पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारस्थित अमृत आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (स्वेटर) र बेल्ट वितरण गरिएको हो ।

बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच कक्षा १ देखि ५ सम्मका ५० विद्यार्थीलाई स्वेटर र बेल्ट वितरण गरिएको प्रधानाध्यापक भेषबहादुर लावतीले बताए । ‘सुसाङ्मा स्मृति अक्षयकोष २०७३’ को ब्याजबाट विद्यार्थीहरूलाई ती सामग्री वितरण गरिएको हो ।

कुम्मायक–१ स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आएका अम्बर फेवादेन र देविन्द्रकुमारी शेर्मा फेवादेनले स्वर्गीय छोरी सुसाङ्मा फेवादेनको स्मृतिमा २०७३ सालमा ३ लाखको अक्षयकोष स्थापना गरेको अक्षयकोष सञ्चालक पदम फेवादेनले जनाए । विद्यालयमा अक्षयकोषको वार्षिक ब्याजदरबाट विद्यार्थीहरूलाई बर्सेनि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।