३० वर्षको अवधिमा देश र समाजले मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्यो । ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो ‘तन्केर’ ८० हजार किलोमिटर पुगेको छ । डेमागगहरू त्यो कुरा गर्दैनन् ।

अङ्ग्रेजीमा ‘डेमागग’ भन्ने शब्द छ । यो शब्द संयुक्त राज्य अमेरिकाको राजनीतिमा डोनाल्ड ट्रम्पको उदय भएपछि सबैजसो पश्चिमी देशमा निकै प्रचलनमा आयो । डेमागगको ठ्याक्कै अनुवाद गर्न मिल्ने नेपाली शब्द भेटिँदैन । हामी र हाम्रो समाजले ‘डेमागग’ चरित्रलाई आलोचनात्मक रूपले नहेर्ने गरेको भएर पनि त्यस्तो अर्थ र आशय बोक्ने शब्द नभेटिएको हुनसक्छ । युक्तिसङ्गत तर्क प्रयोग गर्नुको सट्टा आमजनताको व्यग्र चाहना र पूर्वाग्रहलाई अपिल हुने खालका अति लोकप्रिय तर्क र भाषण गर्दै, जनताको भावनामा खेलेर लोकप्रिय बन्न खोज्ने राजनीतिक नेतालाई नै ‘डेमागग’ भनिन्छ । यस्ता नेताहरूले सामान्यतया देशलाई गलत दिशामा लैजान्छन् र आफ्नो अधिनायकवाद स्थापना गर्न खोज्छन् । अन्ततः त्यसले देशलाई लाभभन्दा हानि बढी हुन्छ ।

डेमागग नयाँ शब्द होइन र यो ठेट अङ्ग्रेजी शब्द पनि होइन । प्राचीन ग्रीसको खास गरी एथेन्स सहरमा आजभन्दा झण्डै २५ सय वर्षअघि नै लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भएको मानिन्छ । त्यतिखेर नै यो शब्द त्यस्ता राजनीतिज्ञहरूलाई जनाउन प्रयोग गरिन्थ्यो, जसले भीडलाई उक्साएर र भड्काएर आफ्नो स्वार्थ सिद्ध गर्थे । भीडलाई भड्काउने ‘डेमागग’ कै कारण प्राचीन एथेन्सको लोकतन्त्र बारम्बार सङ्कटमा परेको कुरा इतिहासमा उल्लेखित छ ।

बीसौँ शताब्दीमा रेडियो र टेलिभिजनको आविष्कार र विकासले हिटलरजस्ता डेमागगको उदय सम्भव बनायो । अहिले फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालले गर्दा जताततै डेमागगको बिगबिगी छ । सञ्चारका यस्ता आधुनिक माध्यमबाट सजिलैसँग र सिधै जनतामाझ पुगी तिनलाई प्रभावित र दिग्भ्रमित पार्न सकिन्छ । डेमागगले सरल शब्द र उत्तेजक नारा प्रयोग गरेर सर्वसाधारणलाई उत्तेजित बनाउँछन् । तिनीहरूको लक्षित समूह मूल रूपमा अशिक्षित, अर्धशिक्षित र कुनै न कुनै रूपमा आफू अन्यायमा परेको ठान्ने मतदाताहरू हुन्, जसलाई सजिलै प्रभावमा पार्न सकिन्छ । डेमागगले समसामयिक विषयलाई मुद्दा बनाउँछन् । त्यसलाई अतिरञ्जित तरिकाले व्याख्या गर्दै जनताको गुनासोलाई आक्रोसमा परिणत गर्छन् । त्यही आक्रोसलाई सत्तामा पुग्ने सिँढी बनाउँछन् र सत्ताको चाबी हातमा परेपछि आफ्नो अधिनायकवाद स्थापना गर्ने प्रपञ्च रच्छन् । डेमागगको उद्देश्य जसरी भए पनि सत्तामा पुग्नु हो । तिनीहरूको कार्य प्रणाली (मोडस् अपरान्डी) लोकतन्त्र र अर्थतन्त्रमा भएका कमीकमजोरीहरूलाई कोट्याउँदै देश÷राज्यमा विकराल समस्या भएको देखाउनु र त्यसको समाधान आफूसँग मात्रै छ भनेर आफ्ना अल्पज्ञानी र छिट्टै उत्तेजित हुने समर्थकहरूलाई विश्वास दिलाउनु हो ।

