मान्छेले मान्छेलाई समान व्यवहार गर्नुपर्छ भन्ने दार्शनिक दृष्टिकोण नै कम्युनिजम् हो । यो अवधारणाले हेला–होचो, धनी–गरिब, ठूलो–सानो, शोषण, विभेद र असमानता स्वीकार गर्दैन । तेरो–मेरो, परिवार र आफन्तजस्ता निजी स्वार्थ, लोभ र लालशा मान्दैन । यसले आधारभूतरूपमै सिङ्गो मानव समाजमा समानता, न्याय र उन्मुक्तिको वकालत गर्दछ । १९औं शदीको मध्यतिर कार्लमाक्र्स र फेडरिक एङ्गेल्सले कम्युनिष्ट दर्शनलाई मूर्तरूप दिएपछि यसले संसारैभरि नयाँ बहस आरम्भ गरेको देखिन्छ । बहुसङ्ख्यक मजदुरहरूमाथि कहालीलाग्दो शोषण र अन्याय भइरहेको परिप्रेक्ष्यमा यो दार्शनिक दृष्टिकोण प्रतिपादन गरिएको हो । वस्तुतः यो माक्र्स र एङ्गेल्सको रहर, सनक र इच्छा नभएर तत्कालीन वर्ग अन्तरविरोधपूर्ण समाजको अपरिहार्य आवश्यकताको उपज थियो । वस्तुतः मान्छेले मान्छेमाथि गरेका अमानवीय शोषण, अन्याय, विभेद र हेला–होचोजस्ता वस्तुगत धरातलमा कम्युनिष्ट विचारको जन्म भएको हो ।

दास समाजदेखि सामन्ती समाज हुँदै पुँजीवादी समाजसम्म आइपुग्दा शोषण सम्बन्ध उत्कर्षमा पुग्यो । पुँजीवादी समाज व्यवस्थामा शोषण र विभेद अझ तीव्र हुँदै गयो । औद्योगिक उत्पादन वृद्धिसँगै अतिरिक्त मूल्य पनि विस्तार हुँदैगयो । तब उत्पीडक र उत्पीडित वर्गबीचको अन्तरविरोध झनै धारिलो बन्दै गयो । यसरी मान्छेले मान्छेमाथि गरिने सबैखाले अन्यायपूर्ण व्यवहार तत्कालीन उत्पीडक शासक वर्गबाहेक कसैलाई पनि सह्य थिएन । त्यतिखेरको मुख्य उत्पादक शक्ति बहुसङ्ख्यक उत्पीडित मजदुरहरू थिए । तर, उनीहरूको उत्पादनका साधनहरूमा कुनै पहुँच थिएन ।  सम्पूर्ण उत्पादनका साधनहरूमा सीमित पुँजीपति वर्गको पूर्ण नियन्त्रण थियो । अर्थात् तमाम् उत्पादनका साधनहरूमाथि पुँजीपतिहरूको निजी स्वामित्व थियो । अर्थात् शोषण, विभेद र असमानता तत्कालीन समाजको अर्थराजनैतिक चरित्र थियो । यही पृष्ठभूमिमा यसको विकल्पको रूपमा सबैको साझा उत्पादनको साधन, साझा स्वामित्व, साझा वितरण र साझा उपभोगको मान्यता अनुरूप साम्यवादी सिद्धान्तलाई न्यायपूर्र्ण अर्थराजनैतिक विकल्पको रूपमा पेश गरियो । 

