तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा विद्यार्थीहरूलाई उद्यमी बनाउने उद्देश्यका साथ उद्यमशीलता अभिप्रेरणा कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।
वसन्तुमखी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबार र शुक्रबार सम्पन्न गोष्ठीमा तेह्रथुमसहित धनकुटा र सङ्खुवासभाका ६ वटा सामुदायिक क्याम्पसका अध्यापक र विद्यार्थी गरी ५० जनाभन्दा बढी सहभागी रहेका थिए । विश्वविद्यालय अनुदान आयोग नेपालको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
विद्यार्थीलाई उच्चशिक्षा अध्ययनसँगै उद्यम सिर्जनामा अभिप्रेरित गर्ने तालिममा विषयवस्तुहरू समावेश गरिएका छन् । पर्यटनमैत्री वातारण, लगानी सुरक्षित, बजारीकरणका साथै पूर्वाधार विकासमा जोड दिनसके युवाहरू उद्यमतर्फ आउने उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका पूर्व प्रदेशमन्त्री लछुमन तिवारीको भनाइ छ ।
‘उद्यमीहरूको लगानी, बजारका साथै व्यवहारमा सुरक्षाको ग्यारेन्टी गर्नसके युवाहरू उद्यम व्यवसायमा आउँछन’–तिवारीले भने ।
गोष्ठीको उद्घाटन सत्रमा बोल्दै क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय विराटनगरका सह–नियन्त्रक डिल्ली प्रसाईंले विद्यार्थीलाई उच्चशिक्षा अध्ययनसँगै उद्यम सिर्जनामा अभिप्रेरित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा नगरप्रमुख अर्जुन माबोहाङले विद्यालयमा पाठ्यक्रम निर्माण गर्दाखेरी नै उद्यम सिर्जना हुने विषय समेट्नु पर्नेमा जोड दिए । उनी भन्छन्, ‘नेपालको शिक्षालाई व्यावहारिक बनाउने हो भने पठ्यक्रम निर्माणमा नै व्यावसायिक शिक्षालाई समवेश गर्नुपर्छ ।’
तालिममा नेपालमा पर्यटन व्यवसायको सम्भावना अवसर, समस्या चुनौती, उपायहरूका साथै ग्रामीण पर्यटन, कृषि पर्यटन, स्थानीय उत्पादनको बजारीकरण, होटल व्यवसायको सम्भावनालगायतका विषयमा छलफल भइरहेको छ ।
उच्चशिक्षामा अध्यायन गर्ने विद्यार्थीहरू अध्यायनसँगै व्यवसायप्रति जागरुक गर्ने उद्देश्य रहेको वसन्त बहुमुखी क्याम्पस तेह्रथुमका प्रमुख भीमप्रसाद दाहालले बताए ।
‘विद्यार्थीहरूलाई उद्यम व्यवसायप्रति भोक जगाउँदै सफल उद्यमीको रूपमा आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने ज्ञान दिने सोचका साथ हामीले पूर्वी पहाडका तीन जिल्लाका क्याम्पसका प्राध्यापक र विद्यार्थीहरूको सहभागितामा गोष्ठी सञ्चालन गरेका हौँ’–उनले भने ।
नयाँ सोचका साथ उद्यम गर्ने हो भने आफ्नो व्यवसायमा जोड दिनुपर्ने तालिममा सहभागी टङ्क थापाले बताए । तालिमको पहिलो दिन पूर्वमन्त्री तिवारी सप्तकोसी डेभलप्मेन्ट बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत कुमार खड्का र वसन्त बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेश बराललगायत उद्यमीहरूले सहजीकरण गरेका थिए । गोष्ठीमा सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।