नेपालमा अहिले हुर्किरहेका डेमागगहरू पनि ‘नेताहरूले हीरा र स्वर्गजस्तो देशलाई डुबाए, बर्बाद पारे’ भन्दै नयाँ सपना बेचिरहेका छन् । जबकि सर्वसाधारणका लागि यो देश कहिल्यै हीरा र स्वर्गजस्तो थिएन । डेमागगहरू अप्रत्यक्ष तरिकाले आफूलाई मसिहाको रूपमा प्रस्तुत गर्छन् र आफ्नाअगाडि पछाडि त्यस्तो खालको भीड जम्मा गर्छन्, जसले तिनीहरूलाई भगवान्कै अवतार ठान्छन् । डेमागगका अन्धभक्तहरूलाई तिनको हरेक शब्द कर्णप्रिय लाग्छ, हरेक वाक्य शतप्रतिशत सही लाग्छ । डेमागगहरूले सोच्ने क्षमता अतिभन्दा अति कम भएका श्रोताहरूले समेत आफ्ना कुरा बुझून् भन्ने ठानेर अति सरल शब्दहरू प्रयोग गर्छन् । तिनीहरू भावनात्मक रूपमा ‘चाज्र्ड’ नाराहरू प्रयोग गर्छन्, ता कि श्रोताहरू उत्तेजित भएर विपक्षी या समस्याप्रति आक्रोसित बनून् । गड्गडाहट ताली बटुल्न यिनीहरू प्रतिद्वन्द्वीहरूलाई तुच्छ भाषामा गाली गर्छन् । तिनीहरूलाई थाहा हुन्छ कि तिनीहरूका समर्थकहरूलाई त्यस्तै गाली मन पर्छ । जस्तैः ‘लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ ।’

सन् १९३० को दशकमा एडोल्फ हिटलरले प्रथम विश्वयुद्धमा जर्मनी हार्नुको दोष यहुदीहरूमाथि लगाए र परम्परागत रूपमा जर्मनहरूको यहुदीहरूप्रतिको नकारात्मक भावनालाई उक्साएर घृणा र आक्रोसमा परिणत गरे । उनले त्यस समयको जर्मनहरूमा भएको उग्र राष्ट्रवादको भावनालाई झनै उक्साएर जर्मनहरू नै संसारमा सर्वश्रेष्ठ जाति हुन् र विश्वमा राज्य गर्ने अधिकार उनीहरूलाई मात्रै छ भन्ने विश्वास दिलाए । उनले छिमेकी देशहरूकै कारण जर्मनीको दुर्दशा भएको र तिनीहरूलाई आफ्नो अधीनमा नल्याई जर्मनी उँभो लाग्दैन भन्ने विश्वास दिलाए । उनी भाषण गर्नमा यति पोख्त थिए कि उनको भाषणले क्षणभरमै उनको झूटहरूमा किञ्चित मात्रै पनि विश्वास गर्ने जो कोहीको रगत उमाल्न सक्थ्यो । यसरी जर्मन जनतालाई उक्साएर र भड्काएर सन् १९३३ को आमचुनाव जितेपछि हिटलरले के गरे भन्ने कुराको साक्षी इतिहास छ । विश्वका डेमागगहरूको सूचीमा हिटलरको नाम पहिलो नम्बरमै पर्छ ।

