विजयपुर । सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित भवानीथान गढीक्षेत्रका रूख अवैधरूपमा कटान प्रकरणको मुद्दा दायर गर्ने तयारी भएको छ ।

वराहक्षेत्र–१ स्थित भवानीथान मन्दिर गढीक्षेत्रमा २०७९ भदौमा नै २३ वटा रुख काटिएका थिए । पर्यटन विकासका लागि भन्दै राष्ट्रिय वनक्षेत्रमा पर्ने धार्मिक वनको रुख वराहक्षेत्र–१ खारखोलाका स्थानीय विपिन मगर भनेर चिनिने विपेन मगरले काटेको आरोप छ । तर, वन कार्यालयको अकर्मण्यताका कारण रुख कटान भएको ८ महिनासम्म पनि अनुसन्धान नै भएको थिएन । आइतबार ब्लाष्टमा समाचार प्रकाशित भएपछि वन कार्यालयले प्रक्रिया अघि बढाएको छ ।

सव–डिभिजन वन कार्यालय वराहक्षेत्रका रेञ्जर तथा रुख कटान प्रकरणका अनुसन्धान अधिकृत शिशुराज झाले प्रक्रिया अघि बढाएको बताए । उनले भने, ‘मुद्दा दर्ताका लागि कागजात तयारी गर्दैछौँ ।’ उनले सोमबार सव–डिभिजन कार्यालय वराहक्षेत्रमा उपस्थित भएको पनि बताए ।

भवानीथान गढीको रूख कटान प्रकरणः ८ महिनामा पनि सकिएन अनुसन्धान

डिभिजन वन कार्यालय सुनसरीका निमित्त डिभिजन वन अधिकृत धर्मानन्द यादवले मुद्दा दर्ताका लागि सव–डिभिजन कार्यालय वराहक्षेत्रलाई पत्राचार गरेको बताए । उनले भने, ‘वन ऐन २०७६ अनुसार चाँडै मुद्दा दर्ता हुन्छ ।’

ऐतिहासिक गढी क्षेत्रको २३ वटा रुख ८ महिनाअघि काटिए पनि वनका कर्मचारी र राजनीतिक छत्रछायाँमा अनुसन्धान प्रक्रिया अघि नबढेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

विपिन नेपाली काङ्ग्रेस वराहक्षेत्र–१ का सचिवसमेत भएको बुझिएको छ । स्थानीयका अनुसार उनले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्याराग्लाइडिङ उडाउने भन्दै रुख काटेका थिए । ब्लाष्टमा समाचार प्रकाशित भएपछि प्रक्रिया अघि बढेको छ । वन ऐन २०७६ अनुसार मुद्दा दर्ता भएमा आरोपितलाई ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिबाना हुने व्यवस्था रहेको छ ।

वन ऐन २०७६ को परिच्छेद १५ मा कसूर र सजायसम्बन्धी व्यवस्था रहेको छ । ऐनको दफा ५० मा सजायसम्बन्धी व्यवस्था छ । दफा ५० को उपदफा ३ मा दफा ४९ को खण्ड (ग) अन्तर्गतको कसूर गर्नेलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । दफा ४९ को (ग) मा राष्ट्रिय वन फाँड््ने वा वन क्षेत्रमा जग्गा जोत्ने, खन्ने, खनिज कार्य उत्खनन् गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा कसूर मानिने व्यवस्था छ ।

यस्तै ऐनको दफा ५० को ४ मा दफा ४९ खण्ड (घ) अन्तर्गतको असूर गर्नेलाई क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । दफा ४९ को (घ) मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसूर मानिने व्यवस्था छ । वनक्षेत्र घट्न दिन नहुने अन्तर्राष्ट्रिय मान्यता रहेको छ । नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नका लागि नेपालका वनक्षेत्र न्यूनतम् ४० प्रतिशत हुनुपर्छ । हाल नेपालमा वनक्षेत्र ४५ प्रतिशत रहेको छ ।