विषय प्रवेशः धरानका मेयर हर्कराज राई (साम्पाङ) ले कार्यभार सम्हालेको पनि लगभग एक वर्ष पुग्दैछ । उनको लागि यो अवधि निकै उत्तारचढावपूर्ण रहेको देखिन्छ । स्थानीय तहका अरू जनप्रतिनिधिहरूभन्दा उनी अलि बढी नै चर्चामा आउन सफल पात्र हुन् । मेयर साम्पाङप्रति देश विदेश सबैतिर अचम्मको क्रेज बढेको थियो । चुनावताका एक्लै चोक–चोकमा नेपाली झण्डा बोकेर प्रचार–प्रसारमा हिँड्दादेखि सुरु भएको चर्चाको शृङ्खला अभैm सकिएको छैन । काकाकुल धरानको लागि उनले खानेपानीको एकल मुद्दा उठाएर आन्दोलन गरेकै कारण उनीप्रतिको आकर्षण धेरै थियो । यता धरानमा इतिहासमै पहिलोचोटी स्वतन्त्रले चुनाव जित्नु पनि त्यसै चर्चाको विषय हुने नै भयो । मेयरमा निर्वाचित भएपछि कुचो बोकेर धरानको गल्ली–गल्लीमा सरसफाइ अभियानमा निस्कनुले पनि धेरैको मन तानेको थियो । धरानको खानेपानी समस्या समाधानको लागि धरान आसपासका विभिन्न खोलाहरूमा खानेपानी ल्याउन निरन्तर गरिएको श्रम अभियानले झनै संसारकै ध्यान खिच्न सफल भयो । पकुवा खोलाबाट आरम्भ गरिएको खानेपानी अभियानको संस्करण निशाने, भालुखोला हुँदै कोकाहा खोला संस्करणसम्म आइपुग्दा श्रम अभियानले निरन्तर गति बढाइरहेको देखिन्छ । उनको खानेपानी व्यवस्थापन श्रम अभियानमा विभिन्न व्यक्ति र व्यक्तित्वहरूसमेत सहभागी भएर ऐक्यबद्धता जनाइसकेका छन् । यसले देशविदेशमा सनसनी चर्चा कमाएको छ, जुन आजसम्म पनि जारी नै छ ।
वस्तुतः उनको श्रम संस्कृतिलाई कसैले पनि नजरअन्दाज गर्नु हुँदैन । यो वा त्यो बहाना वा स्वार्थमा यसलाई सौदाबाजी गर्नु महाभुल हुनेछ । धेरै नकारात्मक टिकाटिप्पणी गर्न जरुरी छैन । उनको खानेपानी व्यवस्थापन अन्तर्गतको श्रम अभियानलाई सबैले निःसर्त सम्मान मात्र होइन, यसबाट पाठ सिक्नै पर्दछ । श्रम अभियानमा सहभागी भएर ऐक्यबद्धता जनाउँदा नै हाम्रो हित हुन्छ । तर, धरान उपमहानगरपालिकाको मेयरको हैसियतबाट भन्ने हो भने श्रम केवल एउटा आयाम मात्र हो । कुनै सामाजिक अभियन्ताले यही र यस्तै श्रम मात्रै गर्दा पनि प्रश्न उठ्दैन । उल्टै वाहीवाही हुन्छ, जसरी हिजो हर्क साम्पाङलाई चोक–चोकमा भाषण गर्दा हुन्थ्यो । तर, आज हर्क साम्पाङ कुनै अमूक अभियन्ता नभएर धरान उपमहानगरपालिकाको जिम्मेवार मेयर हुन् । आज उनी यो वा त्यो मिलेन भनेर प्रश्न गर्ने अभियन्ता हैनन्, बरु त्यसको उत्तर दिने ठाउँमा छन् । उनी स्थानीय सत्ताको प्रमुख हुन् । उनको काँधमा सिङ्गो धरान र धराने जनताको भाग्य र भविष्य अन्तरनिहीत छ । सम्भावनाहरूको खोजी छ । समस्याहरूको समीक्षा र समाधान छ । समृद्ध र सुखी धरान बनाउने जिम्मा छ, जुन चानचुने जिम्मेवारी होइन ।