सन् २०१६ को संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले नश्लवादी–गोरा–अमेरिकीहरूको आप्रवासी तथा उदार विचार बोक्ने अमेरिकीप्रतिको नकारात्मक भावनालाई उक्साएर आक्रोसमा परिणत गरे । अल्पसङ्ख्यक बन्दै गएका कट्टर क्रिश्चियनहरूलाई भड्काएर उनले आफ्ना प्रतिद्वन्द्वीहरूलाई तुच्छ शब्दमा गाली गरेर आफ्ना समर्थकहरूको ताली बटुले । झूटैझूटको पुल बाँधेर अर्धशिक्षित अमेरिकीहरूको ठूलो समूहलाई (उनकै शब्दमा भन्ने हो भने ‘पुअर्ली एडुकेटेड’) आफ्नो पक्षमा पारे र चुनाव जिते । सन् २०२० मा उनले चुनाव हारेपछि उनको इसारामा उनका समर्थकहरूको भीडले अमेरिकी संसद् भवनमा आक्रमण ग¥यो । हिटलर र ट्रम्प दुई उदाहरण मात्रै हुन् । विश्वका सबैजसो देशमा यस्ता डेमागगहरू पहिले नै अस्तित्वमा छन् र कतै उम्रँदै छन् । तीमध्ये केहीले सत्ता कब्जा गरेर आफूलाई तानाशाह बनाएका छन्, केहीले लोकतन्त्र मास्ने काम गरेका छन्, केहीले देशलाई गृहयुद्धतिर धकेल्ने काम गरेका छन् । सत्ता हातमा परेपछि यस्ता नेताहरूले आफ्नो सच्चा रूप (ट्रु कलर्स) देखाउँछन्, तर त्यति बेलासम्म भने समय घर्किसकेको हुन्छ । जनताले चाहेर पनि डेमागगलाई सत्ताबाट सहजै हटाउन सक्दैनन् ।

हाम्रो देशमा केही दशक पुरानो लोकतन्त्रले देशको अर्थतन्त्र र आम मान्छेका हुर्कंदा सपनालाई अपेक्षितरूपमा अगाडि बढाउन नसकेपछि त्यसकै ओसमा औँशेकीरा अर्थात् डेमागगहरू स्याउँस्याउँती उम्रेका छन् । डेमागगहरू गएको ३० वर्षमा देशले हरेक क्षेत्रमा विशाल फड्को मारेको कुरा गर्दैनन् । देश र समाज मध्य युगबाट आधुनिक युगमा प्रवेश गरेको कुरा गर्दैनन् । ३० वर्षअघि ८० प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए, आज २० प्रतिशतभन्दा कम नेपाली गरिबीको रेखामुनि छन् । त्यो कुरा गर्दैनन् । ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो ‘तन्केर’ ८० हजार किलोमिटर पुगेको छ । डेमागगहरू त्यो कुरा गर्दैनन् । उनीहरू बहुदलीय सरकारले एउटा जुत्ता कारखाना बेचेको कुरा गर्छन् । तर, देशमा सयौँ जुत्ता कारखाना खुलेको कुरा गर्दैनन् । देशमा भइरहेका विकासका अनगिन्ती कामहरूको कुरा गर्दैनन् । कुनै बेला देश केवल एउटा परिवार, तिनका नातेदार र तिनकै चाकरीबाजहरूको हातमा थियो । तिनीहरूले जे चाह्यो त्यही हुन्थ्यो, अरू सबै निरीह बनेर टुलुटुलु हेरेर बस्नु पथ्र्यो । विभेद र अन्याय अहिले पनि होलान्, तर पहिलेका तुलनामा आज सम्भावनाका ढोका धेरैका लागि खुलेका छन् । तर, डेमागगहरू त्यो कुरा गर्दैनन् । उनीहरू गर्छन् त केवल ‘देश डुब्यो, नेताहरूले देश डुबाए, हामीले मात्रै देशलाई बचाउन सक्छौँ ।’

‘डेमागग इन्डिकेटर’
१. अनेक तिकडमयुक्त, तोडमरोडयुक्त र काल्पनिक कुरा गरेर सर्वसाधारणको भावनालाई आफ्नो पक्षमा पार्न डेमागगहरू सिपालु हुन्छन् । तिनका कुरा झट्ट सुन्दा सही र मीठो लाग्छ, तर तिनका धेरैजसो कुरा तथ्यपूर्ण हुँदैनन् । केही तथ्यमा धेरै झूटका फूलबुट्टा भरेर उनीहरू जनतालाई आफ्ना विपक्षीप्रति त्रस्त बनाउँछन् । 

