नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।
संसदीय दलको बिहीबार बसेको बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गरेको हो ।
बैठकले माओवादी र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए । बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश सरकारसँग माग गरेको छ । त्यस्तै आन्दोलरत पक्षलाई पनि संयमता अपनाउन आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ ।
सहमतिको सरकार बनाउने औपचारिक प्रयास नभएको भन्दै थापाले त्यस्तो परिस्थिति निर्माण भएको अवस्थामा कांग्रेसको नेतृत्वमा आए हुने बताए ।
उनले गठबन्धनको सरकार बनाउनका लागि सभामुखले राजीनामा पनि दिनु नपर्ने र भोट पनि हाल्नु नपर्ने बताउँदै राप्रपासँग आवश्यक छलफल भइरहेको पनि बताए ।
राप्रपाले नमानेको खण्डमा ३० दिने सरकार भए पनि बनाउने र मध्यावधिमा जानसम्म कांग्रेस तयार भएको उनले बताए ।
‘अन्तिममा केही भएन भने ३० दिने सरकार बन्छ, त्यो सरकारले विश्वासको मत लिन सकेन भने प्रदेश मध्यावधिमा जानसक्छ । त्यसका लागि कांग्रेस तयार छ,’ उनले भने ।