इनरुवा । कारागार कार्यालय झुम्कामा रहेका अधिकांश कैदीबन्दीमा छालाको समस्या देखिएको छ ।
कारागारमा आयोजना गरिएको स्वास्थ्य शिविरमा जाँच गराएकामध्ये अधिकांशमा छालासम्बन्धी समस्या देखिएको हो । जसमध्ये अधिकांशमा दाद र लुतो प्रमुख रहेको छ । डाक्टर सहित ४० जनाको समूहले तीन दिन लगाएर गरेको स्वास्थ्य जाँचका क्रममा अधिकांश कैदीमा छालासम्बन्धी समस्या पाइएको जिल्ला अस्पताल इनरुवाका मेसु डा.देवराज घिमिरेले बताए ।
डाक्टर घिमिरेका अनुसार कैदीहरूमा शरीर चिलाउनेदेखि दाद र लुतोसम्मका समस्या देखिएको छ । त्यसैगरी मानसिक समस्या, हाडजोर्नी, हर्निया, आँखा र सुगर प्रेसरका रोगीमेत स्वास्थ्य जाँचका क्रममा पाइएको उनले बताए । कैदीहरूमा अत्यधिक मात्रामा छालाको समस्या देखिनुको प्रमुख कारक भने भीडभाडयुक्त बसाइ रहेको घिमिरेले बताए ।
कैदीबन्दीको स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले दुई चरणमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको थियो । कारागार प्रशासक भीमप्रसाद भट्टराईले बताएअनुसार सबैमा समान स्वास्थ्य पहुँचको उद्देश्यअनुरूप निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।
प्रशासक भट्टराईले तीन दिनसम्म सञ्चालित स्वास्थ्य शिविरबाट कारागारको ए र बी ब्लकमा रहेका १ हजार ६ सय ८० जना कैदीबन्दी लाभान्वित भएको बताए । जाँचका क्रममा विशेषज्ञ सेवा, जनरल मेडिसिन सेवाका साथै छाला रोग, हाडजोर्नी, नाक–कान–घाँटी, भिडियो एक्स–रे र सर्जरीसहितको सेवा उपलब्ध गराइएको भट्टराईले बताए । स्वास्थ्य जाँच गराउनेहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको उनले जनाए ।
भट्टराईले कारागारले कैदीबन्दीलाई लक्षित गरी यसअघि पनि स्वास्थ्य जाँचको बन्दोबस्त मिलाउँदै आएको जानकारी दिए । जसलाई उनले निरन्तरता दिनेसमेत बताए । जेलर भट्टराईले कैदीहरूको लागि मनोरञ्जनदेखि खेलकुदजस्ता गतिविधिमा समेत कारागार कार्यालयले ध्यान दिँदै आएको बताए ।
कारागारमा आयोजना गरिएको स्वास्थ्य शिविरको सुनसरीका प्रजिअ हुमकला पाण्डेसहित प्रहरी प्रमुख प्रभु ढकाल र सशस्त्र प्रहरी नायव उपरीक्षक बलराम प्रसाईंले संयुक्तरूपमा अनुगमन गरेका थिए ।