विराटनगर । अवैधरूपमा भारत लैजान लागेको ठूलो परिमाणमा सुन र चाँदीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक विहार कटिहारका ६१ वर्षीय विनोदकुमार मुरारका, उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका र चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामत रहेका छन् ।

विनोद विराटनगरको केएल दुगड समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूको साथबाट सुनको ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट  ६ तोला, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, इयररिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।

चाँदी १७ सय १९ ग्रामको ११ थान ढिक्का, ९२.८० ग्राम बुनियाँ, २६८.३२ ग्रामको ७८ थान सिक्का, चारमुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिँदुर राख्ने सिसी ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा ३९७.८४ ग्रामको ६ थान, चम्चा ३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की ३७.८८ ग्रामको एक थान, डिनरसेट ४ थान बरामद गरेको छ । सुन र चाँदी प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट बरामद गरेको हो । 

शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (रिट) बाट परिचालन भएको वरिष्ठ सइ फिरोज चौधरीसहितको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा विराटनगरबाट रानीतर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखेको अवस्थामा सुन र चाँदी बरामद गरेको हो ।

प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको रहेको छ । बरामद गरेको सुन, चाँदी र प्रतिवादीहरूलाई प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा आज (आइतबार) बुझाउने तयारी गरेको छ ।