वस्तुतः कम्युनिष्ट सिद्धान्त भनेको परिवर्तन, न्याय, समानता र साझा स्वामित्वलाई पक्षपोषण गर्ने विचार हो । यो सबैखाले उत्पीडनविरुद्धको राजनैतिक आन्दोलन हो । निजी स्वामित्व, नाफा, असमानता र विभेदपूर्ण वितरणको उन्नत राजनैतिक विकल्प हो । विकृति, विसङ्गति र दुराचारविरुद्धको प्रगतिशील हतियार हो । भ्रष्टाचार, कमिसन, दलाली, तस्करी र श्रम विनाको आर्जन गर्ने परजीवीवाद विरुद्धको अर्थराजनैतिक अभियान हो साम्यवादी आन्दोलन । साम्यवादी विचार भनेको आस्था, विश्वास, इमान–जमान, नैतिकता, विवेक र सचेतनाहरूको केन्द्रीकरण हो  । सामूहिक विचार र भावना, उन्नत श्रमशैली, जीवनशैली, कार्यशैली, वस्तुवादी र व्यावहारिक सामाजिकी, प्रगतिशील संस्कृति, फलामे अनुशासन, सभ्य, विवेकशील, उन्नत, सचेत र साझा मनोविज्ञान निर्माणको निरन्तर प्रक्रिया हो । पुँजीवादी उत्पादन पद्दतिमा मजदुरहरू मुख्य उत्पादक शक्ति हुन् । तर, उत्पादित मालको हिस्सा भने सीमित पुँजीपतिहरूको पोल्टामा जाने गर्दछ । कम्युनिष्टहरूले उठाउँदै आएको सारभूत अहम् प्रश्न यहीँनेर हो । त्यसकारण यस्ता तमाम् अनुत्तरित यक्ष प्रश्नहरूको सही जवाफ दिँदै विद्यमान सबैखाले समस्याहरूको वैज्ञानिक समाधान दिनको लागि सबैभन्दा बढी कम्युनिष्टहरूले जिम्मेवारी बोध गर्दै रूपान्तरण हुन जरुरी छ । मूलतः सामूहिक वा सामाजिक हित वा स्वार्थको लागि सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक विरासत कायम गर्नु नै कम्युनिष्ट बन्नु र बनाउनु हो । 

नेपाली राष्ट्रिय राजनीतिलाई कम्युनिष्ट दृष्टिकोणले नेतृत्व गरिरहेको छैन । थेसिस र दस्तावेज कम्युनिष्टको असाध्यै उन्नत रहेको छ । तर, कार्यदिशागत राजनैतिक जीवन व्यवहार भने औसत संसद्वादी पार्टीहरूको भन्दा अझ तल्लोस्तरको देखिन्छ । आजका कम्युनिष्ट भनाउँदाहरू विचार र व्यवहारबाट हेर्दा गैर–कम्युनिष्टभन्दा बीसको उन्नाईससम्म पनि प्रगतिशील देखिँदैनन् । यो दुःखद् विडम्बना र लज्जाको विषय हो । विद्यमान विकृति र विसङ्गतिहरूलाई निस्तेज गरी उन्नत र सभ्य समाज निर्माण गर्ने हो भने सबैभन्दा पहिला आफ्नो आधारभूत वैचारिक धरातलमा उभिएको कम्युनिष्ट पार्टी, नेता, कार्यकर्ता र आम जनता बन्न सक्नु पर्दछ । रूपान्तरण कम्युनिष्टहरूबाटै सुरु गर्नु पर्दछ । अरू पार्टी र नेताहरूबाट यो सम्भव हुँदैन । परिवर्तन, न्याय, समानता, सुशासनसहितको उन्नत समाजवादी शासन व्यवस्थाको लागि आम सचेतना जगाउने कम्युनिष्ट नै हो । अन्याय, विभेद र उत्पीडनविरुद्ध सङ्गठित विद्रोह बोल्न सिकाउने कम्युनिष्ट नै हो । ठूला–साना, धनी–गरिब, शिक्षित–अशिक्षित अनि गाउँ र सहरका आम नागरिकहरूलाई सङ्घर्ष र आन्दोलनको कखरा पढाउने कम्युनिष्ट नै हो । समानता र सामाजिक न्यायसहितको समाजवादी राज्यसत्ता प्राप्तिको शिखर चढ्न दुःख–कष्ट झेल्न सिकाउने कम्युनिष्ट नै हो । अधिकार लडेर वा विद्रोह गरेर मात्रै पाउन सकिन्छ भन्ने कम्युनिष्ट नै हो । दीन–दुःखीहरू पनि सम्भ्रान्तहरूजस्तै मान्छे हुन् । उनीहरूलाई पनि समान अधिकार दिनुपर्छ. । न्याय र समानता चाहिन्छ । कुनै पनि बहानामा शोषण र विभेद गर्नु हुँदैन । मान्छेले मान्छेमाथि शोषण गर्नु जघन्य अपराध हो । आजसम्म पनि यस्ता कम्युनिष्ट दिव्यवाणीहरू सार्थक र औचित्यपूर्ण मात्र रहेको छैन, कतिपय स्वतन्त्र र नयाँ पार्टीहरूसमेत यस्तै परिवर्तनकारी आन्दोलनको राप, ताप र चापद्वारा निर्मित अनुकूल परिवेशमा रमाइरहेका छन् । उनीहरू अग्रज व गुरुलाई गाली गर्दै आफ्नो राजनैतिक दुनो सोभ्mयाने दाउमा छन् ।

