बिर्तामोड । सिमान्तकृत जाती मेचे भाषामा आधारित चलचित्र ‘बिक्रम देवा’ निर्माण हुने भएको छ । जय भोले बाबा फिल्मसको पहिलो प्रस्तुती सुहानी मेचेको मेचे भापामा आधारित चलचित्र निर्माण हुने भएको हो ।

बिषेशगरी झापामा बसोबास गर्ने मेचे समुदायको संस्कृति झल्काउने यो चलचित्र पहिलो हुने निर्माण पक्षको दावी छ । चलचित्रको सोमवार झापाको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा शुभ मुहुर्त गरिएको छ ।

झापामा मात्र रहेको लोपोन्मुख जाती मेचे समुदायको भाषा, संस्कार तथा संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले चलचित्र निर्माण गर्न लागिएको निर्माता प्रताप मेचेले जानकारी दिए ।

उनका अनुसार देशमै पहिलो पटक मेचे भाषाको ठूलो पर्दाको चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको शुभमुर्हुत चारआली प्रहरी चौकीका प्रमुख अमरबिनोद घिमिरे, अर्जुन मेचे, सामाजिक ब्यक्तित्व निरु परियार लगायतले गरेका थिए ।

चलचित्रमा सुवास मेचे, उर्मिला कार्की, प्रताप मेचे, बिमल खजुम, सुनिल थापा, पुकार भट्टराई, रोबिन मेचे, विपिन प्रसाई, बिकास राउतलगायतको अभिनय रहने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै बिदेशी कलाकारहरुको पनि अभिनय रहने जनाइएको छ । चलचित्रको कथा निर्देशक कुमार केसी, कार्यकारी निर्माता प्रताप मेचे, क्यामेरा बिक्रम डिसी, संगीत बिकास चौधरी, नृत्य कमल राई द्धन्द्ध सन्तोष भुजेलको रहने जनाइएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रमा २० प्रतिशत भाषा मेचे समुदायको रहने छ । इलामको बिभिन्न पर्यटकीय क्षेत्र र झापाको भद्रपुर, धुलााबारी, धाइजन, शनिश्चरे, बिर्तामोडलगायतका स्थाानमा छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ । ३० दिनमा छायाङ्कन सम्पन्न हुने चलचित्र २ घण्टा १० मिनेटको हुने छ भने करिब एक करोड रुपैयाँको लगानीमा चलचित्र निर्माण हुने निर्माता मेचेले बताए ।

मेचे भाषाको संस्कार र संस्कृतिलाई देश तथा बिदेशमा चिनाउने उदेश्यले निर्माण हुन लागेको चलचित्रमा एक्शन र कमेडी रहने जनाइएको छ ।

करिब ६ महिनामा प्रदर्शनको तयारी पूरा हुने चलचित्र बिक्रम देवा अंग्रेजी, हिन्दी र नेपाली भाषामा निर्माण हुने भएको छ । निर्माता मेचेको अध्यक्षतामा भएको शुभमुर्हुत कार्यक्रममा पवनलाल मेचेले स्वागत गरेका थिए भने चलचित्रको औचित्यमाथि कथा निर्देशक कुमार राईले प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन चलचित्रका कलाकार सुदिप खवास र संजय मेचेले संयुक्त रुपमा गरेका थिए ।