विराटनगर । लागू तथा मनोद्दिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधि व्यवसायीहरूले बिक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

चिकित्सकको प्रेसक्रिप्सन विना लागू तथा मनोद्दिपक औषधि बिक्री वितरण गर्दा यसको दुरुपयोग बढेको कारणले सरोकारवालाहरूले त्यस्तो बताएका हुन् । नेपाल औषधि व्यवसायी सङ्घ मोरङले रङ्गेलीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले औषधिको समुचित प्रयोग बढाउन र अनुचित प्रयोग घटाएर लैजान सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘डिडिए एक्लैले पनि केही गर्न सक्दैन । औषधिको दुरुपयोग रोक्न सबैको साथ सहयोगको खाँचो रहेको छ’ औषधि व्यवसायीहरूलाई सचेत गराउँदै उनले भने, ‘बिरामीले सेवन गर्ने लागू तथा मनोद्दिपक औषधि चिकित्सकको  प्रेसक्रिप्सन लिएर त्यो पनि रेकर्ड गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गर्दछु । यदि आफूखुसी बिक्री वितरण गरेको पाइए औषधि ऐन २०३५ अनुसार कारबाहीको भागीदार हुुनुपर्दछ ।’

पछिल्लो समय लागू तथा मनोद्दिपक औषधिको चरम् दुरुपयोग बढेको उल्लेख गर्दै उनले औषधि व्यवसायीहरू सचेत हुन जरुरी रहेको उनले बताए । ‘लागू तथा मनोद्दिपक औषधिको अनुचित प्रयोग रोक्न व्यवसायीहरू जिम्मेवार बन्नुपर्दछ’ उनले भने, ‘त्यसको लागि लागू तथा मनोद्दिपक औषधि चिकित्सकको पे्रसक्रिप्सन लिएर मात्र बिक्री वितरण हुनुपर्दछ ।’ यस्तो औषधि कसलाई बिक्री वितरण गरिनुपर्ने त्यसको पनि ख्याल व्यवसायीले गर्नुपर्ने उनले बताए । ‘चिकित्सकले सिफारिस गरेअनुसार लागू तथा मनोद्दिपक औषधिको सेवनले बिरामी ठीक हुने गर्दछ,’ उनले भने, ‘तर, यही औषधि गलत तरिकाले अनुचित रूपमा बिक्री वितरण गर्दा दुव्र्यसनीले सेवन गर्दछ । त्यसैले व्यवसायी सचेत हुन जरुरी छ ।’

कार्यक्रममा रङ्गेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले लागू तथा मनोद्दिपक औषधि सुरक्षित भण्डार गरी बिक्री वितरण गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर खड्का, इप्रका सिजुवाका प्रमुख इन्स्पेक्टर डुण्डी गिरी, नेपाल औषधि व्यवसायी सङ्घ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वच्छ र मर्यादितरूपमा औषधिको बिक्री वितरण गरिनुपर्नेमा जोड दिए । लागू तथा मनोद्दिपक औषधि र करसम्बन्धी एक दिने अभिमुखीकरण तालिममा तीन दर्जन बढी व्यवसायीहरूको उपस्थिति रहेको नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाका उपाध्यक्ष देशबन्धु ढकालले बताए ।

व्यवसायीहरूलाई लागू तथा मनोद्दिपक औषधि कसरी बिक्री वितरण गर्ने ऐन नियमको बारेमा जानकारी गराउँदै करसम्बन्धी पनि जानकारी दिन व्यवसायीहरूलाई अभिमुखीकरण गराएको उनले बताए । यसअघि पनि सङ्घले उर्लाबारी र सलकपुरमा यस्तो कार्यक्रम गरेको उनले बताए । करसम्बन्धी जानकारी आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेमप्रसाद मण्डलले सहजीकरण गरेका थिए ।