लोकतन्त्रका लागि वाक् तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता आधारभूत तŒव मानिन्छ । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिनु र मौलिक हकका रूपमा प्रत्याभूत गरिनुको कारण पनि यही नै हो । मौलिक हक अन्तर्गत संविधानको धारा १९ मा सञ्चारको हक प्रत्याभूत गरिएको छ । त्यस्तै धारा २७ मा सूचनाको हक अन्तर्गत सार्वजनिक निकायसँग सूचना माग्न पाउने हकको प्रत्याभूत गरिएको छ । पत्रकारहरू र सञ्चारजगत्ले प्रेस स्वतन्त्रताको अधिकार त्यति सजिलै पाएका होइनन् । लामो समयको सङ्घर्षपछि प्राप्त गरेको यो अधिकार बेला–बेला हनन् हुने गरेको छ । सत्ताको चरित्र निर्मम हुन्छ । भनिन्छ, प्रेस स्वतन्त्रताको सवालमा पनि सत्ताबाट पटक–पटक आक्रमण हुने गरेको छ । सञ्चारजगत्को काम सत्ताको गुणगान गाउने मात्र कदापि हुन सक्दैन । समाजदेखि सत्तासम्मका सकारात्मकसँगै नकारात्मक कामको उजागर गर्नु पनि सञ्चार माध्यमको काम हो । सत्तामा रहनेहरूले पत्रकारलाई आफ्नो अनुकूल प्रयोग गर्न खोज्ने प्रवृत्ति बढ्दो छ । लोकतन्त्रको लागि यो दुःखद् कुरा हो ।
अहिले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नो विषयमा आलोचनात्मक समाचार लेख्ने पत्रकार र सञ्चार माध्यमलाई लक्षित गरेर गालीगलौज गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्न थालेपछि पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घ सुनसरीले पत्रकारको सुरक्षामा चिन्ता व्यक्त गर्दै नगरप्रमुख राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय सरकारका प्रमुखले सञ्चारकर्मीलाई स्वतन्त्रतापूर्वक लेख्न र बोल्न पाउने, स्वतन्त्ररूपमा आलोचना गर्न पाउने वातावरण बनाउनुको साटो आफ्नो आलोचना गर्नेलाई तथानाम गाली गर्नु उचित होइन । स्थानीय सरकारका पदाधिकारी आम नागरिकप्रति उत्तरदायी हुनुपर्छ । उनीहरूका काम कारबाहीको आलोचना हुनु स्वभाविक हो । आलोचना नै गर्न पाइन्न भन्नु चाहिँ निरङ्कुशता हो । सञ्चारमाध्यमले गलत कुरा लेखेको खण्डमा कानूनी कारबाहीको बाटोमा जान सकिन्छ । पत्रकारले गरेका गलत काम विरुद्ध पनि कानूनी कारबाही भएका थुप्रै उदाहरण छन् । पे्रस काउन्सिल देखि अदालतसम्म धेरै वटा मुद्दा पत्रकारविरुद्ध चलेका र फैसला भएका छन् । यसर्थ नगरप्रमुखले सञ्चार माध्यममा आएका समाचार चित्त नबुझेमा आधिकारिक रूपमा खण्डन गर्ने वा कानूनी प्रक्रियामा जाने हो । आफ्नो आलोचना हुने बित्तिकै सामाजिक सञ्जालमा ‘झोले पत्रकार’ जस्ता अपमानजनक शब्द प्रयोग गरेर जथाभावी लेख्नु गलत हो । यस्ता विषयमा नगरप्रमुख सच्चिनु आवश्यक छ ।
सामाजिक सञ्जालमा धेरै समर्थक भएका नगरप्रमुख राईले जथाभावी लेखिदिँदा उनका समर्थकहरूले झन् अनेक गाली गर्ने गरेका छन् । कतिपयले पत्रकार र सञ्चार संस्थामाथि आक्रमणको धम्की दिएका छन् । पत्रकार तथा सञ्चार संस्थामाथि आक्रमण भए त्यस्तो कुरालाई प्रोत्साहन गर्ने नगरप्रमुखले पनि नैतिकरूपमा जिम्मेवारी लिनुपर्ने अवस्था आउन सक्छ । नगरप्रमुखको गालीगलौज र उनका समर्थकका धम्कीहरू आपत्तिजनक छन् । उनीहरूका अभिव्यक्तिले पत्रकार र सञ्चार संस्थामाथि सुरक्षा बढेको छ । यही कुरालाई मनन् गरेर पत्रकार महासङ्घले ध्यानाकर्षण गराएको हो । समर्थकहरू सबैले त प्रेस स्वतन्त्रताको अवधारणा नबुझ्न सक्छन् तर, नगरप्रमुखले प्रेस स्वतन्त्रताको सम्मान गर्नु आवश्यक छ । किनभने, प्रेस स्वतन्त्रताको सम्मान गर्नु कुनै पत्रकारको सम्मान गर्नु मात्र होईन, आम नागरिकको सम्मान गर्नु पनि हो । नेपालको संविधानको सम्मान गर्नु हो, मौलिक हक र विभिन्न कानूनहरूको सम्मान गर्नु हो ।