धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले छलफलमा उपस्थित हुन अनुरोध गरेका छन् । 

पत्रकार महासंघका असन्तुष्टि र असहमतिका विषय लिई छलफलमा उपस्थित हुन नगर प्रमुख राईले अनुरोध गरेका हुन् । 

पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्षलाई सम्बोधन गर्दै नगर प्रमुख राईले बुधबार पत्राचार गरेका छन् । नगर प्रमुख राईले एक वाक्यमा अनुरोध टुंग्याएका छन् । छलफलको समय आगामी जेठ ७ गते दिनको १ बजे तोकिएको छ । 

harka sampang letter to fnj sunsari

महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले छलफलमा जाने र, आफ्नो कुरा राख्ने बताए । 

महासंघ सुनसरीले नगर प्रमुख राईको प्रेस स्वतन्त्रताविरोध अभिव्यक्ति आएको भन्दै पहिलो चरणको आन्दोलनअन्तर्गत साता दिनको आन्दोलन सम्पन्न गरिसकेको छ । दोस्रो चरणको आन्दोलन घोषणा हुनु अघि नै नगर प्रमुख राईले महासंघलाई छलफलमा बोलाएको हो ।

नगर प्रमुख राईले पत्रकार र संचारकर्मी लक्षित धम्की र दुर्व्यवहारपूर्ण अभिव्यक्ति दिएको पत्रकारहरुको आरोप छ । 

आन्दोलनका कार्यक्रमअन्तर्गत सुनसरीका पत्रकारले प्रेस अभिव्यक्ति र स्वतन्त्रताको रक्षा गर्न माग गर्दै आन्दोलनको पहिलो दिन प्रेस विज्ञप्ति जारी गर्ने, दोस्रो दिन जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउने, तेस्रो दिन संचारमाध्यममार्फत् स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ भन्दै आह्वान गर्ने, मौन जुलुश निकाल्ने र धरानका पूर्व नगर प्रमुखहरुसँग प्रेसमैत्री धरान विषयक अन्तरसंवाद गर्ने आन्दोलनका कार्यक्रम सम्पन्न गरेको थियो । 

ज्ञापनपत्र बुझाउँदै पत्रकार महासंघ सुनसरीको टोली  (फाइल तस्बिर)