भाग्दाभाग्दै पनि निलम्बित एमाले केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आखिर पक्राउ परिछाडे । जब उनी भागे, तब नै उनी कहीँ न कहीँ दागी छन् भन्ने स्वतः थाहा भयो । एमाले अध्यक्षले सरकारलाई सम्बोधन गर्दै रायमाझीलाई बाटा–बाटामा छेकेर पक्राउ गर्नुपर्ने थिएन । आखिर कहाँ जान्छन् र दोषी भए जोसुकै पनि उम्किनु हुन्न भन्नुभएको थियो तर, यही विषय बबालरूपमा दुष्प्रचार गरियो । कहिलेकाहीँ बत्तीमुनि अँध्यारो हुन्छ । अध्यक्षलाई पनि थाहा नदिई गुमराहमा पारी केहीले आफ्नो दुनो सोझ्याएको यस लेखकलाई थाहा छ । एकजना नेतृाले पौडेल थरी हो वा भट्टराई थरी उपल्ला तहका नेताको चरम् चाकरी गरी केन्द्रीय सदस्य हत्याएको थाहा भएको हो । यस्ता खुराफाती र कुराफाती तथा चरम् अनियमित गतिविधिलाई कदापि सहन नगर्ने स्वभावका कारण यो लेखक पार्टीभित्रै प्रतिपक्षीजस्तो भएको छ । यस विषयमा पार्टी महासचिवसित पनि मैले टेलिफोन संवाद गरेको छु । आफ्नो बानी कस्तो भयो भने जुनसुकै तहको नेतासित पार्टी र नेताका कमजोरीलाई सकेसम्म सच्याउने नत्र सकिदिने खराब बानी भयो । अध्यक्षलाई पनि मैले एक प्रसङ्गमा तपाईंलाई भूइँदेखि माथिल्ला तहसम्मका पार्टी र नेताका कमजोरी कसैले भन्दैनन् । अनि कसरी सत्य कुरा थाहा पाउनुहुन्छ भनेकै हो ।
अहिलेसम्म टोपबहादुरलाई किन चिन्न सकिएन ? टोपबहादुर रातारात जन्मिएका हुन् र ? एउटा वाक्य बोल्दा कुनै पनि मानिसलाई पहिचान गर्न सकिन्छ । चोर मतिको मानिसले आँखा, नाक, मुख, मुखमण्डल र बोलीचालीबाट आफ्नो दुष्ट र दुर्जन स्वभाव प्रकट गर्छ गर्छ । पार्टी नेता चोर र चण्डालभन्दा धेरै बाठो हुनसक्नु पर्छ । आँ गर्दा अलङ्कार बुझ्ने क्षमता हुनुपर्छ नत्र चण्डाल नेताले अध्यक्षलाई नै पनि फसाइदिएको यस लेखकले थाहा पाएको छ । अनुशासन आयोगमा मनोनित गरिएकी नेतृलाई केन्द्रीय सदस्य बनाउने उपल्लो तहको नेता को हो ? नेता र कार्यकर्ताले सानातिना गल्ती गरे तुरुन्त सच्याउन लगाउनु पर्छ । त्यसै अभिभावक हुन सकिन्न । आफ्ना लालाबालालाई अर्जाप्न, सुधार्न र सच्याउन सकिन्न भने त्यो नाम मात्रको अभिभावक हुन्छ । एकजना उपल्ला तहका भट्टराई थरि नेताले इटहरीकी खुराफाती नेतृाको विना प्रसङ्ग आफै अघि सरेर बखान गरेको आजै एकजनाले सुनाए । तिनले ससुराली थरिका नाताले तिनको बखान गरेको यस लेखकले थाहा पायो । गोरु बेचेको साइनोका भरमा भए पनि नातापाताका पछि हुरुक्क हुने नेता यस लेखकले राम्ररी चिनेको छ । बाहुनहरू पनि कतिसम्म सङ्कीर्ण हुन्छन् भन्ने कुरा यस लेखकलाई थाहा छ । एक नेपाल थरिका वरिष्ठ लेखक तथा नेताले नेपाल थरी नेता दाजुका टाङमुनि छिरेर आफू मात्रै होइन, आन्दोलनलाई नै बदनाम गरे । जननेता मदन भण्डारीको आजीवन गुणगान गर्ने ती कथित नेता मदनकै चिहान खन्न अघि सरेको देख्दा भारी लाज र सर्म भयो । यस्ता नेता पार्टी अध्यक्षकै वरिपरि पाइन्छन् । आफ्नू नाता भए र परे जोसुकै उपल्लो तहमा पुग्छ, १५ वर्ष माकुने कुप्रवृत्ति कायम हुँदा यसले पार्टीमा राम्रै घरजम गरेको देखिन्छ । यसकै कारण सुनसरीलगायत जिल्ला पार्टीमा बेसरम विकृति व्याप्त रहेको छ । यही जिल्ला र इटहरीमा एक होइन, चार चरम् विकृतखालका नेता छन् । आवश्यक परे नामनामेसी दिन सकिन्छ । पार्टी स्थायी समिति सदस्य गुरु बराललाई यसको जानकारी दिइएको छ ।
