सामाजिक सञ्जालले सञ्चार र सूचनाको उपभोग गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गरेको छ । यसको सहायताले संसारभरका अर्बौं प्रयोगकर्ताहरू कुनै व्यक्ति विशेष, व्यवसाय, विचारधारासँग आबद्ध भएका छन् र त्यसलाई स्थापित गराएका छन् । यद्यपि जोसुकैले चाहँदैमा सामाजिक सञ्जालमा आफै स्थापित हुने भन्ने चाहिँ हुँदैन । सामाजिक सञ्जालमा प्रयोगकर्ताको प्रयोगविधि, रोजाइ, प्रतिक्रिया, पहुँच आदिले थाहै नपाई कुनै ब्रान्डको परिचय स्थापित गर्नको लागि गुणात्मक रूपमा सहयोग गरिरहेको हुन्छ । यस्तोमा रातारात कुनै व्यक्ति वा ब्रान्डको उदय हुनु र त्यसैलाई देवत्वकरण गरिनु स्वभाविक देखिन्छ । यस आलेखमा सामाजिक सञ्जालको प्रयोगले कुनै राजनैतिक व्यक्तित्व कसरी रातारात चर्चित हुन्छन् र यसो हुनुमा स्वयम् उसको क्षमताभन्दा पनि प्रयोगकर्ताको व्यवहार कसरी जिम्मेवार हुन्छ, त्यसबारेमा चर्चा गरिन्छ ।
सेलेक्टिभ पोष्टिङः यो एउटा सामान्य रणनीति हो, जुन नियोजित रूपमा भन्दा पनि मानवीय गुणको आधारमा लागू हुन्छ । एउटा सामान्य प्रयोगकर्ता साधारण अवस्थामा आफ्नो जीवनको नकारात्मक वा असफलताको कथा शेयर गर्न रुचाउँदैन, जुन कुरा स्वभाविक हो । तर, यही कुरा एउटा सार्वजनिक व्यक्तित्वले आफ्ना समस्त कमीकमजोरी लुकाउन प्रयोग गरिरहेको हुन्छ । यस्तोमा फलोवर्सहरूको वृद्धिसँगै नजानिँदो तरिकाले सामाजिक सञ्जालमा देवत्वकरण सुरु हुन्छ । नकारात्मक सोच र प्रवृत्तिहरू भएका पात्रहरूको बीचमा राम्रै राम्रा कुराले भरिपूर्ण एउटा व्यक्तिको उदय समाजलाई प्रिय लाग्न थाल्छ ।
फिल्टर बबलः सोसल मिडिया एल्गोरिदमहरूले प्रयोगकर्ताको विगतको व्यवहार र रुचिहरूमा आधारित सामग्री फिल्टर गर्ने तथा प्रयोगकर्ता तिनीहरूमा संलग्न हुनसक्ने सामग्री मात्र देखाउने प्रक्रियालाई फिल्टर बबल वा इको च्याम्बर भनिन्छ । उदाहरणका लागि यदि कुनै प्रयोगकर्ताले निर्दलीयता सम्बन्धी पोष्टहरूमा रुचि देखाउने गर्दछ भने उसले खोजेर नहेरुञ्जेल उसको टाइमलाइनमा बहुदलीय विचारधारासम्बन्धी पोष्टहरू ‘सजेष्ट’ गर्दैन । जसले गर्दा उसको विचारधारा साँघुरो तथा एकतर्फी हुने गर्दछ । सोसल मिडिया एल्गोरिदमको यही सुविधा राजनीतिज्ञको देवत्वकरणको तहमा पुग्छ र साधारण प्रयोगकर्ता उसको कमजोरीका बारेमा अनभिज्ञ रहन्छ ।
