भद्रपुर । केही दिनअघि दक्षिणी झापाको कचनकवल गाउँपालिका–४ स्थित पूर्वी लोदाबारी नाकाबाट ठूलो परिमाणमा चाइनिज स्याउ बरामद गरेको घटनाको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराह बाहिनी मुख्यालय सुनसरीको नेतृत्वमा छानबिन सुरु गरेको हो ।
चाइनिज स्याउ तस्करी घटनाको बारेमा सशस्त्र प्रहरी बल वराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले बाहिनीका एसपी विक्रम हुमागाईंको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् ।
एसपी हुमागाईं नेतृत्वमा खटाइएको टोलीले झापामा आएर छानबिन सुरु गरिसकेको डिआइजी पोखरेलले जानकारी दिए । टोलीको प्रतिवेदन आइसकेपछि सार्वजनिक गरिने उनले बताए । एसपी हुमागाईंसहितको टोलीले घटनाको छानबिन गरिरहेको बताउँदै डिआइजी पोखरेलले स्याउ तस्करी घटनामा छानबिनको क्रममा संलग्नता रहेको पाइएमा बाहिनी तानेर दोषीमाथि विभागीय कारबाही गरिने उनले जानकारी दिए । चोरी तस्करी निर्मूल पार्ने अभियानमा सङ्गठन लागिपरेको उनको भनाइ छ । बाहिनी हाजिर भएपछि मातहातका कार्यालयहरूमा निरीक्षण गरिरहेको उनको भनाइ छ । कतिपय कर्मचारीलाई शुद्धीकरणको तालिम दिइरहेको उनले बताए । सीमाक्षेत्र धेरै भएको तर, जनशक्ति थोरै भएका कारण पनि समस्या हुँदै आएको उनको भनाइ छ ।
टोलीले सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीका डिएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचनाका इन्स्पेक्टर ओकिल धानुकसँग घटनाको बारेमा सोधपुछ गरेको थियो । सीमा सुरक्षा गुल्म घेराबारीका डिएसपी शर्माको मातहतमा नै बिओपी केचना पर्छ । बिओपी केचनानजिकैको पूर्वी लोदाबारी नाकाबाट केही दिनअघि ठूलो परिमाणमा स्याउ तस्करी भएको थियो ।
कचनकवल नाकाबाट स्याउ तस्करी भइरको जानकारी डिआइजी पोखरेलले आइतबार मात्र थाहा पाएका थिए । त्यसपछि डिआइजी पोखरेलको ठाडो निर्देशनपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले आइतबार बेलुका मे.१ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको १ सय १५ कार्टुन चाइनिज फुजी स्याउ बरामद गरेको थियो । स्याउ लोड गरिएको गोदामको पनि पहिचान भएपछि डिआइजी पोखरेलले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीमार्फत् राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदाबारीस्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४ सय ५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको थियो । बरामद गरिएको जम्मा ५ सय ७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी अनुमानित १५ लाख रुपैयाँ मूूल्य कायम गरी सोमबार राजश्वलाई बुझाइसकेको छ ।
यता राजश्वले पनि घटनाको बारेमा छानबिन सुरु गरिसकेको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । प्रतिवेदन तयार गरेर विभागमा पठाइसकिएकोले प्राप्त विभागको प्रतिवेदनका आधारमा स्पष्ट हुने उनको भनाइ छ । कृषिजन्य वस्तु कुहिने भएकोले स्याउ लिलामको प्रक्रियामा जाने र त्यो सँगसँगै आवश्यक छानबिन पनि हुने उनले बताए ।
केचना, राजगढ, घेराबारी, पाठामारी, पृथ्वीनगर, किचक बधलगायतका नाकाबाट समयअनुसारका सामग्रीको तस्करी हुने गरेको छ । बब्लु, जब्बर, तुलाराम, जयनारायणलगायत दर्जनभन्दा बढी कारोबारीहरूले भारतीय कारोबारीसँग मिलेर सुरक्षाकर्मीलाई खुसी पार्दै लुट मच्चाइरहेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।