Lara 

  • -लारा


“तपाईको मुख मात्रै रहेछ ।’ रविजीले कटाक्ष दिनु भयो । 

“भन्नुस न ! गर्नु पर्ने चाहिं के हो र ?’-मैले प्रश्न गरेँ ।

संवाद यसरी सुरु भयो ।

अन्ततः रविजीले आफुले अध्ययन गर्नुभएको बिद्यालय श्री नवजागृत माध्यमिक बिद्यालयका लागि तयार ‘निलो ब्याग तथा शैक्षिक सामग्रीहरु’ वितरण गर्नुका लागि तयारी अवस्थामा रहेको तर आफु लन्डन तुरुन्त फर्किनुभएको कारणले मैले वहाँको परोपकारी संस्था ‘द लामिछाने फाउन्डेसन’ मार्फत वितरण गरिदिनु भन्ने आग्रहमा, मैले भने‘ खै ! भ्याउँदिन कि !’ भन्ने मेरो जवाफमा वहाँको कटाक्ष थियो-

“तपाईको मुखमात्रै रहेछ ।’ 

संबाद जसरी सुरुवात भए पनि यसको टुंगो अत्यन्तै अवस्मरणीय रह्यो । 

१७ बैशाख, पर्वत जिल्लाको मोदी गाउँपालिका-६ तिलाहारमा रहेको नवजागृत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरियो । सफल युवा व्यवसायी एबं समाजसेवी मित्र रविन्द्रजंग लामिछाने ‘रवि’ द्वारा स्थापित द लामिछाने फाउण्डेशनबाट उक्त विद्यालयको कक्षा १ देखि ६ कक्षासम्म पढ्ने १ सय २० जना बिद्यार्थीलाई विद्यालय निलो ब्याग, कापी तथा सिसाकलमहरु वितरण गरिएको थियो । आफ्ना वुवा चन्द्रजंग लामिछाने र आमा रुक्बिना लामिछानेको स्मृतिमा स्थापित रविचन्द्र ट्रष्ट तथा द लामिछाने फाउण्डेसनको संयोजनमा आफ्नो जन्मथलोमा शैक्षिक विकासका योगदान गर्नुपर्छ भन्ने मान्यताका अनुरुप शैक्षिक सामाग्री सहयोग गर्ने वहाँको परोपकारी यात्रामा संयोजकको हैसियतले पर्बत यात्रा मेरा लागि अत्यन्तै अवस्मरणीय रह्यो । 

फलतः पर्वत यात्राको यात्रा संस्मरण नलेखी रहन सकिन । प्रसंगलाई अलिकति फर्केर पछाडी हेर्दा- 

गत सेप्टेम्बर महिना-हामी आमाछोरी ‘मेची टु महाकाली’ शैक्षिक यात्राको क्रममा बाग्लुङ्ग जाने क्रममा थियौं । त्यतिबेला नै रविजीले आफुले अध्ययन गर्नु भएको बिद्यालय सोहि बाटोमा नै पर्छ, यसो जाँदा, जाँदै पस्नु होला भन्ने सुझाव दिनु भएको थियो । 

346097209_791850898916435_5322714554131876709_n

त्यसो र, सेप्टेम्बरमा नै हामी रविजीले पढ्नु भएको बिद्यालय श्री नवजागृत बिद्यालय पुगिसकेको र प्रधानाध्यापक श्री बिष्णु प्रसाद सुबेदी सरसंग रामरी चिनजान भईसकेको कारणले पनि यस सालको नयाँ बर्षको शैक्षिक सामग्री बितरण कार्यक्रममा उपश्थित भईदिनुस भन्ने रविजीको आग्रहलाई मैले नाई भन्ने अवथा नभए पनि समयको पाबन्दी भने अवश्य थियो ।

तथापि, रविजीको कटाक्ष भन्दा पनि शिक्षा जस्तो पुण्य कार्यको सुअवशरलाई मैले गुमाउनु चाहिन ।

