागि सक्रिय भएर कदम चाल्न भने कसैले सकेको छैन । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा यसप्रति रुचि हुने कुरै भएन किनभने फस्ने उनीहरू नै हुन् । अहिले पनि सत्तामा त्यस्तै कुनै न कुनै भ्रष्टाचारमा मुछिएका नेता र कर्मचारीहरूको बाहुल्यता छ । सदाचारीहरूको सङ्ख्या सबैतिर कमजोर छ । त्यसैले गफ गरेजस्तो, सार्वजनिक कार्यक्रममा भाषण गरेजस्तो सम्पत्ति छानबिन गर्न सहज भने छैन । तर, आम नागरिक राज्यप्रति अत्यन्तै निराश भएकाले उनीहरूप्रति आशा जगाउन पनि अब नेताहरूले भ्रष्टाचारविरुद्ध काम गर्नै पर्ने अवस्था छ । त्यसैले नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गरिनु आवश्यक छ । फेरि पनि यो मुद्दा गफमा सीमित नबनोस् ।