आचार, विचार र व्यवहारमा ५८ वर्षदेखि कम्युनिष्ट आदर्शमा बाँचेका विचारी उराँव गुमनाम छन् । वि.सं. १९९७ सालमा सुनसरीको पश्चिम कुसाहामा जन्मिएका उराँव उमेरले ८३ वर्ष लागे । शारीरिक अवस्थाका कारण सक्रिय हुनसक्ने अवस्थामा छैनन् । उनका सहयोद्धाहरू धेरै बाँकी छैनन् । सक्रिय राजनीतिको मूलप्रवाहमा रहेर जिम्मेवारी निभाइरहेकाहरूले विचारी उराँवबारे जानकारी भए पनि भेटघाट हुनसकेको छैन । पछिल्लो पुस्ताले आन्दोलनमा पुराना पुस्ताको योगदान बारे खासै चासो राख्न छाडिसकेका छन् । त्यस कारण पनि विचारीलाई चिन्ने कुरै भएन ।
विचारी उराँव कम्युनिष्ट आन्दोलनमा टुटफुट, विभाजन र सङ्कटका समयका साक्षी हुन् । कम्युनिष्ट योद्धाहरू काढ्ने, संरक्षण गर्ने, हुर्काउने बढाउने ओथारा हुन् । थुप्रै कमरेडहरूका सेल्टरदाता हुन् । ती दिनहरूको स्मरण गर्दै उनले सुनाए, ‘यही ठाउँ हो, पहिले गुँड जस्तै, झिक्राले बनेको झुपडी थियो । धेरै कमरेडहरूका लागि सेल्टर थियो ।’ पहिलेको गुँडको ठाउँमा अहिले छोराहरूले कटेरो बनाएका छन् । खासै धेरै परिवर्तन छैन । यो घर वामपन्थी विचारको विस्तार गर्ने थलो हो । कोसी गाउँपालिका वडानम्बर २ झापा टोल साविक पश्चिम कुसाहाका उनै विचारी उराँव वाम आन्दोलनमा आफूले गरेका कामहरू सम्झिरहेका छन् । समाजवादको सपना बोकेर आन्दोलनमा बिताएका आफ्ना ऊर्जाशील जीवनका पानाहरूलाई पल्टाइरहेका छन् ।
गरिब परिवारमा जन्मिएका उराँवले १५ वर्षकै उमेरमा भिख्नीदेवीसँग विवाह गरे । राजेन्द्र, भूवनेश्वर, विशेश्वर, धनबहादुर र विन्देश्वर गरि ५ भाइ छोराहरू र एक छोरी उर्मिलाको अभिभावकत्वसँगै वाम आन्दोलनको अगुवाइ गरे । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेको घटनामा पार्टीका महासचिव केशरजङ रायमाझी राजाको कदमको पक्षमा लागेपछि पार्टीमा उथलपुथल भयो । पार्टीभित्र थुप्रै विचार समूहहरू बने । उनले कृष्ण वर्मा समूहमा रहेर काम गरे । पार्टी र त्यस समूह भित्रसमेत गुट उपगुट र विभिन्न समूहको तानातानमा परेपछि मनमोहन अधिकारीको माक्र्सवादी समूहमा जोडिँदै २०४७ सालमा माले र माक्र्सवादीबीच एकीकरण भएर एमाले बनेपछि उनीस् अहिलेसम्म निरन्तर एमालेमा छन् ।
नेकपा (एमाले) को प्रारिम्भक समयमा सुनसरी जिल्ला सदस्यसमेत भएर काम गरेका विचारी उराँव सास रहुन्जेल एमाले भएर बाँच्ने अठोटका साथ पार्टीका हरेक कामलाई नजिकबाट हेरिरहेका छन् । अहिले उनको परिवारै एमाले छन् । उनको बुहारी अनिता उराँव एमाले सुनसरी जिल्ला कमिटी सदस्य छिन्, छोरो धनबहादुर उराँव कोसी गाउँ कमिटी सचिवालय सदस्य छन् । परिवारका अन्य सदस्यहरू पनि एमालेमै छन् र भन्छन् एमाले हुनुमा गर्व छ ।
विचारीको कम्युनिष्ट यात्राः