तर, आज महान् मिसन बोकेका कम्युनिष्टहरू कार्यदिशागत समस्याको कारण विचलित हुँदै गइरहेका छन् । निरन्तर आन्दोलनको नाम नै कम्युनिष्ट हो । निरन्तर सङ्घर्षको पर्याय नै कम्युनिष्ट हो । लक्ष्यमा अविचलितरूपमा लागिरहने आन्दोलन नै कम्युनिष्ट हो । दुःख–कष्ट, हैरानी, त्याग, बलिदान, साहस र सौर्यको उपनाम हो कम्युनिष्ट । यो मानव समाजलाई पूर्णरूपमा उन्मुक्त नगरेसम्म जारी रहने ऐतिहासिक प्रक्रियागत आन्दोलन हो । तर, यसरी आन्दोलनलाई निरन्तर अघि बढाउन सही र वस्तुवादी कार्यदिशा विन्यास गर्नुपर्दछ । आज सिङ्गो विश्वकै राजनीति दलाल पुँजीवादी संसदीय उत्पादन पद्दतिद्वारा निर्देशित रहेको छ । यस्तो पद्दतिमा लेखाइ, भनाइ, वक्तव्यबाजी र प्रतिबद्धता जनाइमा कट्टर क्रान्तिकारी तर, गराइ वा व्यवहारमा भने औसत संसद्वादी रुझान देखिन्छ । यसैको परिणाम आज कम्युनिष्टप्रति वितृष्णा बढेको छ । कम्युनिष्टप्रतिको वितृष्णा नै सिङ्गो राजनीतिप्रतिको वितृष्णामा बदलिरहेको छ । यो दुःखद् कुरा हो ।

वस्तुतः हाम्रो समाजवादी महाअभियान सफल बनाउन हामी नै सबैभन्दा पहिला रूपान्तरण हुनुपर्दछ । समाजको उन्नत चरित्र अनुरूप पुरानो गलत परम्परा र संस्कृतिहरू तोड्दै जानुपर्दछ । कम्युुनिष्ट उद्देश्य भनेको दुई–चारवटा आवधिक चुनावमा बहुमत ल्याउनुमा सीमित हुँदैन । यसले समाज रूपान्तरणको लागि लामो राजनैतिक अभियान सञ्चालन गर्नुपर्दछ । राज्यसत्ताको सडेगलेका परम्परा र संस्कृतिहरूलाई अन्त्य गर्नुपर्दछ । त्यसको लागि कम्युनिष्ट पार्टी, नेता, कार्यकता र शुभचिन्तकजनहरू समेत वैचारिक, राजनैतिक, सांस्कृतिक, सामाजिक र व्यावहारिक आधारमा नितान्त भिन्न हुनुपर्दछ । अरू संसदीय पुँजीवादी पार्टी, नेता, कार्यकर्ता र शुभचिन्तकहरू भन्दा नितान्त उन्नत र भिन्न हुनुपर्दछ । तब मात्र परिवर्तन, न्याय, समानता र सबैखाले अधिकारहरू प्राप्तिको लागि भौंतारिरहेका जनताको अपार सहयोग, समर्थन र सद्भाव रहनेछ । जनताले पनि नयाँ राजनैतिक कोर्ष आरम्भ गर्नेछन् । यही अपार समर्थन, सहयोग र सद्भावकै बलबाट नेपाली समाजलाई समाजवादतर्पm सङ्क्रमण गराउन सकिनेछ । अन्यथा चुनावी कार्यदिशालाई मात्र समाइरहने हो भने चुनावदेखि चुनावसम्मको गोलचक्करमा कम्युुनिष्ट आदर्श, ओज र गरिमा फस्नेछ । बहुमत र अल्पमतजस्ता प्राविधिक विषयहरूमा वैचारिक आदर्श र मान्यताहरू लिलाम हुँदैै जानेछन् । 

