विराटनगर ।  पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा तीन महिना अगाडीदेखि मतिष्कमा जमेको रगत निकालेर सफल शल्यक्रिया गरी एक जना विरामी बचाएको छ । 

खोटाङ्गको जन्तेढुङगा गाउँपालिका – ६ का ६९ वर्षीया प्रताव सिंह राईको मतिष्कमा जमेको रगत कोशी अस्पतालका  न्यूरो सर्जन डाक्टर चन्द्रप्रकाश यादवको टिमले सफल शल्यक्रिया गरेर विरामी बचाएको हो । 

राई रूखबाट लडेर तीन महिना अगाडी टाउँको चोट लागेको थियो । उनले स्थानीय स्वास्थ्य चौकीमा प्राथामिक उपचार गरेपछि घरमै बसे । भित्री चोट लागेकोले उनलाई बिस्तारै विरामले च्याप्दै गयो । पछि हात, खुट्टै चल्न छोडेर एक ठाउँबाट अर्को ठाउँसम्म जान  नसक्ने भएर राई ओछ्यानमा थला परे ।

आर्थिक अवस्था पनि नाजुक भएकाले परिवारको सल्लाह अनुसार सरकारी हस्पिटलमा उपचार गर्न लैजाने निधो गरे । सोही अनुसार परिवारका सदस्यले राईलाई विराटनगरस्थित कोशी हस्पिटलको न्यूरोको ओपीडिमा १८ वैशाखमा लिएर आए । न्यूरो सर्जन डाक्टर चन्द्रप्रकाश यादवले विरामीको सिटी स्क्यान गरेर हेरेपछि लडेर लागेको चोटको कारण मतिष्कमा पुरानो रगत जमेको देखियो ।

न्यूरो सर्जन डाक्टर यादवको नेतृत्वको टिमले विरामी राईको मतिष्कमा जमेको पुरानो रगत १९ वैशाखमा शल्यक्रिया गरेर  सफल उपचार गरेका छन् । ‘लामो समयदेखि मतिष्कमा रगत जमेको थियो । जमेको रगतलाई टाउँकोमा सानो दूलो बनाएर बाहिर झिकियो । यसलाई मेडिकल भाषामा बरहोल इभाकोसन अफ सव भन्ने गरिन्छ,’ न्यूरो सर्जन डाक्टर यादवले भने, ‘झण्डै दुई हप्ताको सफल उपचार पछि डिस्चार्जको तयारी गरिएको छ । अहिले विरामी मज्जाले हिडडुल र बोल्न सक्ने भएका छन् ।’ यसरी मतिष्कमा जमेको रगत चाँडै शल्यक्रियाको माध्यमबाट चाँडै झिक्नुपर्ने उनले बताए । ‘ढिलो भए विरामीलाई असर पर्ने गर्दछ,’ उनले भने ।

राईको स्वास्थ्यमा सुधार आएपछि हस्पिटलले सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज गर्नुभन्दा अगाडी संचारकर्मीसँग कुराकानीमा आफुले नयाँ जीवन पाएको बताए । ‘बाचदीन जस्तो लागेको थियो । शौच पनि बसेकै ठाउँमा हुने गरेको थियो । एक ठाउँबाट अर्को ठाउँसम्म जान नसक्ने, एक पाटोको हात र खुट्टा पनि चल्दैन थियो । अब यतिकै थला परेर मर्ने भए भनेको विरामीलाई कोशी हस्पिटलको डाक्टरको टिमले मलाई पुनः जन्म दिएको छ,’ हर्षिद मुद्रामा देखिएका राईले भने, ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु । एक ठाउँबाट अर्को ठाउँसम्म कसैको साहार विना जान सक्ने भएको छु ।’ उपचारमा संलग्न डाक्टरप्रति उनी प्रतज्ञ छन् । 

कोशीको ओपीडिमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडिमा चिकत्सक यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबा र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ । 

कोशी अस्पतालका निमिक्त मेसु डा रविराज सिंहले न्यूरो सर्जरीको सेवाहरु कोशीमा सफल उपचार भइरहेको बताए । सिमित दरबन्दी अनुसार चिकित्सकहरुले गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए । २० वर्ष अगाडीदेखिको दरबन्दी अनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला विरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडमा ५ देखि ६ सय विरामी हुने गरेको थियो । अहिले दैनिक ओपीडिमा १५ सय देखि २ हजारसम्म विरामी आउने गरेका छन् । पुरानो दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहलकदमी गरिरहेका छौं,’ मेसु सिंहले भने ।