‘त्योबेला बस्ती पातलो थियो, चारैतिर जङ्गलैजङ्गल थियो । पूर्व–पश्चिम सडक बनेकै थिएन, पढ्नका लागि विद्यालय थिएन । हाम्रो काम गाई, भैँसी चराउने, हलो जोत्ने हुन्थ्यो । स्कुल नदेखेका, पढ्न नपाएका म जस्ता अरू पनि थिए र हामीलाई पढाउनका लागि भन्दै भारतको विहारबाट मथुराप्रसाद सिंह नामको मास्टर हाम्रो गाउँमा आएका थिए । उनी हाम्रै गाउँमा बस्थे । हामीलाई अक्षर चिनाउने काम उसैले गरेका हुन् । कक्षापछि उनी सधैँ एउटा महŒवपूर्ण काम छ, म जान्छु भन्थे । के काम भन्दा क्लास छ, बैठक छ भन्थे । उनी प्रायः जमुवाबाट नहरको बाटो र जङ्गलको बाटो हिँड्थे । एक दिन म पनि जान्छु भनेँ, सुरुमा उनले मानेका थिएनन् तर, मैले जान्छु भनेपछि उनीसँगै गएँ । उनले हरिपुर पु¥याए, त्यहाँ ऋषिदेव मुसहर, रामनाराण (थर याद भएन) भोला कमरेड (थर थाहा भएन) र पौडेल कमरेड (नाम बिर्सें) सँग भेट गराए । जनवाद ल्याउनु पर्छ, त्यो भनेको किसानहरूको राज्य हो, मजदुरहरूको राज्य हो, जमिन जोत्नेको हुनुपर्छ, सामन्तहरूलाई अन्त्य गर्नु पर्छ र त्यो काम कम्युनिष्ट पार्टीले गर्छ भनेपछि मैले पनि आजदेखि म कम्युनिष्ट हुन्छु भन्ने निर्णय गरेँ र कमरेड भनेको साथी हो, हामी सबै समान हौं, जात, धर्म ठूलो होइन, गरिब किसान र मजदुरको पार्टी कम्युनिष्ट हो भन्ने क्लास पाएपछि मलाई त्यस कुराले साह्रै प्रभावित बनायो ।
किनभने हाम्रो गाउँमा लक्ष्मीबाबु भन्ने जमिन्दार थियो, त्यो जमिन्दारको गाउँमा रजगज थियो, हामीलाई जोत्न लगाउँथ्यो तर, बनि (तोकिएको अन्न) दिँदैन थियो । सोझा सिधा किसानहरूको जग्गा विभिन्न नाममा हडपिन्थ्यो । हामीले फोकटमा जोतिदिनु पथ्र्यो । जमिन्दारको शोषणले पनि मलाई कम्युनिष्ट बन्न बाध्य बनायो र मैले २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएँ ।’
टुटफुट र गुटले कम्युनिष्ट कमजोरः
मेरो घर पार्टीको काम र नेतृत्वको केन्द्र थियो । पार्टीका नेताहरू मेरो घरमै आउँथे, पार्टी जिल्ला कमिटीको बैठक पनि मेरै घरमा हुन्थ्यो । पार्टीका दस्तावेजहरू मेरैमा सुरक्षित राखिएका थिए । रायमाझी कारबाहीमा परेपछि विष्णु मानन्धर, कृष्ण वर्माहरूले पनि फरक समूह बनाएका थिए । विष्णु मानन्धर त मेरो घरमै आएर मलाई साथ दिनुप¥यो भनेर फकाउँथे । तर, मैले टुटफुट, विभाजन र गलत कामको जहिल्यै विरोध गरेँ । कतिपय नेताहरूको विवादको विषय रुसले विद्यार्थीलाई दिने छात्रवृत्तिमा कुन नेताको छोराछोरी पठाउने र कसले पहिले पठाउने भन्नेमा पनि थियो । त्यसको मैले विरोध गरेँ । त्यस्तै झापामा भएको २०२८ सालको विद्रोह पनि समयसापेक्ष होइन, भनेको थिएँ । मेरो बुझाइ के थियो भने हत्याहिंसाभन्दा प्रजातान्त्रिक विधिबाट कम्युनिष्टहरूले सबैको मन जित्नु पर्छ भन्ने हो । २०१९ सालदेखि करिब २०३५–३६ सालसम्म आइपुग्दा धेरै कम्युनिष्ट पार्टीहरू बनिसकेका थिए । त्यहीबेलादेखि कम्युनिष्ट पार्टीमा टुटफुट भइरहेको छ । अहिले पनि नयाँ पार्टी बन्ने र फुट्ने क्रम रोकिएको छैन ।
स्वअध्ययनले सही ठाउँमा ल्यायोः
