विषय प्रवेशः पछिल्लो नेपाली राजनैतिक घटनाक्रम अन्तर्गत नक्कली भुटानी शरणार्थी काण्डले सर्वाधिक चर्चा पाएको छ । हुन त यस्ता काण्डहरू नेपाली समाजमा नयाँ भने होइनन् । विगतमा पनि यस्ता धेरै काण्डहरू तपाईं हामीले देखी भोगी आएका छौं । वस्तुतः भुटानका शरणार्थीहरूको समस्या आम समस्या हो । यसलाई समाधन गर्न हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ । प्रथमतः उनीहरूलाई भुटान नै फिर्ता पठाउनु उत्तम हुन्छ । फिर्ता पठाउन सम्भव नभए मात्र तेस्रो मुलुकमा पुनरवास गराउने भन्ने हो । तर, शरणार्थीहरूलाई पुनरवास गराउने जिम्मा पाएको तालुकदार निकाय नेपाल सरकारका गुह मन्त्रालयका जिम्मेवार व्यक्तित्वहरूबाट यस्तो निम्नस्तरको ठगीधन्दा चलाउनु लज्जाजनक कुरा हो । जिम्मा पाएको अभिभावकबाट नै यस्तो घटिया व्यवहार भएपछि कस्ता सन्ततीहरू उत्पादन होलान् ? प्रश्न जटिल छ । 

यस ठगी काण्डमा पूर्व उपप्रधानमन्त्री, गृह मन्त्रालयका सचिव, सल्लाहकार र एजेन्टलगायतका उच्च पदस्थ व्यक्तित्वहरू मुछिएका छन् । यस्ता जिम्मेवार व्यक्तित्वहरूको ग््रयाण्ड डिजाइनमा यस्तो ठगीधन्दा चल्दैछ होला भनेर कसैले कल्पनासम्म गर्न पनि सकिने कुरा होइन । जिम्मेवारी र नेतृत्वको आधारबाट भन्ने हो भने यस काण्डको जिम्मा स्वयम् तात्कालिन गृहमन्त्री र प्रधानमन्त्रीले पनि लिनु पर्ने हुन्छ । हामीलाई थाह छैन खै के के गरे म संंलग्न छैन भनेर उम्किनु मिल्दैन । प्रत्यक्ष वा परोक्षरूपमा उनीहरुको पनि संलग्नता वा ग्रीनसिग्नल दिएपछि प्रक्रिया अघि बढ्यो होला भनेर अनुमान गर्न सकिन्छ ।  हालसम्म प्रहरीले वारेण्ट जारी गरेको माछाहरूमध्ये मझौला माछाहरू ढोक्सामा परिसकेका छन् । तर, सबैभन्दा ठूलो माछा पूर्व उपप्रधानमन्त्री तथा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी भने अभैmसम्म पनि ढोक्सामा छिरेका छैनन् । यसले पनि घटनालाई  पुष्टि गर्ने आधार प्रदान गरेको छ ।

काण्डैकाण्डको राजनीतिः
नेपाली समाजमा भ्रष्टाचारसम्बन्धी काण्ड नयाँ भने होइन । यहाँ ठगी, सेटिङ र मिलेमतोसम्बन्धी काण्ड सामान्य भइसकेको छ । त्यो केवल अघिपछि, मात्रा धेरथोर र भ्रष्टाचारको प्रकृति वा शीर्षकमात्र भिन्न रहेको छ । पार्टी, समूह, व्यक्ति र नाम मात्र फरक रहेको छ । काम सबै पार्टी र व्यक्तिहरूको त्यही छ । त्यसैले हामीलाई सुन्दा र हेर्दा सामान्य लाग्छ । यद्यपि यस्ता काण्डहरू कदापि पनि सामान्य विषय हुन सक्दैनन् । नेपाली राष्ट्रिय राजनीतिक इतिहासमा यस्ता काण्डहरू धेरै भएगरेका छन् । वस्तुतः भ्रष्टाचार भनेको मानव समाजमा निजी स्वामित्व कायम भएयता अस्तित्वमा रहेको देखिन्छ । तेरोमेरोजन्य निहीत स्वार्थमा भ्रष्टाचार हुने गर्दछ । त्यसैले यसको विगत इतिहास धेरै लामो रहेको छ । यता नेपालमा शाह, राणा र पञ्चायतको त कुरै नगरौं । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि भ्रष्टाचारको अझ धेरै काण्डहरू सार्वजनिक हुँदैआएको देखिन्छ ।

संसदीय अभ्यासयता गिरिजाको लाउडा काण्ड, खुमबहादुर काण्ड, गोविन्दराज जोशी काण्डजस्ता काण्डहरू निकै उल्लेखनीय रहेका छन् । त्यस्तै गोकुल बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको काण्डले चर्चा कमाएको घटना ताजै छ । रामबहादुर थापाको ३३ किलो सुन काण्ड, केपी ओलीको यती समूह र गिरिबन्धु टी–स्टेटको जग्गा बिक्री काण्ड निकै चर्चामा रहेको छ । त्यस्तै लेखराज भट्टको अवैधरूपमा चुनढुङ्गा उत्खनन् गर्ने ९ उद्योगबाट एक अर्ब पच्चीस करोड असुली गर्नुपर्नेमा त्यसको सट्टा एक–एक लाख जरिबाना मात्र गर्न सिफारिस गर्नाले करोडौँ राजश्व छली भएको काण्ड, पद्मा अर्यालको गुणस्तरहीन मल खरिद काण्ड, योगेश भट्टराईको पालामा भएको नारायणहिटी दरबारभित्रको बतास काण्ड पनि निकै उल्लेखनीय रहेको छ ।