जीवनको आरोह/अवरोहमा धेरै अनुहारहरु भेटिए ।

भेटिनु र छुट्टिने क्रमहरु जीवन रहुन्जेल निरन्तर चलि नै रहन्छ-आफन्त होस् या साथी-संगाती । यहाँ आफ्नै सास आफ्नो हुँदैन-कतिबेला समय आउँछ पत्तै हुँदैन । शिक्षा र समुदायका लागि गरिने कार्यहरु मेरा लागि झन् आत्मीय नहुने कुरै भएन । घरमा स्वीकृति लिनु छँदै थियो । त्यसो त मेरो कार्य क्षेत्रदेखि परिचित मेरो सासु र घर परिवारले मलाई जाने अनुमति दिएपछि रविजीलाई लागि सुचित गरेँ । शिक्षा क्षेत्रमा नै कार्यरत मेरो मामाको छोरी हिरा बहिनि पनि म संगै जाने भईन् । बिहिबार साँझ संक्षिप्त सल्लाहपछि उता पर्वतमा बिष्णु सरसंग कुराकानीहरु भए । 

शुक्रबार- सबै शैक्षिक सामग्रीहरु पर्वत पठाउने तयारी भएको कुरा रविले अपडेट दिनु भयो । अनि शनिबार बिहान काठमाडौँदेखि हिंडेर सोहि साँझ पर्वत पुगेर भोलिपल्ट आईतबार बिद्यालयका लागि द लामिछाने फाउन्डेसनका तर्फदेखि संयोजकको भूमिकामा निलो ब्याग एबं शैक्षिक सामग्री वितरण कार्यकममा सरिक हुने निधो गरियो । र, केहि दिन अघि म पर्वत, तिलाहार लाम्पटामा थिएँ ।  

छोटो सुचनामा पनि विधालयका प्राध्यापक श्री बिष्णु सुबेदी सर र बिद्यालय कमिटिको उदाहरणीय कार्यको जति प्रसंसा गरे पनि कम हुन्छ । त्यो ऐतिहासिक एबं अविस्मरणीय क्षणको यात्रा संस्मरण लेख्दै गर्दा थाहा लाग्यो, आमाको आज दोश्रो बार्षिक पुण्य तिथि रहेछ । र, यो भन्दा अर्को महत्वपूणर् संयोग र गर्विलो क्षण मेरा लागि के होला र ! 

प्रसंग तर यतिखेर मोडिएर बिद्यालयको शैक्षिक सामग्री वितरणको परोपकारी कार्यको आनन्दानुभूति भन्दापनि लामिछाने परिवार बिशेषतः रविजीको त्यो विश्वास र आत्मियताले नतमस्तक त बनाएको हो नै अझ वहाँका दाजु महेन्द्रजंग अनि दिदि इन्दु खड्का लामिछाने अनि दिपेन्द्र भाइ वडा अध्यक्ष दिपेन्द्रजंग लामिछानेको हक्की स्वभाव सबैसंग आत्मीय हुने अवशर जुर्यो । बाटोमा जिप रोकेर एँसेलु खाएको देखि सविस्तार कुनैदिन लेखौंला, पर्वत शैक्षिक भ्रमणबारे-यात्राका अनगिन्ती अनुभवहरु । 

त्यो गाउँ, घरसंगै आमाको सम्झना रविजीले प्रायजसो गरिरहनु हुन्थ्यो । रविजीले आमाकाबारे निरन्तर सुनाईरहनु भएपनि-स्वयं गाउँमा गएर आमाको पुन्य, दान-धर्मको कामहरुको प्रत्यक्ष अनुभवहरु लिने मौका पाएँ । दिपेन्द्र, राम र उनका छोराले गाउँको सेरोफेरो घुमाउँदै गर्दा आमाले रोप्नु भएको बर पिपल अनि चौतारीमा सुस्ताईरहेका बटुवाहरुसंगै केहि बेर सुस्तायौं ।

IMG-0051

नेपाल बारम्बार गए पनि बर्षौं भएको थियो यसरी बर पिपलको चौतारीमा सुस्ताउन नपाएको । अनि डाँडाको डिलमा उभिएर पर, पर गाउँहरु औंलाएर आनन्द लिन नपाएको । 

