धरान । सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा लागेको सिरुवा मेलाबाट एक महिलालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।
गढी गाउँपालिका–२ की ३८ वर्षीया जमिन खातुनले एक पसलमा सामान खरिद गरेपछि एक हजार दरको नोट दिएपश्चात् पसलेलाई शङ्का लागी प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको साथबाट नेपाली एक हजार र पाँच सय रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको छ ।
उनलाई बिहीबार मेला क्षेत्रबाटै पक्राउ गरिएको हो । मेलामा सामान किन्ने क्रममा उनले नक्कली नोट दिएकी थिइन् । प्रहरीले उनलाई खानतलासी गर्दा एक हजार दरका छ थान र पाँच सय रुपैयाँ दरको २२ थान नक्कली नोट बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बाट एक महिला र पुरुषलाई पक्राउ गरिएको छ । टोखा नगरपालिका–७ बस्दै आएकी सम्झना गहतराज र बाँके नेपालगञ्ज घर घई काठमाडौँ बस्दै आएका सादाहय हलुवाईलाई नक्कली नोटसहित पक्राउ गरेको हो । काठमाडौँको प्रहरी वृत्त बौद्धबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गहतराजले रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट दिएपछि विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।
त्यही क्रममा गहतराजलाई सोधपुछ गर्दा हलुवाई पनि पक्राउ परेका हुन् । काठमाडौँ गौशाला प्रहरी वृत्तका अनुसार १ हजार दरका नक्कली नोट ४९ वटा, प्रिन्ट गरेर काट्न बाँकी एक हजार दरको १ सय २६ वटा, तयारी ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न बाँकी रहेको ५ सयको नोट ६० वटासहित सामानहरू बरामद गरिएको छ । उनीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।