गुमनाम परिचयः सामाजिक सञ्जालसँग सम्बन्धित सबैभन्दा ठूलो जोखिम भनेको आफ्ना विरोधीहरूलाई दबाउने फेक अकाउन्टको प्रयोग हो । यसको प्रयोगले विपरीत विचार प्रस्तुत गर्नेलाई व्यक्तिगत आक्रमण र निरुत्साहित गर्ने गर्दछन् । परिणामतः कुनै ब्रान्डको सोसल मिडिया पोष्टमा राम्रा राम्रा कमेन्टहरू मात्र आउने गर्दछन् । त्यसमा पहिलोचोटि कमेन्ट पढ्नेको मनमा यसै सकारात्मक भावना उत्पन्न हुन्छ । यसबाहेक गुमनाम परिचय सामाजिक सञ्जाल ट्रोलिङ, उत्पीडन र साइबर बुकिङसहित विषाक्त व्यवहारको लागि क्रीडास्थल हुनसक्छ । गुमनाम वा नक्कली पहिचानको पछाडि लुकेर राजनीतिज्ञहरूले नकारात्मक प्रचारमा संलग्न भएर वा आफ्ना विरोधीहरूलाई अनलाइन आक्रमण गरेर आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्छन् । यसले लक्षित व्यक्तिहरूका लागि मात्र नभई राजनीतिक बहसको समग्र स्वरमा पनि गम्भीर परिणाम ल्याउन सक्छ ।
विपक्षीहरूलाई बदनाम गर्नेः राजनीतिज्ञहरूले आफ्ना विरोधीहरूलाई बदनाम गर्न, अफवाह फैलाउन वा विना कुनै जवाफदेहिता विरोधीहरूको तेजोबध गर्नको लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गर्दछन् । उदाहरणको लागि पछिल्लो चुनावमा सामाजिक सञ्जालमा चर्चित ‘नो नट अगेन’ सोसल मिडिया क्याम्पेनलाई लिन सकिन्छ । पुराना र स्थापित नेताहरूको तेजोबध गर्ने मामलामा यो सफल देखियो तर, यो कार्यक्रम कसले र किन गरे भनेर चर्चा भएन । आफ्ना विरोधीहरूको नराम्रा कुराहरू फैलाउन एक किसिमले आफूलाई विकल्पको रूपमा अगाडि सार्नु पनि हो ।
सर्वसाधारणको नजरमा रहिरहनुः सामाजिक सञ्जालको अत्यधिक प्रयोग, सेलेक्टिभ पोष्टिङ, फिल्टर बबलको कारण जस्तासुकै राजनीतिज्ञहरू पनि सर्वसाधारणको नजरमा रहिरहन सक्छन् । उदाहरणको लागि सामाजिक सञ्जालको प्रयोग नगर्ने राजनीतिज्ञलाई जनताले बिर्सन सक्छन् भने सधैँभरि सामाजिक सञ्जालमा छाइरहने राजनीतिज्ञलाई प्रयोकर्ताहरूले सम्झिन्छन् र विस्तारै फिल्टर बबल बन्न थाले पछि मतदाताहरूले विकल्प देख्न छोड्दछन् ।
एकतर्फी बचाउः सामाजिक सञ्जालको प्रयोगले राजनीतिज्ञहरूले आफ्नो जस्तोसुकै कदमको बचाउ गर्न सक्दछन् । आफ्ना कुनै कार्यहरूले उत्पन्न हुने नकारात्मक प्रतिक्रिया व्यवस्थापनको तथा नियन्त्रणको लागि फेक खाताको प्रयोग तथा त्यस सम्बन्धमा विना कुनै प्रतिप्रश्न एकतर्फी बचाउको लागि आफ्नो सामाजिक सञ्जाल खातामा आफ्नो धारणा दिने गर्दछन् । यसले गर्दा राजनीतिज्ञहरूले आफ्नो बोली तथा व्यवहारको जवादेहिता लिन नपर्ने जसरी बचाउमा जस्तोसुकै तर्क गर्न पाउँछन् ।
उपलब्धिको एकतर्फी पुनर्प्रसारणः सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिको सामग्रीहरूलाई मात्र फिल्टर गरेर देखाउने हुँदा राजनीतिज्ञहरूले आफ्ना केही राम्रा कामहरू घरी–घरी प्रसारण गर्दा त्यसबारेमा जनमानसमा एकतर्फी विचार उत्पन्न हुन्छ । प्रतिकूल समयमा आफ्ना उपलब्धि वा सफलताको पुनः प्रसारणले कम्तिमा सोसल मिडियामा आफ्नो उपस्थितिको रक्षा गर्दछ ।