नेपालका सहरहरूको साझा समस्या हो, फोहोरमैला व्यवस्थापन । दैनिक रूपमा सहरबाट उत्पादन हुने फोहोरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा काठमाडौंलगायत कतिपय सहरका नागरिक नाक, मुख थुनेर हिँडेका दृश्यहरू देखिन्छन् । एकातिर सहरमा जथाभावी थुपारिएका फोहोरबाट दुर्गन्ध फैलिने गरेको छ भने अर्कातिर सहरको फोहोर व्यवस्थापन गर्ने तरिका पनि सही छैनन् । कतै गाउँ बस्तीनजिक फोहोर फाल्ने गरिएको छ त कतै जङ्गल र खोला किनारमा फोहोर फालिँदै छ । यसले मान्छेलाई मात्र नभई जीवजनावर र पर्यावरणलाई समेत नकारात्मक असर पु¥याइरहेको छ । धरान उपमहानगरपालिकामै फोहोर व्यवस्थापन लामो समयदेखि समस्याको विषय बनिरहेको छ । धरानको फोहोर उठाएर धरान–इटहरी सडक–खण्डको सेउती पुलनजिकै जङ्गल र खोला किनारमा फाल्ने गरिएको छ । फोहोरमा उपमहानगरकै कर्मचारीले आगो लगाउँदा विषाक्त धुवाँ कोसी राजमार्गसम्म फैलिन्छ । यसबाट दैनिकरूपमा यो राजमार्गबाट ओहोर–दोहोर गर्ने मान्छेहरूलाई असर परिरहेको छ ।

धरानमा दैनिक ४५ देखि ५० टन फोहोर उत्पादन हुने उपमहानगरपालिकाको तथ्याङ्क छ । यो तथ्याङ्क पनि धरानका वडा नं. ४, ५, ६ र २० बाहेकको हो । यी चार वडामा हालसम्म उपमहानगरपालिकाले फोहोर उठाउने गरेको छैन । बाँकी वडाबाट सङ्कलन गरिएको फोहोर राजमार्ग छेउको जङ्गल र खोला किनारमा थुपारिँंदै आएको छ । यसरी फालिएको फोहोरले मानव स्वास्थ्य र वातावरणमा असर गरेको छ । रामधुनी र इटहरी क्षेत्रका खेतबारीमा प्लाष्टिक, सिरिञ्ज लगायतका फोहोर पुगेर किसानलाई समस्या भएको भन्दै विगतमा पटक–पटक बहसको विषय बनेको थियो । उपमहानगरपालिकाले भने फोहोर फाल्न अन्य उपयुक्त विकल्प नभएको भन्दै लाचारी प्रकट गर्ने गरेको थियो । धरानको फोहोर व्यवस्थापनमा निजी क्षेत्रले चासो देखाएपछि ६ वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरानउपमहानगरपालिका र निजी कम्पनी भेन्जर वेस्ट एन्ड इनर्जी प्रालिबीच धरानको फोहोरबाट ग्याँस र बायो मल बनाउने सम्झौता भएको थियो । २०७८ पुसमै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याँस प्लान्टको उद्घाटन गरेका थिए तर, अहिलेसम्म योजनाअनुरूप ग्याँस र मल उत्पादन हुन सकेको छैन । दैनिक ५० टन क्षमताको यो प्लान्टमा अहिले करिब २० टन जतिमात्र फोहोर जाने गरेको छ । आधाभन्दा बढी फोहोर अहिले पनि राजमार्ग छेउको जङ्गल र खोला किनारमै फालिँंदै आएको छ ।

पूर्ण क्षमतामा प्लान्टबाट ग्यास उत्पादन गर्न नसक्नुमा राज्यको नीति नियम बाधक रहेको भेन्चर वेस्टले गरेको छ । फोहोरबाट उत्पादन हुने ‘कम्प्रेस्ड नेचुरल ग्याँस’ (सिएनजी) टेम्पोमा प्रयोग गर्ने योजना छ । तर, हाल पेट्रोलबाट सञ्चालन हुने टेम्पोमा ग्याँसबाट चल्ने बनाउन मोडिफिकेसन गर्नुपर्ने हुन्छ । यातायात व्यवस्था कार्यालयले मोडिफिकेसन गर्नुलाई कानूनविपरीत मान्छ । टेम्पो मोडिफिकेसन गर्न कानूनी समस्या भएपछि धेरैले चाहेर पनि यो ग्याँस प्रयोग गर्न सकेका छैनन् । पेट्रोलबाट चल्ने टेम्पोलाई ग्याँसबाट चल्ने बनाउन सरकार सकारात्मक भए पनि कार्यविधि नबन्दा समस्या भएको बताइएको छ । धरानमा ग्याँसबाट टेम्पो चलाउनसके कम खर्च हुने त छँदैछ, मानव स्वास्थ्य र पर्यावरणमा पनि फाइदा पुग्छ । पेट्रोलका लागि बाहिरिने करोडौंं रुपैयाँ जोगिन्छ । यसलाई पूर्णरूपमा सञ्चालन गर्न स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्मको सहयोग आवश्यक छ । फोहोरमैला व्यवस्थापनको यो महत्वाकाङ्क्षी योजनालाई धरानवासीको हित हुने गरी प्रयोग गर्न आवश्यक छ । त्यसैले फोहोर व्यवस्थापनमा सबै पक्ष गम्भीर बन्नु जरुरी छ ।