समस्याः पछिल्लो समय धरान उपमहानगरपालिका एकपछि अर्को विवादको शृङ्खलामा फसिरहेको छ । नगरप्रमुख साम्पाङ र वडाध्यक्षहरूबीच इगो, प्रतिष्ठा र स्वार्थको लडाइँ उत्कर्षमा पुगेको छ । परिणामतः जनताका आधारभूत औसत कामहरू पनि भइरहेको छैन । नीति निर्माण र योजना तर्जुमा गर्नुपर्ने यो संवेदनशील घडीमा सामान्य नियमित बैठक पनि बस्न सकिरहेको छैन । अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रमहरू निर्माण गरेर समृद्ध र सुखी धरान बनाउने रणनैतिक अभियानमा लाग्नुपर्नेमा यहाँ भने इगोको झगडामै समय बितिरहेको छ । मन्त्रिपरिषद् बैठक जस्तै कार्यकारी कार्यपालिकाको बैठक पनि बस्न नसक्नु हामी धरानवासीहरूको लागि दुःखद् र दुर्भाग्यको कुरा हो । यहाँ एकातिर स्वतन्त्र मेयर र अर्कोतिर राजनैतिक दलहरूबाट निर्वाचित भएका वडाध्यक्षहरू दुई कित्तामा विभाजित भएका छन् । समस्या समाधानतिर भन्दा पनि विवादलाई अझ पेचिलो बनाउन खोजिरहेको प्रतीत हुन्छ । अझै तन्काउने, बल्झाउने र लम्ब्याउनेतर्पm गइरहेको छ, जुन राम्रो होइन ।
मूलतः नगरप्रमुख साम्पाङमा पदीय जिम्मेवारी बोध नभएको महसुस हुन्छ । उनको ज्यादा ध्यान खोलातिर देखिन्छ । उनमा हिजोको सामाजिक अभियन्ताभन्दा उन्नत चेत पलाएको देखिँदैन । प्रश्न गर्नेभन्दा उत्तर दिने हैसियत बनाएका छैनन् । किसानी मानसिकताबाट माथि उठ्न सकेको देखिँदैन । आप्mनै मनोगत संसारमा रम्ने बानी हटाउनुभा’छैन । एक्लै एकोहोरो प्रवचन दिइरहने नानीदेखिको बानी त्याग्नुभा’छैन । तल्लो स्तरको शीघ्र गाली र प्रतिक्रिया दिन छाड्नुभा’छैन । सभ्य र विवेकपूर्ण राजनैतिक संस्कार सिक्नुभा’छैन । धर्य रहँदै अरूको पनि कुरा सुनेर गम्भीर जवाफ दिन जान्नुभा’छैन । आलोचना र आत्मालोचनाको विधि पढ्नुभा’छैन । ऐन, नियम, कानून, विधि र प्रक्रिया घोक्नुभा’छैन । यता वडाध्यक्षहरूले पनि स्वतन्त्र भनेर अलि सौतेलो व्यवहार पूरै त्याग्नुभा’छैन । दलीय बहुमतीय दम्भ छोड्नुभा’छैन । बहिष्कारको रटान पुनर्विचार गर्नुभा’छैन । दुवै पक्षले एकले अर्कोलाई उत्तेजित र तरङ्गित गर्ने क्रम घटाउनुभा’छैन । यस्तै छ धरानको असली समस्या । यो पङ्क्तिकारले गतवर्ष चुनाव जितिरहँदा एक वर्षपछि यसरी लेख्न बाध्य हुनुपर्छ भनेर कल्पना पनि गरेको थिएन । यो बाध्यताको उपज हो ।
समाधानः धरानको समस्या समाधान गर्ने नै हो भने सरोकारवालाहरूले आफैले मनन् गर्न जरुरी छ । त्यसमा पनि नगरप्रमुखले सबैभन्दा बढी पहल गर्नैपर्दछ । यसको मुख्य जिम्मेवार व्यक्ति नगरप्रमुख नै हो । यद्यपि यसको अर्थ उपप्रमुख, वडाध्यक्ष, सदस्य र जनताको कुनै भूमिका छैन भनेको होइन । अरूको पनि सिर्जनशील र सकारात्मक भूमिकाको खाँचो देखिन्छ । सर्वप्रथमतः नगरप्रमुखले सिङ्गो धरान उपमहानगरपालिकाको नेतृत्व, दिशानिर्देशन र परिचालन गर्नु पर्दछ । मनोगत र एकोहोरो रूपमा श्रम मानसिकतामा मात्र अल्झिनु हुँदैन । नगरको नेतृत्व र व्यवस्थापन प्रधान र श्रमलाई सहायक प्राथमिकतामा राख्नु पर्दछ । सामाजिक सञ्जालमा तल्लोस्तरको गालीसहित पोखिने र उम्लिने बानीलाई चटक्कै छाड्नु पर्दछ । यति गरे आधा समस्या आफै समाधान हुनेछ । प्रतिक्रिया दिनै परे वा सवालको जवाफ दिनै परे परिपक्व, सभ्य, सिर्जनशील र प्रेरणादायी भावजन्य अभिव्यक्ति दिनु पर्दछ । राजनैतिक क्रियाको प्रतिक्रिया राजनैतिक उचाइबाटै दिनु पर्दछ । विरोध र प्रतिक्रिया दिने पनि शैली हुन्छ, संस्कार हुन्छ ।
