इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले २४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
गण हेडक्वार्टर सुनसरीका प्रमुख एसपी लकेशकुमार तुम्वाहाङ्फेका अनुसार सीमा नाका क्षेत्रमा खटिएको सशस्त्रको विभिन्न टोलीले सो मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो । एसपी तुम्वाहाङ्फेका अनुसार सुनसरीको देवानगञ्ज–७ रासीबाट भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरिएको लेडिज कुर्ता सुरुवाल र दुई मोटरसाइकल गरी पाँच लाख सतहत्तर हजार ६ सय मूल्य बराबरको सरसामान बरामद गरी सेतुबन्ध भन्सार बुझाइएको छ ।
यसैगरी कोसी गाउँपालिकाको तीनकुने नाकास्थित राजमार्गबाट चेक पोइन्ट टोलीले भ्याट छली गरी सप्तरीबाट इटहरीतर्फ जाँदै गरेको पिकअप भेनमा लोड गरिएको १ लाख ७७ हजार ४ सय ५५ रुपैयाँ बराबरको जुत्ता, चप्पलसहित सवारी चालक आदर्शकुमार चन्दनलाई नियन्त्रणमा लिई १२ लाख मूल्य बराबरको पिकअप गाडीसमेत भन्सारमा बुझाइएको उनले बताए ।
यसैगरी सोही स्थानबाट काँकडभिट्टाबाट बागलुङतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट चेकजाँचको क्रममा भन्सार छलीको आशङ्काको भ्याट बिलबमोजिमको ४ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ बराबरको इसीजी मेसिन र केवलसहित राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएकोमा उक्त सामानको दाखिला मूल्य १८ लाख ४० हजार ४ सय ५० रुपैयाँ रहेको सशस्त्र गण हेड क्वार्टर सुनसरीले जनाएको छ ।
एसपी तुम्वाहाङ्फेले सशस्त्र प्रहरीले कोसी–८ बाट भारतबाट अवैध तवरले नेपालतर्फ ल्याउँदै गरिएको कपडा, किराना सामान र नेपालबाट भारततर्फ लैजाँदै गरिएको मदिरासहित छैसठ्ठी हजार नौ सय बीस रुपैयाँ बराबरको भन्सार छलीको सामानसमेत बरामद गरी भन्सारमा बुझाएको बताए ।