धरान उपमहानगरपालिका–११ सोलिङका ६० वर्षीय मीठे सार्की करिब एक वर्षयता उदास छन् । दिन जति ढल्दै जान्छ, उनको मन उति नै कुँडिदै जान्छ ।

उनको बेचैनी र छट्पटीको कारण हो, २०७९ जेठ १२ गतेको कहालीलाग्दो घटना । त्यसदिन उनका एक मात्र छोरा ३२ वर्षीय सन्दीप लम्जेलको विभत्स हत्या भएको थियो । त्यो घटनाको आरोपमा १३ वर्षीय र १७ वर्षीय लागूऔषध प्रयोगकर्ता किशोरहरू पक्राउ परे । तर, उनीहरू केहीदिनमै छुटेपछि मीठेको मन झन् पिरोलियो । उनी भन्छन्, ‘ती दुई जनाले मात्रै मेरो हात्तीजस्तो छोरालाई मारे भनेर विश्वास लाग्दैन तर, के गर्नु पत्याइदिनु परेको छ ।’

धरान–८ अरुणटोलकी ३९ वर्षीया अञ्जु प्रधानको पीडा पनि कम छैन । उनका श्रीमान् विदेशमा श्रम गर्छन् । उनीहरूले छोरालाई धरानको एउटा महँगो विद्यालयमा भर्ना गरेका छन् । छोरो भने विद्यालय, घर, गाउँ र समाजमा झै–झगडामा संलग्न हुने गरेपछि घरमा भन्दा पनि बढी समय प्रहरीको थुनामा बिताउने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘कहिले झगडाको केसमा त कहिले लागूपदार्थ दुव्र्यसनको केसमा पक्राउ पर्छ । छोराले साह्रै पिर दिएको छ ।’ उनी छोराको सङ्गत र आनीबानीबारे बेलैमा बुद्धि पु¥याउन नसकेकोमा पछुतो लागेको बताउँछिन् ।

त्यसो त धरानको भानुचोक क्षेत्रमा रात परेपछि सडक बालबालिकाहरू जुत्ता टाँस्ने गम (डेन्ड्राइट) सुँघ्ने, हो–हल्ला गर्ने, मनपरी बोल्ने, घरबाहिर छुटेका सामान चोरी गर्ने, फोहोरको थुप्रो प्लास्टिकजन्य पदार्थ बटुल्ने बहानामा छरपस्ट पारी दुर्गन्धित पारिदिनेजस्ता व्यवहारले आजित छन्, सोही क्षेत्रका घरधनी विनोद रम्तेल । आफ्नी ३ वर्षीया छोरीले समेत कहिलेकाहीँ ती सडक बालबालिकाको जस्तो भाषा बोल्दा उनी झस्किन्छन् ।

लागूऔषधको दुव्र्यसनले समाजका कस्ता–कस्ता असर परिरहेको छ भन्ने उदाहरण हुन् यी घटना । लागूऔषधका कारण धरानमा आपराधिक घटना बढिरहेका छन् । लागूऔषध दुव्र्यसनका कारण समाजमा भएका अपराध सङ्ख्या तुलना गर्न सकिने भए पनि सामाजिक तथा मानसिक असरको लेखाजोखा गर्न कठिन छ ।

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २५ जना महिला तथा पुरुष लागूऔषध प्रयोगकर्ता छन् । त्यसमध्ये कोशी प्रदेशमा मात्र ५ सय ९२ महिलासहित २७ हजार ६ सय ५ जना प्रयोगकर्ता छन् । लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको छ । किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रले गरेको अध्ययन अनुसार सन् २०२० सम्म धरानमा करिब १५ सय लागूऔषध प्रयोगकर्ता रहेको पाइएको थियो । हाल भने धरानमा मात्र लागूऔषध प्रयोगकर्ताको सङ्ख्या कति छ भन्ने एकिन विवरण पाइँदैन । 

इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म लागूऔषध दुव्र्यसनका कारण ५३ वटा आपराधिक घटना भएका छन् । ती घटनामा ७० जना पक्राउ परिसकेका छन् । लागूऔषधकै कारण आर्थिक वर्ष २०७७÷०७८ मा ५७ मुद्दा दर्ता भई ८३ पक्राउ परेका थिए भने आर्थिक वर्ष २०७८/०७९ मा ५५ मुद्दा दर्ता भएर ८३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए । सुनसरीका नाकाहरूमा १ सातामा पाँच सय जनासम्म लागूऔषध प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन् ।