त्यो भन्दा पर्तिर रातो माटोले पोतेको घरको बयान गीतहरुमा सुन्दै आएपनि त्यस्तो घरको माटो सुबासको आनन्द लिन पाएकी थिईंन । यहाँ त्यस्तै सुन्दर घर देखें । महेन्द्र दाइ भन्दै हुनुहुन्थ्यो, ‘यो घर करिब सय साल भन्दा त् पुरानो हो ।’ ढुंगाले छाएको छानो उस्तै अझै पनि, कलात्मक ! मैले महेन्द्र दाइको अनुमतिमा घरको माथिल्लो तलामा उक्लंदै गर्दा बुवा चन्द्रजंग लामिछानेको फोटो भित्तामा देखें । त्यो माथिल्लो तलामा कोहि जान्दैनन् । बन्द छ । एउटी कहाँ, कहाँको राईनी कहाँ देखि आइपुग्यो होला भनेर बुवाले हेर्नु भयो होला मलाई भन्दै माथि उक्लिएर झ्यालदेखि टाउको निकालेर केहि थान फोटो लिनभ्याएँ ।

 IMG-0052

यदि तपाइँ ब्रह्माण्डमा विश्वास गर्नुहुन्छ भने कहिलेकाहीं संयोग, मात्र संयोग मात्रै हुँदैन क्यारे ! रविजीसंग मेरो पहिलो भेट दुइ बर्षअघि स्वर्गीय आमाको दुःख बारेर बसिरहनु भएको बेला नै नबिन पोख्रेल भाइको सम्पर्कद्वारा भएको थियो । परोपकारी कार्यका लागि वहाँसंग नजिक हुन पुगेको हाम्रो परिचय सौहाद्रपूणर् ढंगले आत्मीय हुन पुग्यो । जहाँ उद्देश्यहरु समाजको हितका लागि गरिने कार्यहरुका लागि पारदर्शी हुन्छन् निःस्वार्थ एबं निःसर्त सम्बन्धहरु पनि स्वतः गर्विलो र टिकाव बन्दो रहेछ ।

भन्न त हामी ग्लोबल भिलेजमा बस्छौं तर हिजोआज आत्मियता हराउँदै गएका आफन्त र मानवियता हराउँदै गएको समाजमा र संसारमा सम्बन्धहरुको दायरा संकुचित सोचहरुमा खुम्चिंदै गएको छ । नपत्याउँदो ! रविजीको पुख्र्यौली घरमा एक रात बिताउने सौभाग्य प्राप्त गरें । पर्वत शैक्षिक यात्राको छोटो यात्रा तर यादगार रह्यो । महेन्द्र दाइले भन्नु भएको अझै पनि सम्झिन्छु-‘बैनी, हाम्रो गाउँ आएपछि, हाम्रो घर नबसेर कहाँ अन्त बस्ने ? यस्तो हुनै सक्दैन ।’ त्यो अपनत्व सुनेर उबेला नै म भावुक बनेकी थिएँ । रविजीले पनि बारम्बार भन्नुहुन्थ्यो, ‘जमिनसँग जोडिनु पर्छ मानिसले, जहीं गए पनि र जीवनमा जति नै सफलता हासिल गरेपनि हाम्रो जमिन, जरा र जननी बिर्सर्नु हुँदैन ।’ 

यहि मेसोमा दिदि इन्दुसँग पनि छोटो भेट भयो । मेरी बहिनि भन्दै थिईन, ‘हृदयमा हरिले बास गरेको मान्छे रहेछन् रवि दाजु ।’ ऊ दंग थिई आफैंमा । भनिन्छ- देवदूतहरु असल मित्रका रुपमा आउँछन् यो धर्तिमा । प्रचलित भनाईलाई उधृत गरेकी हुँ । कर्मले मान्छेको पहिचान गराउँछ । भिडहरु भन्दा अलग ! फराकिला हृदय भएका असल परोपकारी मित्र मात्रै हैन, पर्वत, तिलाहारमा धेरै अन्य न्यानो मन भएका सहृदयीहरु पाएर म दंग छु । यो संस्कार दिनु हुने आमा-बुवा दुवै इश्वरको प्यारो भईसक्नु भएको छ । 

346103421_777455197300582_335571066948117990_n

स्वर्गीय आमालाई-

घर त्यहि हो, 

आँगन त्यहि छ 

छैन केवल 

पद चापका आवाजहरु तपाईका

तर स्मृतिका पैताला डोबहरु त्यहीं छ।

रहने त सत्कर्म नै हो । 

आमा, आमा नै हो । 

स्वर्गीय आमा, रुक्बिना लामिछानेज्युको दोश्रो बार्षिकीमा हार्दिक श्रद्धा सुमन!