बेलाको बोली र मौकाको काम नगरेर हामी टोपबहादुर जन्माइरहेका छौँ । यो लेखक कुनै पनि तहका नेताका कमजोरीलाई पहिले सुधारात्मक नभए उधारात्मक लेख लेखिरहन्छ । तर, यही विषय कतिपय नेताका लागि अजीर्ण हुन्छ र हुने गरेको पाइएको छ । कुराको चुरो यहीँ छ । स्वयं आफ्रू पार्टीको उपल्लो तहको छ तर, मातहत नेता र कार्यकर्तालाई सच्चिने र सच्याउने काममा पटक्क ध्यान दिँदैन । जबजअनुसार प्राज्ञिक स्वतन्त्रताको उपयोग गरी लेखमार्फत् विकृति उजागर गर्दा आकास खस्यो भने झैँ गर्ने नेताले नै टोपबहादुर जन्माइरहेका छन् । टोप र टोपाका बेर्नाहरू जन्मिदैछन् । अहिले ती प्रशव वेदनामा छन् र तिनका केही सुँडेनी पार्टीको उपल्लो र माथिल्लो तहमा शान र मानका साथ विराजमान छन् । सियो चोर्नेले फलाम चोर्छ अनि उसले क्रमशः घर नै फोर्छ । जसले प्रदेश र स्थानीय तहमा विभिन्न पदमा बसेर नलायकी काम गरेको छ भने उसले अलिकति पनि राम्रो गर्छ भनेर सोच्न सकिन्छ । इटहरी उपमहानगर पालिकामा उप प्रमुख भएर पूरै समय नाकाम मात्रै गरेको देखियो । अनि तिनैलाई काँधमा बोक्ने नेताको सुइँको पाइएको छ । किनभने खुसी खोकी प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन । थाहा पाइन्छ । सुध्रिएनन् भने हामीलाई सुधार्न मात्रै होइन, उधार्न पनि आउँछ । यो लेखक पोखरेल थरि बाहुन भए पनि कथित नेपाल थरि जात, भात, नाक, नश्ल, थर र गोत्रको रछान होइन ।
कतिपय मानिस शु्भलाभ विना टसकोमस गर्दैनन् ती जिन्दगीभरि नेपाली भाषा साहित्य पढाएर नाम र दाम कमाउँछन् तर यसको उत्थानमा कान, ध्यान र मन पनि दिँदैनन् । तर आफूलाई यस्ता विषयहरु अजीर्ण हुने गर्छ । काम गर्ने र गरिरहेकाहरुलाई सामान्य रुपमा उत्साह दिने नेता जिरो छन् । एउटा निरन्तर लेखक कवि स्रष्टासित बोल्ने कतिपय नेतासित तमिज पनि छैन । पाखुरो हामीसित बिनबित्थामा निहुँ खोज्छ । जान्नु तान्नु हामीलाई उल्टो ज्ञान दिउँला भैmँ पो गर्छ । माक्र्सवादी र जबज अनुकूलको आचरणका दृष्टिले धेरै नेता निख्लाम छन् । इटहरी उपमहानगरपालिकामा तत्कालीन उपप्रमुखका बेसोमति र चोथाले बेहोराले एमाले बदनाम भयो । पालिकाका इमान्दार, कामकाजी र वरिष्ठ इन्जिनियरलाई उपप्रमुखको धूर्त व्यवहार र चरित्रका कारण काम गर्नै नसक्ने अवस्थामा पुगे । पार्टीका माथिल्लो तहका नेताले भनेको र सुझाएको कुरासमेत नमान्ने यिनका कारण सिङ्गो इटहरी रुष्ट र क्रुद्ध थियो र छ । नपाको गेटअगाडिको खाल्टोमा पानी जमेर वारपार गर्न सकिन्नथ्यो । सार्वजनिक शौचालयको अभावले यात्रुहरू बिचल्लीमा थिए । तर, पहिले यस्ता सामान्य विषयमा कुनै काम भएन अहिले शौचालय तयार भएको छ । नगरप्रमुख द्वारिकलाल चौधरीलाई जसरी पनि असफल बनाउने नियत भएकी उपप्रमुखका कारण अमूल्य मौका गुम्यो । यस्ता चरम् बेसोमति बेहोरालाई जिल्ला अध्यक्षले काँध हाले । अहिले नेकाबाट निर्वाचित नगरप्रमुखले विपक्षीका कमजोरीमाथि झापड र मुक्का बर्साइरहेका छन् । अर्थात् केही राम्रा काम गर्दैछन्, पछि राम्रा काम गर्छन् कि गर्दैनन्, त्यो हेर्न बाँकी छ ।