यता वडाध्यक्षहरूको माग सम्बोधन गर्दै तुरुन्तै कार्यपालिकाको बैठक राख्नु पर्दछ । माफी मागेर कोही सानो हुँदैन । बरु उल्टै उचाइ बढ्दछ । समग्र धरान नगरको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गरी कार्यक्रमिक योजना निर्माण गर्नु पर्दछ । नगरप्रमुखले हालसम्म गरेका सिर्जनशील कामहरूमा विधि र प्रक्रिया नमिलेको बारे धेरै विवाद आइरहेको छ । यसमा गम्भीर बन्दै ऐन, कानून, विधि र प्रक्रियाको माध्यमबाट अगाडि बढ्ने पद्दति अङ्गीकार गर्नु पर्दछ । राम्रै कामको लागि भए पनि विधि र प्रक्रिया जरुरी हुन्छ । झन्झट मान्नु हुँदैन । साबुन प्mयाक्ट्री र कोकाहा खानेपानी जस्तै अनपेक्षित विवादहरू झेल्नु पर्दछ । त्यसैले भोगाइबाट सिक्नु पनि पर्दछ । कोकाहाको सन्दर्भमा वराहक्षेत्र नपासँग सम्झौता गरी प्रक्रिया पु¥याएर ल्याउनु सबैभन्दा बुद्धिमानी हुन्छ । छिमेकी नपाहरूसँगको सीमा विवाद उत्तेजित र तरङ्गित अभिव्यक्तिबाट होइन । ऐतिहासिक तथ्यको आधारमा दोहोरो विहङ्गम खुल्ला छलफलमार्पmत् समाधान गर्नु पर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारी, विकास–निर्माणलगायत धरानको सर्वाङ्गीण विकासमा जोड दिनु पर्दछ । त्यसमध्ये खानेपानीजस्ता अंशगत परियोजनालाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । वडाध्यक्षहरूले पनि मेरो गोरुको बाह्रै टक्का भनेर अड्डी कस्नु हुँदैन । मेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्दछ । कतिपय मुद्दाहरूमा मेयरसँग स्वस्थ छलफल गरेर समस्याको समाधान गर्नु पर्दछ । एकले अर्को पक्षलाई सही रूपान्तरण गर्ने ध्येय लिनु पर्दछ । दुराग्रह र दुराशय राख्नु हुँदैन ।
निष्कर्षः विवाद अझै बल्झाइराख्नु धराने जनताको हितमा पटक्कै छैन । दम्भ, घमण्ड र मपाईंत्व त्यागौं । आफू मात्रै सही र अरू गलत भन्ने मनचिन्ते वा आत्मकेन्द्रित व्यक्तिवादी चिन्तन् छाडौं । निषेध र अन्धभक्तिको राजनीति नगरौं । कसैलाई निरपेक्ष देवत्वकरण र कसैलाई राक्षसीकरण नगरौं । कुनै पनि वस्तु, व्यक्ति र सत्ताप्रति आलोचनात्मक दृष्टिकोण अँगालौं । सकारात्मक कामको पक्षपोषण गरौँ साथै नकारात्मक कामको विरोध गरौँ । गल्ती कमजोरीहरू सच्याएर चुनौतीहरूको सामना गरौँ । सबैले ऐन, कानुन र नीतिद्वारा निर्देशित विधि प्रक्रिया पुर्याएर कार्यसम्पादन गरौँ । शिखर चुम्ने साझा लक्ष्य एकोहोरो र एकलकाँटेपनबाट होइन, सामूहिक छलफल र अन्तरक्रियाबाट गरौं ।
तब कसैले प्रश्न उठाउन सक्दैन । बालहठपन होइन, परिपक्वता प्रदर्शन गरौँ । रिस र आवेग होइन, विवेकको अस्त्र चलाऔँ । शीघ्र आवेगात्मक प्रतिक्रिया होइन, गमेर छानीछानी जवाफ दिने बानी बसालौँ । सामाजिक सञ्जालमा उत्तेजित हुने, बहकिने, बरालिने, पोखिने र उम्लिनेभन्दा पनि तथ्य धरातलमा उभिएर समाधान खोजौँ । अरूको मात्र होइन, आप्mनो पनि गल्ती देख्ने संस्कृति बसालौँ । यसैमा हामी धराने जनताको जित र हित सुनिश्चित छ । सबैलाई चेतना होस् ।