विजयपुर । धरान रन समूहले सामुदायिक विद्यालयका विद्याथीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

शनिबार भानुचोकस्थित कार्यालयमा कार्यक्रम गरी १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । समूहले नेवा एजुकेशन फण्डबाट विद्यार्थीहरूलाई पोसाक, ट्रयाकसुट, कापी, कलम, क्याल्कुलेटर, झोला, शब्दकोश किताब, जुत्तामोजालगायतका सामग्री वितरण गरेको हो । धरान रन समूहका अध्यक्ष रमु राईले १२ जना विद्यार्थीलाई ४० हजार रुपैयाँको शैक्षिक सामग्री प्रदान गरेको बताए । उनले भने,  ‘प्रतिविद्यार्थी ३ देखि ४ हजार रुपैयाँको शैक्षिक सामग्री दिएका छौँ ।’

‘धरान १० के रनको नेवा च्यारिटी दौड प्रतियोगिता’ संस्करणबाट सङ्कलित रकमबाट अक्षय कोष राखिएको छ । सोही नेवा एजुकेशन फण्डको त्रैमासिक  ब्याजबाट छात्रवृत्ति प्रदान गर्दै आएको छ । कोषमा १२ लाख रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईले शैक्षिक सामग्री वितरण गरे । उनले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु सह्रानीय भएको बताए ।

शैक्षिक सामग्री शिक्षासदन मावि कक्षा १० का पासाङ तामाङ, पञ्चकन्या मावि कक्षा ५ का समर्पण राई, किरातेश्वर मावि कक्षा ८ का मनिता घतानी, कक्षा ६ की नेहाम कार्की, पञ्चायत मावि कक्षा ७ की उषा राई, भानुस्मृति मावि कक्षा १० का आनु राई, निकेतन मावि कक्षा ८ की नमुना श्रेष्ठ, कक्षा ६ का तोहिद अन्सारी, सम्यक आधारभूत विद्यालय कक्षा ३ का सोया लामा, निम्न माविका कक्षा ६ निहाङ राई, ज्ञानोदय मावि कक्षा ६ की समृद्धि मगर, ल्यावोरेटरी मावि कक्षा ८ का विशाल देवलाई प्रदान गरिएको छ ।