पहिला धरानमा लाहुरेका सन्तान र धनीमानीका छोराछोरी लागूऔषधको कुलतमा फस्छन् भन्ने मानसिकता भए पनि पछिल्लो समय परिस्थिति फेरिएको धरानकी कार्यपालिका सदस्य सावित्रा परिवार बताउँछिन् । उनी भन्छिन्, ‘अहिले सुकुम्बासी बस्तीहरूमा दुव्र्यसन बढेको छ । बेरोजगारी समस्या र देखासिकीले धनीका भन्दा गरिबका छोराछोरी कुलतमा बढी फसेको पाइन्छ ।’

उपमहानगरको प्रयास अपर्याप्त
धरान उपमहानगरपालिकाले हरेक वर्ष लागूपदार्थ दुव्र्यसन तथा जनचेतनामूलक कार्यक्रमका लागि बजेट छुट्याउँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ‘लागू पदार्थ दुव्र्यसनीहरूलाई पुनःस्थापनामा समन्वय’ शीर्षकमा १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा विद्यालय केन्द्रित लागूपदार्थ दुव्र्यसन तथा जनचेतना कार्यक्रममा ७५ हजार छुट्याइएको थियो । आ.व.२०७८/०७९ मा धरान उपमहानगरपालिका वडा नं. १ बाट लागूपदार्थ दुव्र्यसनी युवाहरूलाई अभिमुखीकरण कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ छुट्याइए पनि हालसम्म खर्च भएको छैन । चाँडै कार्यक्रम गर्न लागिएको वडासचिव रमेश राईले जानकारी दिए ।

धरान–४ मा लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रमअन्तर्गत १ लाख ४० हजार रुपैयाँ, वडा नं. ६ बाट ६० हजार रुपैयाँ, वडा नं. ८ मा ३० हजार रुपैयाँ छुट्याइएको भए पनि बजेट अभावमा कार्यक्रम हुन नसकेको पाइएको छ । वडा नं. १६ ले ४० हजार रुपैयाँ र वडा नं. १८ ले ५० हजार रुपैयाँ सचेतना कार्यक्रमका लागि छुट्याएका छन् ।

लागूऔषध दुव्र्यसनका लागि यो बजेट धरानको सन्दर्भमा हात्तीको मुखमा जिराजस्तै भएको धरान–८ स्थित अरुण टोल विकास संस्थाकी पूर्वअध्यक्ष सीता राईको भनाइ छ ।

गाउँ–गाउँमा सचेतनामूलक, अभिमुखीकरण कार्यक्रम व्यापकरूपमा गर्नुपर्ने र युवाहरूलाई समेट्ने किसिमको कार्यक्रम ल्याउनु पर्ने उनको सुझाव छ । पहिला धरानका खोलाखोल्सी र बाक्ला बस्तीहरूमा लागूपदार्थ ओसार–पसार र बिक्रीवितरण हुँदै आएकोमा हाल चारकोसे जङ्गल लागूपदार्थको कारोबार हुनेस्थल बनिरहेको छ । धरान–८ स्थित दुर्गापथ टोल विकास संस्थाका अध्यक्ष सुवास श्रेष्ठ प्रहरी र जनप्रतिनिधिसमेत राखेर चेतनामूलक कार्यक्रम गर्दा पनि मान्छे नआउने र दुव्र्यसनमा फसेकाहरूका परिवारले ध्यान नदिने गरेको अनुभव सुनाउँछन्् । उनी भन्छन्, ‘दुव्र्यसनमा फसेकाहरूको हुल देखेर आजित भइसक्यौँ ।’ त्यसो त धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रबार लागूपदार्थ दुव्र्यसनविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । तर, एकातिर जनचेतनामूलक कार्यक्रममा बजेट छुट्याउन नसक्नु र छुट्टिएको बजेटमा पनि कार्यक्रम हुन नसक्नुले धरानमा लागूऔषधमा फस्नेहरूको सङ्ख्या बढिरहेको जानकारहरू बताउँछन् ।

सहकार्य आवश्यक
मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ हो । शारीरिक र मानसिक स्वास्थ्य चेतना र अनुभूतिलाई विकृत तुल्याउने लागूपदार्थ हो र सो पदार्थको अनावश्यक प्रयोग नै दुव्र्यसन हो । गाँजा, चरेस, अफिम, भाङ, धतुरो, रक्सीका साथै नाइट्रोजन, नोफिन, कोडिन, कोरेक्स, फेनकोडिन जस्ता साइकोट्रपिक सब्स्ट्यान्सहरू लागूपदार्थभित्र पर्छन् । लागूपदार्थ नेपालमा ओसार–पसार र बिक्रीवितरण गर्न बन्देज गरिएको छ ।

तर, अवैधरूपमा यसको कारोबार र प्रयोग हुने गरेको छ । विशेषगरी युवायुवतीले देखासिकीमा यसको प्रयोग गर्ने गरेका छन् । उप्का नेपालका बोर्ड सचिव विजय अछामीका अनुसार मानसिक तनाव, पारिवारिक समस्या र साथीहरूको दबावले धेरैजसो लागूऔषधको दुव्र्यसनमा फस्ने गरेका छन् । दुव्र्यसनमा फसेपछि त्यहाँबाट बाहिर निस्कन धेरै गाह्रो हुने उनको भनाइ छ ।

दुव्र्यसनमा फसेपछि मानसिक र शारीरिकरूपमा कमजोर हुने, एचआईभी, हेपाटाइटिस, यौनजन्य रोगहरू लाग्ने खतरा पनि उत्तिकै हुन्छ ।

लागूऔषधको दुव्र्यसनमा फसेकाहरूलाई उपचार गरी समाजमा पुनस्र्थापना गर्नका लागि धरानमा विभिन्न सुधार केन्द्रहरू सञ्चालित छन् । धरान–६ पानवारीमा नेपाल प्रहरी श्रीमती सङ्घले सञ्चालन गर्दै आएको आसरा सुधार केन्द्रमा हाल ९१ जना १८ देखि ५५ वर्ष उमेर समूहका लागूऔषध प्रयोगकर्ता उपचारका क्रममा रहेको त्यहाँ कार्यरत असइ अनिलप्रसाद भण्डारी बताउँछन् ।

धरान–१६ स्थित नवआस्था पुनर्जीवन केन्द्रमा १६–६१ वर्षसम्मका १६ जना उपचाररत छन् । त्यस्तै धरान–१३ मा रहेको किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रमा १६ देखि ६५ वर्षसम्मका १७ जना छन् । नेपालमा २ सय ४० भन्दा धेरै सुधारगृहहरू छन् । यसमा धरानमा जस्तै देशका अन्य ठाउँमा पनि लागूऔषध दुव्र्यसनको अवस्था विकराल बन्दै गरेको देखिन्छ ।

धरान–९ का  वडाध्यक्ष रूपेश आचार्य लागूऔषध सेवन तथा कारोबार हुने मुख्य स्थानहरूमा विशेष सुरक्षा योजना बनाई प्रहरी परिचालन गरिनुपर्ने बताउँछन् । सचेतनात्मक कार्यक्रम प्रभावकारी बनाउन र स्रोतको पहिचान गरी न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । मिजार समुदाय महासङ्घ प्रदेश उपाध्यक्ष धनबहादुर हमाल लागूऔषधको दुव्र्यसनबाट जोगाउन बालबालिकालाई आत्मविश्वासी, आत्मनिर्भर र स्वाबलम्बी बन्न प्रेरित गर्नुपर्ने बताउँछन् ।

समुदाय–प्रहरी साझेदारी सचेतनामूलक कार्यक्रममा प्रशिक्षण दिँदै आएका असइ रुद्र खड्का लागूऔषध दुव्र्यसनको न्यूनीकरण राज्य एक्लैले गर्न सम्भव नरहेको बताउँछन् । उनी भन्छन्, ‘हरेक समुदाय सङ्घ–संस्था र हरेक व्यक्ति आफै लागे मात्र दुव्र्यसन न्यूनीकरण सम्भव हुन्छ ।’