वस्तुतः हामी कम्युनिष्टहरूको साझा लक्ष्य भनेको समाजवाद हुँदै साम्यवादसम्म पुग्नु हो । यो उद्देश्यमा कही विभ्रम छैन । तर, त्यो महागन्तव्यमा पुग्ने बाटो र हिँड्ने तरिकालाई रूपान्तरण गर्न इतिहासको अपरिहार्य आवश्यकता बनिरहेको देखिन्छ । साँचो कुरा के हो भने कम्युनिष्ट लक्ष्य प्राप्तिको लागि काङ्ग्रेस, एमाले, राप्रपा, जसपा, लोसपा, रास्वपा र नाउपालगायतका पार्टी र यसका नेता तथा कार्यकर्ताहरू रूपान्तरण भएर पुग्दैन । यसको लागि माओवादी धारा रूपान्तरित हुने हिम्मत गर्नुपर्दछ । संसदीय चुनावी कार्यदिशामा फसिरहेको माओवादी केन्द्रले मात्रै पनि क्रान्तिकारी ऐतिहासिक अभिभारा पूरा गर्ने अवस्था देखिँदैन । किनभने उसलाई संसदीय चुनावी कर्मकाण्डले धेरै नै विचलित बनाइसकेको छ । आज कम्युनिष्टहरू पनि बहुमत अल्पमत र सरकार गठन र विघटनको अनन्त दुश्चक्रमा रुम्मल्लिरहेको छ । वैचारिक भन्दा प्राविधिक पक्ष हावी हुँदैछ । यसकारण सिङ्गो माओवादी धाराले समाज बदल्ने जिम्मेवारीको नेतृत्व गर्नु पर्दछ । माओवादी धारा वा कम्युनिष्ट धारा संस्थागत र रूपान्तरण नभई समाजवादी आन्दोलनले सही दिशा समात्न सक्दैन । 

त्यसैले कम्युनिष्ट आन्दोलनको बाँकी अभिभारा पूरा गर्ने हो भने कम्युनिष्ट पार्टी र यसमा आबद्ध आम पङ्क्ति रूपान्तरण गर्न र गराउन जरुरी छ । पहिला आफू रूपान्तरण भएपछि राजनैतिक, वैचारिक तथा प्राविधिक रूपमा अरूलाई बदल्नु स्वभाविक हुन्छ । अरू औसत संसदीय राजनीतिलाई प्राण ठान्ने राजनैतिक पार्टीहरू जे गरुन् । त्यो उनीहरूको कुरा हो । उन्नत समाज बनाउने अभियान उनीहरूको होइन । उनीहरू त चुनावमा बहुमत र अल्पमत, सरकार गठन र विघटनको गुरुत्वकेन्द्र वरिपरि फनफनी घुमिरहन्छ । त्यसमा हामी कम्युनिष्टहरूले टाउको दुखाइरहनु जरुरी छैन । नेपालमा कम्युनिष्ट जनमत दुईतिहाइभन्दा पनि बढी छ । तर, मतदानमा अभिव्यक्त हुने जनमत नै कम्युनिष्ट हुन् भनेर विश्लेषण गर्नु गलत हुन्छ । कम्युनिष्ट बन्नको लागि अभैm धेरै रूपान्तरणको खाँचो छ । 

तसर्थ हामी सम्पुर्ण कम्युनिष्टहरू रणनैतिक उद्देश्यलाई केन्द्रमा राखेर रूपान्तरण हुने साहस गर्ने हो भने भद्रगोल राजनीतिले गोल गर्नेछ । भड्किएका, बहकिएका र बरालिएका मतदाताहरूलाई सही मार्गनिर्देश हुनेछ । अरू स्वतन्त्र, रास्वपा, राप्रपा, नाउपा र जनमतलगायतका नयाँ पार्टीहरूको औचित्य सकिनेछ । मतदाताहरू ‘ए’ देखि ‘जेड’ सम्मको पार्टी वा व्यक्तिहरूलाई परीक्षण गर्दै पुनः ‘ए’ लाई छान्नुपर्ने पुस्तौंपुस्तासम्मको दुश्चक्रमा फस्नुपर्दैन । तर, यसकोे लागि हामी कम्युनिष्टहरू रूपान्तरण भएर अघि बढ्नुको विकल्प छैन । साधारणतया जसले बढी क्रान्तिकारी र उन्नत विचार अङ्गीकार गर्दछ, उसैले बढी रूपान्तरण, जिम्मेवार र गम्भीर बन्नु पर्दछ । यो विचार सम्बन्धी सार्वभौम नियम हो ।