उदयपुर | विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ ।
अङ्ग्रेजी माध्यमबाट पठन-पाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पांच-छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन-पाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेबरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ । त्रियुगा नमुना माविका प्रधानाध्यापक सवा विष्टका अनुसार छ वर्षअघिदेखि विद्यालयमा नेपालीसंगै अङ्ग्रेजी माध्यममा पठन-पाठन सुरु गरकाले विद्यार्थीको सङ्ख्या बढेको हो। प्रत्येक कक्षामा अधिकतम् ४० देखि ५० विद्यार्थीको कोटा निर्धारण गरी भर्ना अभियान सुरु गरेपछि अहिले एउटै कक्षामा भर्ना हुन आउने सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको विद्यालयका सहायक प्रधानाध्यापक भोला केसीको भनाइ छ । अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि पहाड़ी क्षेत्रका विद्यार्थी पनि आउन थालेका छन् । बालमन्दिर मावि गाइघाट बोक्सेका प्रधानाध्यापक जङ्गबहादुर खडकाले भने, "पाँच वर्षदेखि अङ्ग्रेजी भाषामा पनि पठन-पाठन सुरु गरेपछि बर्सेनि दोब्बरको सङ्ख्यामा वृद्धि भइरहेको छ।" उनका अनुसार पांच वर्षअगाडिसम्म एउटा कक्षामा मुस्किलले एक सयजना आउने गरेकोमा अहिले एउटै कक्षामा तीन सयदेखि पांच सयसम्म विद्यार्थीले भर्नाका लागि आवेदन दिने गरेका छन् । त्रियुगा नगरपालिका-९ राजावासको अम्बेबर माविमा पनि भर्नाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षक दानबहादुर कटुवालले बताए । सरकारी विद्यालयमा जनशक्ति, व्यवस्थापन, भौतिक सुधारसँगै अङ्ग्रेजी माध्यमबाट पठन-पाठन सुरु भएपछि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको भनाइ छ । उनका अनुसार अहिले सरकारी विद्यालयले विद्यार्थीका लागि विद्यालय वसको पनि व्यवस्था गर्नुका साथै प्राविधिक विषय पनि पठन-पाठन सुरु गरेका छन् । जनता मावि लक्ष्मीपुरका शिक्षक हरिप्रसाद पराजुली पछिल्लो समय सरकारी विद्यालयहरू पनि निजी विद्यालय जत्तिकै अब्बल बन्दै जाँदा आकर्षण बढेको बताउँछन् । अहिले नगरभित्रका केही सरकारी विद्यालयमा कम्प्युटर शिक्षा, सिभिल इञ्जिनियरिङ, कृषि, कानूनलगायतका विषय पनि अध्यापन हुन थालेको छ । "नयाँ शैक्षिक सत्र सुरु हुनासाथ विभिन्न स्थानवाट विद्यार्थीहरू भर्ना हुन आउने गरेका छन् " त्रियुगा नमुना माविका सहायक प्रधानाध्यापक विदुर खड्काले भने, "धेरै विद्यार्थी भएपछि प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका छौं।"