धरान । धरान–१५ स्थित ङाग्युर ङिङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बाले २५६७ औँ बुद्ध जयन्तीको अवसरमा धरान नगर परिक्रमा गर्दै बुद्ध सन्देश प्रवाह गरेको छ । 

शुक्रबार गुम्बा परिसरबाट सुरु भएको र्याली धरान नगरका विभिन्न चोकहरू पुगी पुनः गुम्बामा आई कार्यक्रममा परिणत भएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कवि सुदीप पाख्रिन र प्राज्ञ विष्णु मोक्तानलाई सम्मान–पत्रले सम्मानित गरिएको छ । 

यसबीचमा गुम्बामा रहेका ३५ जना लामाहरूले त्रिपिटक वाचन गरेका थिए । सातदिनसम्म वाचन गरिएको उनले जानकारी दिए । यसैबीच चार दिनअघि रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । गुम्बाका अध्यक्ष लोकबहादुर थिङको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । गुम्बामा लामा अध्यापन पनि हुँदै आएको छ ।

यस्तै धरानका अन्य गुम्बाहरूले पनि संयुक्त रूपमा र्याली आयोजना गरेका छन् । धरान–८ स्थित बुद्ध विहार र शेर्पा गुम्बाको अगुवाइमा ¥याली आयोजना गरिएको थियो । बुद्ध विहारअन्तर्गतको ज्ञानमाला सङ्घले कार्यक्रम आयोजना गरेको हो । यसक्रममा स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो ।