देउराली । लागु औषध गाँजा सहित झापामा दुई महिला पक्राउ परेका छन् । प्रहरीले झापाको दमक नगरपालिका ३ स्थित शान्ति मार्गबाट १७ किलो गाँजासहित स्थानीय ६५ वर्षीय फुलमाया लिम्बू राई र बिर्तामोड नगरपालिका ५ सुकुम्वासी बस्ती कि अन्दाजी ६० वर्षीय सैरुन खातुन भन्ने चम्फा चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार लागु औषधको कारोबार भई रहेका भन्ने सूचनाका आधारमा वैशाख २६ गते इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरी सँगको संयुक्त टोलीले फुलमायालाई नियन्त्रणमा लिएको थियो उनको साथबाट प्रहरीले १७ किलो गाँजा बरामद गरेको कार्यालयले जनाएको छ ।
त्यस्तै विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्क र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याक गरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।