मेरो उमेरको ९ देखि १३ वर्षको उमेरसम्म पढेको हो । त्यसपछि मैले स्वअध्ययन गरेको हो । भारतीय किताबहरू पढेको छु, माक्र्सवादसम्बन्धी पुस्तकहरू र रसियन प्रकाशनका पुस्तकहरू पढेको छु । त्यो समय मलाई धरानका बिए कृष्ण श्रेष्ठले पुस्तक ल्याइदिन्थे, धेरै पुस्तकहरू र कागजातहरू मेरोमै छाड्थे । धरानकै देवराज अधिकारीले पुस्तकहरू ल्याइदिन्थे । देवराज अधिकारी प्रायः मेरो घरमा आइरहने र पुस्तक तथा पत्रपत्रिका ल्याइदिनेमा पर्छन् । देवराज अधिकारी मेरोमै बास बस्थे, म पनि धरान जाँदा देवराज अधिकारीकै घरमा बस्थेँ । तिनै पुस्तक र पत्रपत्रिकाको अध्ययनले मलाई विचार बुझ्न सजिलो भयो । दृष्टिकोण बनाउन मद्दत पुग्यो । सुनसरीको प्रकाशपुर, श्रीपुर, हरिपुर भोक्राहा, मधुवनमा हाम्रो पकड राम्रो थियो । हामी जिल्लाका प्रायः सबै स्थानहरूमा जान्थ्यौँ । राति राति पार्टीका काम गथ्र्यौं । वंशी मोक्तान, डम्बर बुढाथोकी, गणेश ठाकुर, कमलदेव मेहता, कदमलाल उराँव, सप्तरीका कमरेडहरू त्यस समयका सक्रिय कमरेडहरू हुन् ।
पछि माक्र्सवादी ठीक छ भन्ने निष्कर्षमा म पुगेँ । माक्र्सवादीमा म मात्रै होइन, धेरैजनाको कुरा मिल्यो । माक्र्सवादी र मालेबीच एकीकरण भएर नेकपा (एमाले) बनेपछि नेकपा (एमाले) शक्तिमा मात्रै होइन, दृष्टिकोण, विचार र जबजको जगमा यो नै देशले खोजेको पार्टी बनेको छ भन्ने विश्वास छ ।
विचारीको चिन्ताः
मजदुर, किसान, सुकुम्बासी र गरिखाने जनताको विषयमा पार्टीले ध्यान कम दिएको हो कि जस्तो देख्छु । अहिलेका नेतृत्वमा माथिका नेतादेखि तलका नेता, कार्यकर्तासम्म अनुशासनको कमी देख्छु । पार्टीको नीति, नियम र विचारलाई बोक्ने नेताहरू कमै देख्छु । यो राम्रो होइन । यसरी समाजवाद ल्याउन सकिँदैन । हामीले काम गर्दा अनुशासन कडा थियो । आचार, विचार र व्यवहार कम्युनिष्ट चरित्रको हुन्थ्यो । पार्टीको नीति, विचार र सिद्धान्त विपरीत हिँड्यो भने कारबाही हुन्थ्यो । अहिलेका नेताहरू औधी नै लोभीजस्तो लाग्छ । पार्टीको पद चाहिने, लाभको पद पनि चाहिने, नेतृत्वमा पनि निरन्तर बसिरहनु पर्ने । पार्टीमा लामो समय काम गर्नेहरूलाई वास्ता नगर्ने, यस्तो पाराले पार्टी बलियो हुँदैन । यसलाई सच्याउनु पर्छ ।
नेता, कार्यकर्ताहरूले अध्ययन गर्न छाडेः
उनले दुईवटा पुराना काठको बाकसको ताला खोल्दै पुराना पुस्तकहरू देखाए । त्यहाँ बोल्सेविकको इतिहास, इतिहासलाई फर्केर हेर्दा, रसियन प्रकाशनहरू देखाउँदै भने अहिलेका नेता कार्यकर्ताहरूले पुस्तक पढ्न छाडे । अध्ययन नै नगरी टापटिपे कुरा गरेर नेता भइरहेका छन् । राजनैतिक वैचारिक अध्ययन विना नेता हुन त सकिएला तर, नेतृत्व गर्न सकिँदैन । सङ्ख्या बटुलेर मात्रै पार्टी बन्दैन, विचारसहितको नेतृत्व र पार्टी बनाउनु पर्छ ।
पार्टीसँग केही अपेक्षा छैनः
मेरो उमेरले डाँडा काटिसक्यो, म कतिखेर खोला जानुपर्छ थाहा छैन । मैले मेरो पूरै जीवन जानी नजानी कम्युनिष्ट आन्दोलनमा लागेर बिताएँ । पार्टीसँग मेरो केही अपेक्षा छैन । पार्टी बलियो बन्नुपर्छ मेरो अपेक्षा यति नै हो ।