सुख्खा मौसमका कारण केही समययता पूर्वी तराईमा गर्मी बढ्दो छ । सुख्खा मौसममा आगलागीको जोखिम बढी हुन्छ । सुनसरीका तराई क्षेत्रमा आगलागीका घटना दैनिकजसो हुन थालेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गत सोमबार र मङ्गलबार आगलागीका घटना भए । यी घटनाबाट ११ लाखभन्दा बढीको क्षति भएको स्थानीयको भनाइ छ । प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म सुनसरीमा आगलागीका ४९ घटना भइसकेका छन् । माघ यताका चार महिनामा मात्र सुनसरीमा आगलागीबाट २ करोड ६० लाख ४५ हजारभन्दा बढीको क्षति भएको सुनसरी प्रहरीको तथ्याङ्क छ । यो तथ्याङ्कबाट पनि आगलागी ठूलो समस्याका रूपमा रहेको देखिन्छ । सुख्खा मौसममा देशभर नै आगलागीका घटना हुने गरेका छन् । यही मौसममा वन जङ्गलमा समेत डढेलो लाग्ने हुँदा अमूल्य वनस्पति र जीवजनावरहरू क्षति हुने गरेका छन् ।
आगलागी र डढेलोलाई नियन्त्रण गर्न त्यति सहज छैन । एकातिर आगलागी हुन नदिने बारे आमनागरिकमा सचेतनाको कमी देखिन्छ भने अर्कातिर आगलागी भइहाले कसरी नियन्त्रण गर्ने भन्ने तयारी स्थानीय तहहरूको समेत छैन । सुनसरीका १२ स्थानीय तहहरूमध्ये धरान र इटहरी उपमहानगरपालिका र कोसी गाउँपालिकासँग मात्र दमकल छन् । इनरुवा नगरपालिकाको दमकल भए पनि नियमितरूपमा सञ्चालनमा छैन । अन्य स्थानीय तहहरूसँग तत्काल दमकल किन्ने योजनासमेत रहेको पाइँंदैन । यसबाट स्थानीय तहहरू आगलागीका विषयमा कति संवेदनशील छन् भन्ने प्रष्ट हुन्छ । स्थानीय सरकारहरूको नै प्राथमिकतामा नपरेको आगलागी र डढेलोका विषयमा आमनागरिक कति सचेत होलान् ? स्थानीय तहहरूसँग दमकलको व्यवस्थापन गर्ने मात्र होइन, ठूला आगलागीका घटना भइहाले त्यहाँ आगो नियन्त्रण र पीडितको व्यवस्थापनबारे स्पष्ट नीति नै छैन । नीति नै नभएपछि यसका पूर्वाधारहरू निर्माण हुने कुरै भएन । कानूनमा नै नगरपालिका हुनका लागि दमकलको व्यवस्था हुनुपर्ने लगायतका सर्त स्पष्ट रूपमा उल्लेख गरिएका छन् । तर, सुनसरीका अधिकांश नगरपालिकामै दमकल नहुनु दुःखद् पक्ष हो । यो विषयमा स्थानीय तहहरूको र राजनीतिक दलहरूको समेत ध्यानाकर्षण हुनु जरुरी छ ।
आगलागी र डढेलोजस्ता घटना विशेषतः मानवीय लापरबाहीकै कारण हुने हुन् । यसको अर्थ हो, मान्छेले सतर्कता अपनाउने हो भने धेरै हदसम्म आगलागीका घटनाबाट जोगिन सकिन्छ । करोडौंको आर्थिक नोक्सान हुन पाउँदैन अनि अमूल्य मानवजीवन, वनस्पति, जीवजनावर र समग्र पर्यावरणमा क्षति पुग्नबाट बचाउन सकिन्छ । त्यसका लागि स्थानीय तहहरूले योजना बनाएर आगलागी र डढेलोका घटना हुन नदिन के कस्ता सतर्कता अपनाउनु पर्छ र घटना भइहालेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने ज्ञान आमनागरिकमा दिन आवश्यक छ । सचेतना कार्यक्रमसँगै प्रत्येक स्थानीय तहहरूले दमकलको व्यवस्थापन गर्नु जरुरी छ । राजनीतिक दबावमा कतिपय अनावश्यक योजनाहरू ल्याउने स्थानीय तहहरूले दमकल जस्तो अति आवश्यक कुराको व्यवस्थापन गर्न नसक्नु लाजको विषयसमेत हो । यस पटकको बजेटमा सुनसरीका स्थानीय तहहरूले दमकलका लागि बजेट विनियोजन गरेर आफ्ना नागरिक र पर्यावरणको सुरक्षामा ध्यान पु¥याउनु आवश्यक छ ।