विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले ढिलासुस्ती गरिदिँदा बिरामी थप समस्यामा परेको आफन्तले गुनासो गरेका छन् ।

धरान–२ का परमानन्द अग्रवालले शनिबार पत्रकार सम्मेलन गरी बिरामी छोरा मुकेश अग्रवालको शल्यक्रिया गर्ने पाएको मितिमा शल्यक्रिया नभएको गुनासो गरे । छोराको शल्यक्रिया गर्न दुई महिनाअघि डा. लोकेश जैसवालले समय दिएको उनले बताए । उनले भने, ‘डाक्टरले समय दिएकै दिन अप्रेसनका लागि आएका थियौँ । फेरि एक हप्तापछि बोलाइयो । पुनः एक हप्तामा अप्रेसन थिएटरमा जाँदा हामीमाथि दुव्र्यवहार गरियो ।’

बिरामीको बहिनी पूजा अग्रवालले डा. जैसवालले दोस्रो पटक शुक्रबार शल्यक्रियाका लागि बोलाएको बताइन् । उनले भनिन्, ‘शुक्रबार अप्रेसन गर्न अप्रेसन थिएटरमा गयौँ । डा. पनि भेटिनुभएन । अप्रेसन थिएटरमा प्रवेश गरेपछि ‘सेरोलोजी टेष्ट’ गर्नुभएको रहेनछ, हुँदैन भन्दै फर्काइयो ।’ उनले डा. जैसवालले शल्यक्रिया गर्नुअघि सेरोलोजी टेष्ट गरेर आउनू भनेर नलेखेको र आफूलाई नभनेको पनि बताइन् । डा. जैसवाललाई शल्यक्रिया कक्षमा नभेटेपछि फोन गर्दा ‘म बिजी छु, भ्याइयो भने गर्छु । मेरो काम अप्रेसन गर्ने होइन’ भनेर जवाफ दिएको उनले बताइन् ।

सो विषय लिएर उनीहरू प्रशासनमा पुगेका थिए । प्रशासनमा पुग्दा डा. जैसवाल पनि त्यहीँ रहेको र आफूलाई डा. जैसवालले ‘ममाथि हातपात गर्ने दुव्र्यवहार गर्ने, तिमीहरूलाई जेल हाल्छु’ भन्दै धम्क्याएको बताइन् । घटनाबारे ब्लाष्टकर्मीले डा. जैसवाललाई फोनसम्पर्क गरी बुझ्न खोज्दा प्रवक्तालाई बुझ्न आग्रह गरे । तपाईंमाथि आरोप छ नि भन्ने जिज्ञासामा जैसवालले भने, ‘धेरैले फोन गरिरहनुभएको छ । जे मन लाग्छ, त्यही लेख्नुस् ।’

यसबारे प्रतिष्ठानका सह–प्रवक्ता चूरामणि पोखरेललाई बुझ्दा डा. जैसवाल अर्कै शल्यक्रियामा रहेको अवस्थामा पीडित बिरामीका आफन्तले फोन गरी पत्रकार सम्मेलन गर्छु भन्दै दबाव दिएका कारण विवाद उत्पन्न भएको देखिएको बताए । उनले फोनसम्पर्कमा भने, ‘उहाँको सघन अप्रेसन भइराखेकाले ढिलो भएको रहेछ । गर्दिनँ भनेको चाहिँ होइनरहेछ ।’ उनका अनुसार सामान्यतः शल्यक्रिया गर्नुअघि सेरोलोजीको नयाँ रिपोर्ट चाहिने भएकाले उक्त रिपोर्ट नहुँदा समस्या भएको देखिएको छ । सेरोलोजीको परीक्षण शल्यक्रिया गर्नुअघि १ महिना अवधि भएको रिपोर्ट मान्य हुने उनले जानकारी दिए ।