त्यस्तै रविन्द्र अधिकारीको वाइड बडी जहाज काण्ड चर्चामा रहेको छ । युवराज खतिवडाको पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट काण्ड, विष्णु पौडेलको कालीगण्डकी डाइभर्सन काण्ड, रघुवीर महासेठको पप्पु कन्स्ट्रक्सन काण्ड, पृथ्वी सुब्बा गुरुङ र महेश बस्नेतको सांसद् अपहरण काण्ड, ईश्वर पोखरेलको पानी ट्याङ्की काण्ड अनि भानुभक्त ढकालको स्वस्थ्य सामग्रीसम्बन्धी ओम्नी काण्ड पछिल्लो उदाहरणहरू हुन् । त्यसैगरी क्यान्टोनमेन्टको रकम हिनामिना काण्ड, महराको पैसा बार्गेनिङको टेप र यौन काण्डहरूले पनि राम्रै बजार पाएको देखिन्छ । यस अतिरिक्त ललिता निवासको जग्गा काण्ड पनि चानचुने काण्ड होइन । अरूको त के कुरा गर्नु यता नयाँ गर्छौं भनेर आएका रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले कोर टिमलाई बुझाउने नगदनारायण खोजी काण्ड पनि कम चर्चामा छैन । अर्थात् यस्ता काण्डमा मात्रामा धेरथोर होला तर, कुनै पार्टी, समूह र व्यक्ति कोही पनि अछुत देखिँदैन । यो नै हाम्रो राष्ट्रिय राजनीतिको नितान्त गलत संस्कृति हो ।

प्रणालीमै समस्याः
भ्रष्टाचार गर्नु अपराध हो । यसो गर्नु भनेको जीवन बर्बाद गर्नु हो । समाजबाट बहिष्कृत हुनु हो । लामो सङ्घर्षपछि आर्जन गरिएको प्रतिष्ठा र इज्जत लिलाम गर्नु हो । बदनामी कमाउनु हो । सबैको नजरबाट तल झर्नु हो । सबैको गाली खानु हो । सबैले छिःछिः भनेर थुकीमाग्नु हो । अझ त्यसमा पनि राजनैतिक जीवनमा होमिएकाहरूको लागि त यो मृत्युवरण गरेतुल्य हो । राजनैतिक जीवनलाई समाप्त गर्नु हो । भ्रष्टाचार बारे यति न्यूनतम् कुरा सबैलाई थाहा छ । तर, पनि भ्रष्टाचार अन्त्य हुँदैन किन ? सबै भ्रष्टाचारमा मुछिनेहरूलाई के यस्ता न्यूनतम् कुरा थाहा नभएकै हो त ? होइन भने किन उनीहरू यसबारे सचेत र सजग हुँदैनन् । यस्ता यक्ष प्रश्नहरूको सही जवाफमा मात्र भ्रष्टाचार अन्त्य गर्ने औषधि भेट्न सकिन्छ ।

वस्तुतः भ्रष्टाचार कुनै अमूक व्यक्ति, समूह र पार्टीको मात्र सवाल होइन । यो समाजको आम समस्या हो । भ्रष्टाचारको भाष्य निर्माण समाजलाई दिशानिर्देश गरिरहेको पद्दति र प्रणालीमा निर्भर हुन्छ । अर्थात् राजकीय प्रणालीद्वारा निर्देशित हुन्छ । पुँजीवादी लोकतन्त्र भनेको मूलतः तेरोमेरो निहीत निजी स्वार्थद्वारा निर्देशित समाज व्यवस्था हो । यसमा निजीत्व प्रधान हुन्छ । आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थ प्रधान हुन्छ । हरेक सामाजिक सत्ताहरूमा आफू र आफन्तलाई प्राथमिकतामा राखिन्छ । यस्तो राजकीय व्यवस्थामा आपैmले मात्र अरूले भन्दा धेरै कमाउने वा कुम्ल्याउने चिन्तन हाबी हुन्छ । तब जता हेर्दा पनि नगदनारायणको खोजी हुन्छ । नेतालगायत आम नागरिकहरूमा यसैको प्रभाव परेको हो ।