अहिले सियो चोर र फलाम चोर केही नेता नेता र कार्यकर्ताहरू भोलि टोपबहादुर बन्नेछन् । टोपबहादुरहरू फुल पारेको पा¥यै छन्, ती ओथरा बसेका छन्, तिनले चल्ला कोरलिरहेका छन् । यस्ता चल्ला र बचेराहरु धेरैतिर देखिनेछन् । एमालेमा ओलीकालपछि इमान्दार नेता र कार्यकर्ता अलिअलि देखापर्न थालेका छन् तर, धेरथोर कमजोर विकृतको सङ्ख्या पार्टीमा मनग्य छन् भन्ने अनुमान गर्न सकिन्छ । यसलाई कलात्मक हस्तक्षेपका साथ ठूलो नोक्सानी नहुने गरी चिरफार गर्नुपर्छ । मकैबारीमा कालीपोके फैलिएको छ । यसको निर्मूल नगरी हुन्न । मैलो मन धुने साबुन कला, साहित्य, संस्कृति र शिक्षा हो । यसको बारबार हजारबार अध्ययन, पठन प्रशिक्षण विना मनको मैलो घटाउन सकिन्न । माओवादी नामको पार्टीमा बल र बन्दुककै मात्र तागतका भरमा पार्टी चलेको हुँदा पठन संस्कृति शून्य नै थियो र देखियो पनि । आफूलाई परिवर्तन नगर्ने अनि समाजको परिवर्तन कसरी हुन्छ र ? हेर त टोपबहादुरको बेइज्जती बाबुछोरा जेलमा वा थुनामा ? यसलाई एमालेका कसूर ठहर नभएका नेताले शिक्षाका रूपमा लिन्छन् कि लिँदैनन् ? त्यसैले नेता र कार्यकर्तालाई राम्ररी चिन्न बुझ्न उसका छरछिमेक, नातागोता, सामाजिक बरव्यवहार सबै अध्ययन गर्नुपर्छ । एमाले अहिले पनि देशको सबै भन्दा तुलनात्मकरूपमा सबल र सक्षम पार्टी हो । तर, यस पार्टी र नेतामा लागेका खिया सफा गर्न ढिला गर्न हुन्न । केबल माक्र्सवादी प्राविधिक शब्दावली भट्याएर मुठ्ठी कस्तैमा कोही इमान्दार हुँदैन । अब नेताहरूले बेलाबेला आ–आफ्नोचल–अचल श्रीसम्पत्तिको विवरण पार्टीमा बुझाउनु पर्छ । तिनलाई एक खालको आचार संहितामा बाँध्नुपर्छ । अब कडाइ नगरे समस्या झाँगिने स्थिति टड्कारो बन्नेछ । नेता सामन्तवादी संस्कार र संस्कृतिमा पूरै रमाएका छन् । एकजना मुख्यमन्त्रीले आफ्ना छोराको ब्रतबन्धमा लाखौँ खर्च गरेछन् । ब्रतबन्ध नै राम्ररी नबुझी बिरालो बाँध्ने खालको ब्रतबन्ध गराएछन् तिनले । अनि जसलाई जबजअनुसार संस्कार र संस्कृति बारे पटक्क जानकारी छैन र सांस्कृतिक रूपान्तरणका सम्बन्धमा जान्नेले बुझाउँदैनन् पनि भने टोपबहादुरहरू जन्मिनु कुनै अचम्मको कुरा नै होइन । धेरै दिन न नुहाएपछि शरीरमा जुम्रा त पर्ने नै भयो ।
मोरङ जिल्लाका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल सांस्कृतिक रूपान्तरणसम्बन्धी चेत भएका नेता रहेछन् । उनले मिसन ग्रासरुट सम्बन्धको बहुआयामिक रचनात्मक विषय समेटेको एक लिखत समाचारमा यस लेखकले पढेको थियो । यत्तिको दूर दृष्टि शायद् अरु कुनै जिल्लाले ल्याए जस्तो लागेन । पोखरेल पार्टीलाई मदन र ओलीकै लयमा हिँडाउन चाहँदा रहेछन् भन्ने कोशी प्रदेशको बैठकमा उनले अभिव्यक्त गरेका कुराबाट अवगत भयो तर, पार्टी र नेताका कमजोरीलाई प्रवृत्तिका रूपमा उल्लेख गर्दा मञ्चासीन नेताको ओठ सुकेको यस लेखकले चाल पायो । ठाउँमा बोल्न नै नदिने अनि यस खालको असन्तुष्टि चिया पसल र पिया पसलमा हुँदा कारबाही नै गरौँला झैँ गर्ने खोटी बानी कतिपय नेतामा देखिन्छ । टोपबहादुर जन्माउने खालको परिवेश निर्माण गरेपछि त्यही जन्मिन्छ । अहिले पनि एमाले नै देशी विदेशीको तारो बनेको छ । चिनियाँ राष्ट्रपतिले धनका लोभीहरूलाई पार्टी परित्याग गर्न सुझाएको कुराबाट सिक्नैपर्छ । नत्र टोप र टोपाहरू जन्मिरहन्छन् ।