२. उनीहरू समाजमा व्याप्त पूर्वाग्रहलाई प्रयोग गर्दै सर्वसाधारणलाई भड्काउन माहिर हुन्छन् । हिटलरले यहुदीहरूप्रतिको पूर्वाग्रह र ट्रम्पले आप्रवासीहरूप्रतिको पूर्वाग्रहलाई प्रयोग गरेर चुनाव जितेका थिए । भारतमा नरेन्द्र मोदीले ‘हिन्दू धर्म खतरामा परेको’ भन्दै देशका लागि त्यही ‘समस्या’ ठूलो रहेको भाष्य प्रयोग गर्दै बलशाली शासकका रूपमा स्थापित भए र अहिले रजाइँ गर्दैछन् ।   

३. उनीहरू समस्याहरूको सजिलो समाधान प्रस्तुत गर्छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यिनीहरूका कुरा सुन्दा यस्तो लाग्छ कि सबै समस्याका जड पुराना नेता हुन् र तिनीहरूले चुनाव जित्नासाथ सबै समस्याहरू एकाएक गायब हुन्छन् ।

४. उनीहरू डर र त्रासको वातावरण सिर्जना गर्न सिपालु हुन्छन् । देश डुब्यो, अर्थतन्त्र तहसनहस भयो, भोलिबाट कसैको घरमा भात पाक्दैन जस्ता मनगडन्ते कुरा गरेर डर र त्रासको वातावरण सिर्जना गरेर मान्छेहरूमा असन्तोष पैदा गर्न यिनीहरूले जानेका हुन्छन् ।

५.  प्रतिद्वन्द्वीहरूलाई तथानाम र तुच्छ गाली गर्नमा यिनीहरू अरूभन्दा दुई कदमअघि हुन्छन् । विपक्षीलाई झुटो आरोप लगाउने यिनीहरू सानो गल्तीलाई पनि बढाइचढाइ गरेर विशाल पहाडै बनाइदिन्छन् । विपक्षीलाई भौतिक आक्रमण गर्न आफ्ना समर्थकहरूलाई उक्साउँछन् ।

६. यिनीहरू ‘म पनि सर्वसाधारण नै हुँ, म र तपाईंहरूमा केही पनि फरक छैन, मलाई तपाईंहरूले नै बनाउनु भएको हो’ जस्ता झूट बोलेर तिनीहरू सर्वसाधारणहरूको मन जित्न सिपालु हुन्छन् । सार्वजनिक खपत या देखावाका लागि सर्वसाधारणका घरमा गएर खाना खाने र खेतबारीमा पुग्ने अभ्यास गर्ने यिनीहरूको वास्तविक जीवन, उठबस र रहनसहन भने सर्वसाधारणको जस्तो हुँदैन ।

७. पत्रपत्रिका तथा मूलधारको मिडियाले धेरै हदसम्म वास्तविकताको पर्दाफास गरेर सबैसामु सत्य कुरा ल्याइदिने हुनाले डेमागगहरू मिडियामाथि आक्रमण गर्छन् । ठूला व्यापारी र विदेशी खुफिया एजेन्सीहरूको पैसाले मिडिया चलेको आरोप लगाउँछन् । यद्यपि, त्यसको पुष्टि गर्न सक्ने आधार र प्रमाण यिनीहरूसँग हुँदैन ।

असल नेताको कर्तव्य देश र समाजलाई सही बाटोमा लैजानु हो, चाहे त्यो बाटो जति नै कष्टकर होस् । भीडले जता जान चाह्यो उतै लैजानेहरूचाहिँ डेमागग हुन् । भीड सधैँ गलत बाटोमा हिँड्न खोज्छ, किनभने त्यहाँ बुद्धि प्रयोग गर्ने र तर्क गर्ने सक्ने मानिसको कमी हुन्छ । विद्वान र असल जनहरू भीडमा नभएर विवेक र समस्याको वस्तुनिष्ठ विश्लेषण र समाधानमा जान्छन् ।

अतः समयमै डेमागगहरूको पहिचान गरेर लोकतन्त्र र र देशलाई गलत दिशामा जानुबाट बचाउनु हाम्रो कर्तव्य हो । कानूनी राज्यको रक्षा गर्नु आजको आवश्यकता हो ।
(उकालो डटकम)