विराटनगर । अवैधरूपमा भारत लैजान लागेको ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोदकुमार मुरारकासहित तीन जनालाई ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ धरौटी तोकेको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले बिगो बराबरको धरौटी मङ्गलबार तोकेको हो । प्रतिवादीहरूको बयान सकिएपछि बिगो बराबरको धरौटी रकम तोकेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । राजस्वले तोकेको धरौटी रकम बुझाएर उनीसहित तीनजना रिहा भएका छन् । ‘तोकेको धरौटी रकम बराबरको बैङ्क ग्यारेन्टी राखेका छन्’ राजस्व अनुसन्धान प्रमुख आचार्यले भने, ‘धरौटी रकम बुझाएपछि रिहा भएका हुन् ।’ धरौटी रकम बुझाएर रिहा भए पनि उनलाई १५ दिनको तारेखमा राजस्वले राखेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मुरारकासहित ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित ५६ वर्षीया पुष्पा मुरार र चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये विनोद विराटनगरको केएल दुगड समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूको साथबाट प्रहरीले ६३३.९३ ग्राम सुन अहिलेको बजार मूल्यअनुसार ६० लाख ८७ हजार ५ सय ६५ रुपैयाँ, ८७५६.३३ ग्राम चाँदी ६ लाख ४४ हजार २ सय ४५ रुपैयाँ हुन आउँछ । यस्तै  ८ लाख ४ हजार ७ सय ८९ भारतीय रुपैयाँको नेपाली १२ लाख ८८ हजार ८ सय ७० रुपैयाँ हुन आउँछ । सबैगरी जम्मा ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ हुन्छ ।

मुरारका केएल दुगड कम्पनीका भरपर्दा लेखापाल हुन् । उनी सुनको सौखिन थिए । उनको छोरा र बुहारी भारतको अहमदावादमा बस्छन् भने छोरी ज्वाइँ भारतको पूर्णियामा बस्छन् । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरू छोरा र छोरीलाई भागबण्डा गरिदिन भारत लिएर गएको उनले प्रहरीलाई बयान दिएका छन् ।

अवैध साढे ७ लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनले बताएको प्रहरीले जनाएको छ । यद्यपि ठूला घरानाका लेखापालले बिल विनाको सुनचाँदी तथा नेपालमा प्रतिबन्धित भारतीय नोट बोकेर किन हिँडे भन्ने विषय शङ्काकै घेरामा रहेको प्रहरीले जनाएको छ । नेपालमा २५ हजारसम्म १ सय दरभन्दा मुनीका भारतीय नोट बोक्न पाइन्छ । तर, १ सय बढी दरका नोटहरू नेपालमा अवैध छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनको विराटनगरस्थित पोखरिया स्कुलछेउमा भव्य घर छ । भारतीय नागरिक रहेका उनको नाममा घर कसरी आयो भन्ने विषय पनि खुलेको छैन । उनीसँग भारतको बिहारस्थित कटिहारको वडानम्बर १७ को आधार कार्ड रहेको प्रहरीले जनाएको छ ।