अर्कोतिर पुँजीवादी संसदीय प्रणालीको प्राण भनेकै आवधिक चुनाव हो । तर, यो आवधिक चुनाव असाध्यै खर्चालु बन्दै गइरहेको छ । यसले सिङ्गो संसदीय प्रणालीमाथि नै गम्भीर प्रश्न उठाइरहेको छ । सही विचार, दृष्टिकोण र दर्शनभन्दा पनि औसत विधिहरूमार्पmत् जसरी पनि चुनाव जित्नैपर्ने भाष्य हाबी भएको छ । इमान्दारिता, विवेक, आस्था र आदर्शभन्दा पनि साम, दाम, दण्ड र भेदको रणनीति मौलाइरहेको छ । यसले आम मानिसको दिमागलाई भ्रष्टीकृत र प्रदूषित पारिरहेको छ । चुनाव मात्र होइन, यस्तो पुँजीवादी प्रणालीमा सम्पूर्ण सामाजिकीहरू नै असाध्यै खर्चालु, आडम्वरी र ढोङ्गी हुने गर्दछ । तब हरेक मान्छेलाई अत्यधिक लोभ जाग्ने गर्दछ । समाज रूपवादी छ । यस्तो समाजमा आडम्वरी रवाफ र घमण्ड आधारभूत पूर्व शर्त बन्न पुग्दछ । अरूलाई देखाउनकै लागि ठूलो धनराशि खर्च गर्ने गर्दछ । यही प्रणालीगत त्रुटीको कारण भ्रष्टाचार हाम्रो समाजको आम समस्या भइरहेको छ । 

गल्ती आत्मसात गरिँदैनः
नेपाल संस्थागत र नीतिगत भ्रष्टाचार भइरहेको मुलुक हो । यहाँ अपवादबाहेक तलमाथि वा ठूला–साना सबैले धेरथोर अनियमितता गरिनै रहेको हुन्छ । कसैले विधि प्रक्रियालाई नजरअन्दाज गर्दै भनसुन गरिदिनू न भन्नु पनि भ्रष्टाचार नै हो । ठूलो बिटा पैसा कुम्ल्याउनु मात्र भ्रष्टाचार होइन । कानूनसम्मतरूपमा जेल वा हिरासतमा पुगेको व्यक्तिलाई प्रक्रिया शक्ति दुरुपयोग गरेर निकाल्नु भनेको पनि भ्रष्टाचार नै हो । यस्तो त हाम्रो प्रधान संस्कृति नै बनिसकेको छ । यो हाम्रो नीतिगत आम समस्या हो । कसैले गल्ती गरिहाल्यो भने त्यसबापतको दण्ड–सजाय भोग्छु भन्नु नैतिक इमान्दारिता हो । तर, नेपालमा त्यस्तो सांस्कृतिक अभ्यास छैन । यहाँ त बरु उल्टै त्यही भ्रष्टाचारीको अझ ठूल्ठूला कुरा हुन्छ । पछिल्लो समय केपी ओलीले टोपबहादुर रायमाझीको विषयमा अभिव्यक्त गरेका अनौठो र अमिल्दो भनाइहरूबाट यसको पुष्टि हुन्छ । उनीहरू उल्टै सरकारसँग बार्गेनिङ गर्दै उनीहरूलाई चोख्याउन खोजिरहेका छन् । दोषी ठहर भए कारबाही भोग्न र भोगाउन तयार छौं भन्ने संस्कृति नहुनु हाम्रो दुर्भाग्य हो । यसबाट के पुष्टि हुन्छ भने दलबल पुग्दा वा दलबल हुनेहरू विरुद्ध मुद्दा हाल्न र दोषीउपर सजाय गराउन सकिँदैन ।

निष्कर्षः
त्यसैले भ्रष्टाचार अन्त्य गर्ने हो भने पुँजीवादी संसदीय प्रणालीको विकल्प खोज्नुपर्ने हुन्छ । निजी स्वामित्व, खर्चालु चुनाव र आडम्वरी उपभोगवादी सामाजिकी नै भ्रष्टाचारको कारक पक्षहरू हुन् । यस्तो प्रणालीमा अरूले भन्दा बढी कमाउने, अरूले भन्दा रवाफ र रूप देखाउने अनि जसरी पनि चुनाव जित्ने वा बहुमत ल्याउने चक्करमा इमान्दार विरासत बोकेको पार्टी र व्यक्तिहरू पनि चिप्लिने गर्दछ । प्रणालीमा रहेको समस्याकै कारण यहाँ भ्रष्टाचारलगायतका अपराधमा संलग्नहरू समेत शक्ति, सत्ता र पैसाको बलमा निर्दोष बनिरहेका छन् भने कतिपय पहुँच नहुनेहरूले नराम्ररी दुःख पनि पाइरहेका छन् । अपराधीलाई कारबाहीभन्दा पनि यो वा त्यो बहाना, कारण र पार्टीगत वा व्यक्तिगत अन्तरविरोधको लेपन लगाउँदै निर्दोष करार गरेर चोख्याउने खेल क्षम्य हुँदैन । यस्ता विसङ्गतिहरूको समूल अन्त्य आजको अपरिहार्य आवश्यकता हो । त्यसको लागि हामी आफै सच्चिनु एउटा कुरा हो भने प्रणालीगत समस्याको निदान खोज्नु अर्को समाधान हो । होइन भने भ्रष्टाचार अन्त्य र सुशासनको कुरा बनिबनाउ चाहना वा कल्पना मात्र हुनेछ ।