धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिँधुवामा चण्डीपूर्णे रगरगे मेलाको अवसरमा आयोजित सिँधुवा रन १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका २१ वर्षीय प्रकाश कठायत प्रथम भएका छन् । प्रतियोगितामा सहभागी १ सय जनालाई पछि पार्दै कठायत प्रथम भएका हुन् । त्यस्तै तेह्रथुमका २४ वर्षीय सरोज लिम्बू दोस्रो र धरानका प्रशान तामाङ तेस्रो भएका छन् ।
प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २५ हजार २ सय १५, २० हजार १ सय १५ र १५ हजार १ सय १५, प्रमाण–पत्र, मेडल र कप प्राप्त गरेका छन् । त्यस्तै ७ किलोमिटर महिला दौड प्रतियोगितामा सहभागी ३५ जनालाई पछि पार्दै धरानकी २२ वर्षीया छेम्बीमाया राई प्रथम भएकी छन् । त्यस्तै भोजपुरकी १६ वर्षीया जुलिन राई दोस्रो र भोजपुरकै १२ वर्षीया जुही राई तेस्रो भएकी छन् ।
प्रतियोगितामा क्रमशः प्रथम हुनेले १५ हजार १ सय १५, दोस्रोले १० हजार १ सय १५ र तेस्रो हुनेले ५ हजार १५ नगद, मेडल र प्रमाण–पत्र र कप प्राप्त गरेका छन् । प्रतियोगितामा १२ देखि ७३ वर्ष उमेर समूहका प्रतिस्पर्धी सहभागी रहेको चण्डीपूर्णे रगरगे मेला तथा सिँधुवा रन मूल आयोजक समितिका संयोजक तथा छथर जोरपाटी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष दीपक गुरुङले बताए ।
त्यसैगरी धाननाच प्रतियोगितामा तेह्रथुम र धनकुटा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्षहरूको समूह प्रथम भएको थियो । प्रथम हुनेले ३० हजार १ सय १५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाण–पत्र प्राप्त गरेको थियो । त्यसैगरी सेनी धाननाच समूह छथरजोरपाटी गाउँपालिका वडा नं.५ धनकुटाको समूह द्वितीय भएको थियो । उसले नगद १५ हजार १ सय १५ नगद पुरस्कारसहित प्रमाण–पत्र प्राप्त गरेको थियो । त्यसैगरी अम्फूवा केलाङ चयन धाननाच समूह म्याङ्लुङ नगरपालिका वडा नं. ५ तेह्रथुमले तृतीय पुरस्कार नगद १० हजार १ सय १५ सहित प्रमाण–पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा विजेताहरूलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, उपाध्यक्ष गीता गुरुङ खेवा, छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तोष तिगेलालगायतले पुरस्कार प्रदान गरेका थिए ।